सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले सडक निर्माणमा आयातित बिटुमिन र असफाल्टको सट्टा स्वदेशी सिमेन्टबाट बन्ने कङ्क्रिट सडक तथा स्थानीय निर्माण सामग्रीलाई प्राथमिकता दिने भएको छ । मन्त्रिपरिषद् शुक्रबारको बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गर्दै सरकारी खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादनको प्रयोग बढाउने निर्णय गरेको हो । निर्देशिकाअनुसार सडक, पुल तथा भवन निर्माणको डिजाइन तयार गर्दा उपयुक्त स्वदेशी विकल्प उपलब्ध हुँदाहुँदै आयातित सामग्री प्रयोग गर्नुपर्ने गरी डिजाइन बनाउन पाइने छैन । प्राविधिक रूपमा उपयुक्त भए कङ्क्रिट सडक, स्थानीय ढुङ्गा तथा अन्य स्वदेशी निर्माण प्रविधि अपनाउनुपर्नेछ । यद्यपि बिटुमिन र असफाल्टको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छैन । सरकारी भवन निर्माणमा समेत आयातित ग्रेनाइट, टायललगायतका सामग्रीको सट्टा स्वदेशी मार्बल, ढुङ्गा, स्लेट तथा टायललाई प्राथमिकता दिइनेछ । आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), लागत अनुमानदेखि बोलपत्र र खरिद सम्झौतासम्म स्वदेशी सामग्री प्रयोगको व्यवस्था समावेश गर्नुपर्नेछ । निर्देशिकाले उपयुक्त स्वदेशी विकल्प हुँदाहुँदै विदेशी ब्रान्ड लक्षित खरिद गर्न रोक लगाएको छ । सम्झौतामा तोकिएको स्वदेशी सामग्री स्वीकृतिबिना परिवर्तन गर्न पाइने छैन । विदेशी सामग्रीलाई स्वदेशी भन्दै आपूर्ति गर्ने व्यवसायीको भुक्तानी रोक्का, कालोसूची तथा कानुनी कारबाहीको व्यवस्था गरिएको छ । सरकारले यस व्यवस्थाबाट आयात प्रतिस्थापन, स्वदेशी उद्योगको प्रवर्धन, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरेको छ ।