Dashain Banner
Dashain Banner

अशोक थापा मगर निर्देशित ‘जलाकी’ को गीत ‘कलेजीको छेऊ’ सार्वजनिक

शुक्रबार, असोज ३०, २०८३

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को तेस्रो गीत सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार आज ‘कलेजीको छेऊ’ बोलको गीत सार्वजनिक गरेको हो । गीतको शब्द रचना सुरेन्द्र रानाले गरेका हुन् भने संगीत निर्देशन, मिक्सिङ तथा मास्टरिङ एसडी योगीको रहेको छ । गीत एसडी र गीताञ्जली थापा मगरदे गाएका हुन् । रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको बाँसुरीमा रत्न बीक, मादल तथा खैँजडीमा मदन रेग्मी, पञ्चेबाजामा शिशिर परियार र सारङ्गीमा हेमन्त कान्छा रसाइलीले साथ दिएका छन् । गीतको रेकर्डिङ तथा मिक्सिङ सुपरभिजन सागर खड्काले गरेका हुन् । गीत प्रेमी र प्रेमिका बीचको गहिरो प्रेम र आकर्षणमा आधारित छ । गीतको भिडियोमा सिनेमाका कलाकार उपासना सिंह ठकुरी, सोनम ताप्देन, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ । भिडियोमा सोनम र उपासना सिंहको जोडी निकै सुहाएको छ भने अन्य कलाकारहरूको पहिरन र अनुहारको हाउभाउ निकै स्वाभाविक र रमाइलो देखिन्छ । यसअघि सिनेमामा समावेश ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलको गीत सार्वजनिक गरिएको थियो । दुबै गीतले युट्युब तथा टिकटकजस्ता सामाजिक सञ्जालबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । तेस्रो गीतलाई पनि दर्शक तथा स्रोताले उत्तिकै मन पराउनेमा निर्माण पक्ष विश्वस्त रहेको छ । सिनेमा आगामी मंसिर ४ गतेबाट प्रदर्शन हुनेछ ।  ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो ।  निर्देशक मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा सिनेमामा प्रस्तुत गरिएको बताए । सिनेमामा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् । यो सिनेमाबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् । एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । ‘जलाकी’ गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  १९:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार