कञ्चनपुरका मतदानस्थल अपाङ्गमैत्री बनाइने

शनिबार, मंसिर ३, २०७९
Global Ime Bank

दोधारा चाँदनी । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले कञ्चनपुरका सबै मतदानस्थलहरू अपाङ्गमैत्री बनाउने जनाएको छ । अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूको मतदानमा पहुँच पु¥याउने उद्देश्यले सबै मतदान केन्द्र अपाङ्गमैत्री बनाइन लागेको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले जानकारी दिए । “अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान केन्द्रसम्म सहजै ह्विलचियर गुडाएर पुग्न सक्ने गरी मतदानस्थल निमार्ण गर्छौं”, उनले भने, “भौतिक अवस्थाले भ्याएसम्म सबै केन्द्रमा अपाङ्गमैत्री बनाउँछौँ ।” अपाङ्गता भएका व्यक्तिलाई अन्य मतदाताझैँ मतदान केन्द्रहरूमा पुग्न सक्ने व्यवस्था गरिने उनले बताए ।

राष्ट्रिय अपाङ्ग महासङ्घ सुदूरपश्चिमका संयोजक उपेन्द्र खडायतले अपाङ्गता भएका व्यक्तिहरूको मताधिकार सुनिश्चित गर्न मतदान केन्द्र अपाङ्गमैत्री बनाइनुपर्ने बताए । “अन्य व्यक्ति जस्तै अपाङ्गता भएकाहरूले पनि सहजरूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्छ”, उनले भने, “सरकारले देशभरि तीन सय मतदान केन्द्र अपाङ्गमैत्री बनाएको छ, कञ्चनपुरमा एउटा पनि छैन ।” उनले निर्वाचन आयोगले जिल्लाका सबै मतदान केन्द्रमा अपाङ्गता भएका व्यक्तिलाई सहज पहुँच दिने प्रतिबद्धता गरेको बताए ।

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरको क्षेत्र नं १ मा ९१ हजार एक सय १०, २ मा एक लाख पाँच हजार पाँच सय ७७ र ३ मा ९७ हजार आठ सय २२ मतदाता छन् । जिल्लाभरिमा एक सय ३२ मतदानस्थल र तीन सय ४६ मतदान केन्द्र छन् । क्षेत्र नं १ मा एक सय १९, २ मा एक सय १८ र ३ मा एक सय नौ मतदान केन्द्र छन् । भीमदत्त नगरपालिका कार्यालय र महन्द्रनगरस्थित कारागारमा अस्थायी मतदान केन्द्र पनि राखिएको छ । एक मतदान केन्द्रमा आठजनाका दरले दुई हजार सात सय ६८ कर्मचारी खटिएका छन् ।

फरक क्षमता भएका व्यक्तिलाई मतदानमा प्राथमिकता

भोलि हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा दृष्टिविहिन, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक मतदातालाई विशेष प्राथमिकता दिनेगरी तयारी गरिएको छ । मोरङमा मतदान केन्द्रमा वुथ निर्माण कार्य सुरु भएसँगै फरक क्षमता भएका व्यक्तिलाई मतदानका लागि सहजीकरणको व्यवस्था गरिएको हो ।
मोरङका आठ सय ३९ केन्द्रमा मतदान अधिकृतले सुरक्षित, शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न गर्न राजनीतिक दलसँग सर्वसदलीय बैठक, वुथ निर्माणलगायत अन्य व्यवस्थापकीय कार्य प्रारम्भ गरेको कार्यालयका सूचना अधिकारी हेम वुढाथोकीले बताए ।

MRD-Sundarharaicha-Matdana1668816711.jpg
जिल्लाका सम्पूर्ण मतदान केन्द्रलाई अपाङ्गता भएका व्यक्ति, अशक्त, जेष्ठ नागरिकमैत्री बनाउनुका साथै पहिलो प्राथमिकता साथ मतदान गराउने व्यवस्था मिलाइएको उनले जानकारी दिए । 
यसैगरी दृष्टिविहीनका लागि निर्वाचनसम्वन्धी जानकारीका लागि ब्रेललिपीको प्रचार सामग्री मतदान केन्द्र टाँस गरिनुका साथै मतदानका लागि सहयोगीको व्यवस्था गरिएको छ ।
कार्यालयले आज निर्वाचन क्षेत्र नं ६ अन्तर्गतका ५० केन्द्रमा अनुगमन सम्पन्न गरी शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गर्न निर्देशन दिएको छ । अनुगमन गरिएका केन्द्रमा बुथ निर्माण, इन्टरनेट जडान, राजनीतिक दलसँग सर्वदलीय बैठक सम्पन्न भएको कार्यालय सूचना अधिकारी वुढाथोकीले बताए ।
यस्तै मोरङ क्षेत्र नं ६ ‘१’ अन्तर्गत विराटनगर–७ आदर्श विद्यालय मतदानस्थलमा सम्पूर्ण कर्मचारी महिला रहेका छन् । तीन मतदान केन्द्र रहेको उक्त स्थानमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी, स्वंयमसेवक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी महिला रहेको सूचना अधिकारी वुढाथोकीले बताए
उक्त मतदान केन्द्र ‘१’मा रहनु भएकी मतदान अधिकृत दीपिका खड्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु प्रमुख जिम्मेवारी रहेको बताउँदै खानेपानी, इन्टरनेट, शौचालय, वुथ निर्माणलगायत कार्य सुरु गरेको जानकारी दिनुभयो । उक्त मतदान स्थलमा २४ जना कर्मचारी परिचालन गरिएको छ ।
मोरङमा कूल सात लाख ३५ हजार पाँच सय २५ जनाले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । जसमा पुरुषको सङ्ख्या तीन लाख ७४ हजार तीन सय २६ र महिलाको सङ्ख्या तीन लाख ६१ हजार एक सय ९३ रहेका छन् ।–रासस

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  ०५:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार