ललितपुर महानगर बन्यो ‘संगीतको सिर्जनात्मक शहर’ 

संगीत क्षेत्रका लागि चार वर्षे कार्य योजना
बिहीबार, कात्तिक २०, २०८२

ललितपुर । ललितपुर महानगरपालिका 'संगीतको सिर्जनात्मक शहर' घोषित भएको छ । युनेस्कोले ललितपुर महानगरलाई संगीतकाे सिर्जनात्मक शहर’ घाेषणा गरेकाे हाे । संगीत विधामा सदस्यता प्राप्त गरेसँगै ललितपुर महानगरले संगीतको क्षेत्रमा आफ्ना क्रियाकलापलाई अघि बढाउन आगामी चार वर्षका निम्ती कार्य योजना तयार पारेको छ । 
बिहीबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले चार वर्षका निमित्त कार्य योजना तयार पारेको जानकारी दिएका हुन् । 
ललितपुर महानगरपालिकाले संगीत विधामा ‘यूनेस्को सिर्जनात्मक शहरहरूको सञ्जाल’ को सदस्यताको लागि पहल गरेको थियो । सोही कारण २०२५ अक्टोबर ३१ मा ‘विश्व शहर दिवस’ को अवसर पारेर ललितपुर महानगरपालिकालाई ‘युनेस्को संगीतको श्रृजनात्मक शहर’ घोषणा गरिएको हो ।
ललितपुर महानगरपालिकालाई युनेस्कोले संगीतको शहरको रुपमा घोषणा पश्चात परम्परागत, समकालीन तथा आधुनिक संगीतको जगेर्ना गर्दै यस क्षेत्रमा विशेषतः युवाहरूलाई प्राथमिकताका साथ सहभागी गराई संगीतलाई रोजगारी सिर्जनाको माध्यम बनाउन महानगरपालिकालाई महत्वपूर्ण जिम्मेवारी र अवसर प्राप्त भएको पनि उनको भनाई छ ।
उनले संगीतको माध्यमबाट ललितपुर महानगरपालिकाको छवि र परिचयलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थप उचो बनाउन सम्पूर्ण नगरबासी र संगीत क्षेत्रमा लागेका संगीत साधक र संगीतप्रेमीको साथ, सहयोग अपेक्षा गरेको पनि बताए । 
संगीत क्षेत्रको विकासका लागि महानगरपालिकाले निम्नानुसारका कार्यक्रमहरु तय गरेको छ । 
१. अनुसन्धान तथा शैक्षिक कार्यक्रम :
(क) अनुसन्धानकर्ता र स्थानीय संगीतकर्मी बीच छलफल र सहकार्य गरी संगीतको माध्यमबाट आर्थिक उपार्जनको बाटो पहिल्याउने,
(ख) स्थानीय परम्परागत र परम्परागत संगीतका साथै र समकालीन संगीतको सीपलाई विद्यालय तहसम्म पुरÞ्याउन विद्वत वर्ग र विद्यालयहरुसँग सहकार्य गर्ने । विद्यालयमा संगीत शिक्षकको व्यवस्था गर्ने, शिक्षकहरुलाई तालिम प्रदान गर्ने र विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने,
(ग) स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगीतज्ञ तथा अनुसन्धानकर्ताहरुका निमित्त समेत उपयोगी हुने स्थानीय संगीत परम्परा तथा विभिन्न बाजागाजाहरु समेतलाई अभिलेखिकरण गरी श्रोत केन्द्र संचालन गर्ने, 
घ) परम्परागत बाजाहरुको संरक्षण तथा सम्बद्र्धनका निमित्त परम्परागत बाजा बनाउने र बजाउन सीपको जगेर्ना गर्न आवश्यक तालिमको व्यवस्था गरी यसलाई पेशाको रुपमा स्थापित गर्दै मर्यादित बनाउने,
ङ) परम्परागत बाद्यगुरुहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने ।

Photo-(8)-(2)-(1)-1762432442.jpg

२. नीति निर्माण तथा पहलकदमी :
(क) संगीतलाई उद्योगको रुपमा स्थापित गर्न पहल गर्ने,
(ख) जेष्ठ पूर्णिमाको दिनलाई राष्ट्रिय संगीत दिवसको रुपमा घोषणाका लागि आवश्यक पहल गर्ने, 
(ग) स्थानीय सार्वजनिक स्थलहरुलाई सवारी रहित बनाई खुल्ला सांगितिक कार्यक्रमहरु आयोजना गर्नका लागि पूर्वाधार तयार पार्ने,
(घ) परम्परागत वाद्यवादनमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु र नयाँ पुस्ताको उल्लेख्य सहभागिताको निमित्त नीति बनाई कार्य गर्ने,
(ङ) पाठ्यक्रम बनाई विद्यालयको पाठ्यक्रममा संगीतलाई समावेश गराउने ।
३. श्रोत तथा साधनको विकास–‘ललितपुर सिर्जनात्मक कला केन्द्र’ को स्थापना :
(क) संगीत सम्बन्धी अनुसन्धान केन्द्र, अभिलेखालय, तालिम केन्द्र तथा संगीतकर्मीहरुको सामुहिक जमघटको थलोको रुपमा ‘ललितपुर सिर्जना कला केन्द्र’ को स्थापना गर्ने,
(ख) ललितपुर महानगरपालिका भित्र संचालन हुने संगीत सम्बन्धी सबै क्रियाकलाप संयोजन, रेखदेखको कार्य यसै केन्द्रबाट हुने व्यवस्था मिलाउने,
(ग) यस केन्द्रको संचालनका निमित्त ललितपुर महानगरपालिकाका प्रमुखको अध्यक्षतामा ललितपुर महानगरपालिका भित्रका बिभिन्न संगीत तथा अन्य सिर्जनात्मक विधासँग सम्बन्धित संघ संस्थाहरुको समेत प्रतिनिधित्व रहने गरी १५ सदस्यीय संचालक समिति बनाउने,
(घ) युनेस्कोको अन्य संगीत शहरहरुसँगको सहकार्य तथा सहभागितामा बार्षिक रुपमा संगीत महोत्सवको आयोजना गर्ने,
(ङ) परम्परागत तथा समकालीन संगीतमा युवाहरुलाई संलग्न गराउन प्रत्येक वडामा युवा केन्द्रको स्थापना गर्ने,
च) संगीतको अनुसन्धानका लागि विज्ञहरुको टोली गठन गर्ने, 
(छ) परम्परागत डबली तथा सार्वजनिक प्रदर्शन स्थलहरुको स्तरोन्नति गर्ने, 
(ज) सामाजिक तथा वातावरणीय समस्याहरुको निराकरणका निमित्त छलफलको आयोजना गर्ने । 

Photo-(5)-(2)-(1)-1762432434.jpg
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १८:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार