३० लाख चालक लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल

शुक्रबार, कात्तिक २१, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाईं कार्य सुरु गरेका छन् । शुक्रबार केन्द्रमा पुगेर चालक अनुमति पत्र (लाइसेन्स) छपाईं कार्यको सुरू गर्दै उनले यो ६ महिनाभित्र ३० लाख नै लाइसेन्स छाप्ने चाहाना रहेको बताए ।  उनले भने, ‘सुरक्षण मुद्रण केन्द्र देशलाई कमाई गरेर दिन सक्ने ठाँउ हो, यहाँबाट कमाई हुन्छ । यो ६ महिनाभित्र हाम्रो चाहाना ३० लाख नै लाइसेन्स छापौँ भन्ने छ ।’ यस्तै, उनले आजको दिनसम्म २८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य भएको भन्दै त्यसको अन्त्यको सुरुवात आजबाट भएको बताए ।   उनले भने, ‘हामीले सुरक्षण मुद्रण केन्द्रबाट अब लाइसेन्स भए पनि छापेर अगाडि बढ्नुपर्‍यो । किनभने आजको दिनमा २८ देखि ३० लाख लाइसेन्स जनतालाई दिनु पर्ने छ । अहिले पनि २८–३० लाख लाइसेन्स नपाएका मान्छेहरू कागजको चिरकटो बोकेर हिन्नुपर्ने अवस्था छ । सुशासन भनेको आज ट्रायल दिएर भोलि लाइसेन्स पाउन सकियो भने हो नि त्यो क्षमता हामीसँग छ कि छैन भन्दा अहिले हामी त्यो काम गर्न सक्ने क्षमता राख्छौँ । त्यसकारण आज त्यसको सुरुवात भएको छ ।’ केन्द्रले सबैको सहयोग भयो भने तीन महिनामा तीन लाख लाइसेन्स छाप्न सक्ने कुरा राखेको भन्दै खरिद प्रक्रियालाई चुस्त र पारदर्शी भए ६ महिनामा २० देखि २५ लाख लाइसेन्स छाप्न सक्ने उनको भनाई छ । उनले भने, ‘केन्द्रले सबैको सहयोग भयो भने तीन महिनामा तीन लाख लाइसेन्स छाप्न सक्ने कुरा राख्नु भएको छ र खरिद प्रक्रियालाई चुस्त र पारदर्शी बनाएर जाने हो भने ६ महिनामा २० देखि २५ लाख लाइसेन्स छाप्न सक्छौँ । यति धेरै वर्षको अवधिमा ३० लाख लाइसेन्स नछापि रहेको अवस्थामा हामीसँग मेसिन छ, क्षमता छ केही बजेट व्यवस्था गरेर छाप्न सकिन्छ भने किन नगर्ने भनेर हामी लागेका छौँ ।’ केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने पनि उनको भनाई छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार