सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अचानक बिजुली सर्ट हुँदा सम्पूर्ण उडान गतिविधि प्रभावित भएका छन् । शनिबार बेलुकी करिब ५ बजेर २५ मिनेटपछि विमानस्थल धावनमार्गको बिजुली सर्ट भएको हो । लगातारको वर्षाका कारण धावनमार्गमा पानी पसेर विद्युत् सर्ट भएको अनुमान गरिएको छ । इलेक्ट्रिकल विभागका कर्मचारीहरूले फल्ट पत्ता लगाउने प्रयास जारी राखेका छन् । प्रारम्भिक जानकारीअनुसार धावनमार्गको किनारामा रहेको ‘एज लाइट’ सर्ट भएको पाइएको छ । बिजुली सर्ट भएपछि दुबईबाट आएको फ्लाई दुबई, दोहाबाट आएको कतार एयरवेज र कोरियाबाट आएको कोरियन एयरका जहाजहरूलाई सिमरामाथिको आकाशमा होल्डमा राखिएको छ । त्यस्तै, आन्तरिकतर्फ जनकपुरबाट आएको बुद्ध एयरको एटीआर विमान पनि सिमरामै होल्डमा रहेको छ । अहिलेसम्म कुनै जहाज डाइभर्ट गरिएको छैन । यद्यपि, काठमाडौंबाट उडान नहुँदा विमानस्थलमा यात्रुहरूको चाप बढेको छ । त्रिभुवन विमानस्थलको धावनमार्ग करिब ३३ सय ५० मिटर लामो छ । हाल धावनमार्ग अँध्यारो बनेको छ र मर्मत कार्य तीव्र रूपमा भइरहेको विमानस्थलले जनाएको छ ।