बर्दियामा सहकारीद्वारा समर्थन मूल्यमै धान खरिद, किसानलाई राहत

मंगलबार, कात्तिक १८, २०८२

बर्दिया । किसानहरूलाई धानको उचित मुल्य उपलब्ध गराउन सरकारले समय मै धानको न्यूनतम समर्थन मुल्य तोकेको थियो । धानको न्यूनतम समर्थन मुल्य तोकेपनि किसानले भने धानको मुल्य पाउन सकेका थिएनन् । बर्दियाका स्थानीय व्यापारीले किसानसमर्थन मुल्य भन्दा कम मुल्यमा धान खरिद गरेपछि मधुवन नगरपालिका ७ मा रहेको ताराताल सानाकिसान कृषी सहकारी संस्थाले समर्थन मूल्य मै धान खरिद गरेको हो ।  गत कार्तिक १ गते देखि धान खरिद सुरु गरेको ताराताल सानकिसानले ३५ सय क्विन्टल धान खरिद गरिसकेको छ । धान खरिद गरेपछि किसानहरूले राहतको महसुस गरेका छन् । आफ्ना शेयर सदस्यहरूले उत्पादन गरेको धान व्यापारीहरूले सस्तोमा खरिद गरेपछि सानाकिसान सहकारीले समर्थन मुल्यमा धान खरिद सुरु गरेको हो । हाल सानकिसानमा धान बिक्रि गर्ने किसानको भिड लागेको छ । तिहार अगाडि देखि नै धान खरिद सुरु भएको हो ।
सरकारले मोटा धानको समर्थन मुल्य ३४ सय ६३ रुपियाँ प्रतिक्विन्टल तोकेको छ भने मध्यम धान प्रतिक्विन्टल तीन हजार छ सय २८ रुपियाँ तोकेको छ । तर व्यापारीहरूले २५ सय देखि २८ सय सम्ममा धान खरिद गरेका छन् । व्यापारीहरूले धानको मुल्य नदिएको कारण ताराताल सानाकिसानमा धान बिक्रि गर्न ल्याएको मधुवन नगरपालिका वडा नं ९ का किसान टंकप्रसाद पौडेलले बताए । उनले सहकारीले धान खरिद गरेको हुनाले किसानहरूलाई राहत भएको बताए ।  व्यापारीहरूले धान मुल्य नदिएको हुनाले नै ताराताल सानाकिसानमा धान बिक्रि गर्न ल्याएको मधुवन नगरपालिका वडा नं ७ गंगावस्तीकी मनमती चौधरीले बताइन् । उनले भनिन,“बाहिर व्यापारीले राम्रो मुल्य दिनुहुन्न, कत्ति व्यापारीले त खरिद नै गर्दैनौँ भन्नु भयो त्यसैले सहकारीमा ल्याएँ ।”  सहकारीले पाँच हजार क्विन्टल जति धान खरिद गर्ने लक्ष्य राखेको ताराताल सानकिसान कृषी सहकारी संस्थाका मुख्य प्रबन्धक डम्बर केसीले बताए । किसानहरू धानको मुल्य नपाएर किसानको श्रम समेत नउठेको पाएपछि धान खरिद गरेको बताउँदै किसानहरूको मात्र धान खरिद गरिने बताए । हाल किसानको धान खरिद  र भण्डारणका लागि मधुवन नगरपालिकाले पाँच लाख रुपियाँ सहयोग गरेको उनले जनाए । कृषकहरूलाई सहयोग होस भनेर धान खरिद गरेको ताराताल सानाकिसानका अध्यक्ष प्रेमप्रसाद तिमिल्सिनाले बताए । उनले भने,“पछि बिक्रि गर्दा मुल्य के हुने हो थाहा भएन तर घाटा भएपनि कृषकहरूलाई सहज होस भनेर धान खरिद गरेका छौँ ।” सरकारले सानाकिसानलाई धान खरिद र भण्डारणका लागि दिएको अनुदान रकम प्रतिक्विन्टल एक सय १२ रुपियाँ अत्यन्त न्यून भएको बताए । सरकारले सहकारीले खरिद गरेको धानको बजार व्यवस्थापन गर्न सहजीकरण गरेमा हरेक बर्ष किसानले ल्याएजति धान खरिद गर्ने उनले बताए । धान खरिद बापतको रकम किसानको बैंक खातामा सिधै पठाउने व्यवस्था गरेको लेखा समिति संयोजक देविबहादुर बस्नेतले बताए । उनले तीन दिन भित्र किसानको बैंक खातामा रकम पठाईएको बताए । ताराताल सानाकिसानले गत बर्ष कृषकहरूको एक हजार क्विन्टल धान खरिद गरेको थियो । सो धान अझै स्टक रहेको छ । बजेट भएमा धान खपतका लागि चामल मिल स्थापना गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार