सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदो छ । मतदानको दिन नजिकिएसँगै ललितपुरमा चुनावी सरगर्मी पनि बढ्दो छ । उम्मेदवारहरू अहिले बिहानैदेखि साँझसम्म घर दैलोमा व्यस्त छन् । गठबन्धनका प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीले ललितपुरका प्रतिनिधि सभाका तीनवटा क्षेत्रलाई आपसमा भागवण्डा गरी १–१ क्षेत्र लिएका छन् । तीनवटै दलले एक–एक क्षेत्र भागवण्डा गरेका कारण पनि ललितपुरको निर्वाचनलाई यसपटक महत्वका साथ हेरिएको छ । प्रतिनिधि सभातर्फ ललितपुर क्षेत्र नं १ काँग्रेसको भागमा परेको छ । २ नं क्षेत्र नेकपा एकीकृत समाजावादी तथा ३ नं क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परेको छ । क्षेत्र नं १ मा काँग्रेसले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उदयशम्शेर राणालाई उम्मेदवार बनाएको छ । २ नं क्षेत्रमा नेकपा एसले कृष्णलाल महर्जन तथा ३ नं क्षेत्रमा नेकपा माओवादी केन्द्रले ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाललाई उम्मेदवार बनाएको छ । यी तीनैजना उम्मेदवार गठबन्धनका हेभिवेट उम्मेदवार हुन् । क्षेत्र नम्बर ३ मा हेभिवेट उम्मेदवार एवम् वर्तमान ऊर्जा मन्त्री पम्फा भुसालसँग पहिलो पटक उम्मेदवार बनेका छन् एमालेका अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की । ३ नं क्षेत्रमा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएकी डा.तोसिमको उम्मेदवारी निर्वाचन आयोगले लाभको पदमा कायम रहेको भन्दै खारेज गरिदिएपछि यहाँको निर्वाचनलाई चासोको साथ हेर्न थालिएको हो । आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई चुनौती दिँदै डा.तोसिमा सर्वाेच्च अदालत गइन् । सर्वाेच्चले पनि डा.तोसिमको उम्मेदवारी खारेज नगर्नु भनी अन्तरिम आदेश दियो । अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले सर्वोच्च अदालतमा भ्याकेट निवेदन दिए । आयोगका सचिव दवाडीको निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि सर्वोच्चले दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ । सोमबारको यो फैसलापछि ललितपुर क्षेत्र नं ३ को निर्वाचनलाई लिएर थप चासोका साथ हेर्न थालिएको छ । सर्वाेच्चको आदेशपछि निर्वाचनको नतिजा कसको पक्षमा जाला भन्ने खालको चर्चा चोक तथा गल्लीहरूमा सुनिन थालेको छ । क्षेत्र ३ मा गठबन्धनका तर्फबाट हेभिवेट उम्मेदवार नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसाल छिन् । उनीसँगै च्नावी मैदानमा एमालेका अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की छिन् । पाँच दलिय गठबन्धनका कारण पम्फा भुसाललाई चुनाव जित्न सहज हुने अनुमान गरिएको छ । मत ट्रान्सफर नेतारूले भने झैं भए पम्फाको जित सुनिश्चित जस्तै छ । तर मत सहि ढङ्गबाट ट्रान्सफर नहुँदा पम्फालाई चुनावी परिणाम आफ्नो पक्षमा ल्याउन धेरै मिहिनेत गर्नुपर्छ । एमाले तथा स्वतन्त्र पार्टीका उम्मेदवार पहिलो पटक उम्मेदवार बन्नु तथा ललितपुरमा लामो समयदेखि राजनीति गरेकी पम्फालाई चुनाव जित्न कठिन नहुने आकलन पनि गरेको देखिन्छ । झण्डै तीन दशकदेखि राजनीतिमा सक्रिय भुसाल राज्यको माथिल्लो तहसम्म पुगेर कार्य सम्पादन गरेकी अनुभवी राजनीतिज्ञ हुन् । ललितपुरलाई कार्यक्षेत्र बनाएर राजनीति गर्दै आएकी पम्फा भुसाल आफ्नो क्षेत्रका सवै जसो चोक, गल्ती–गल्ती पुगेर जनताको सुख दुखमा साथ दिँदै आएकी छन् । पम्फासँगै चुनावी मैदानमा रहेका उम्मेदवारको राजनीतिक पृष्ठभूमि उति बलियो छैन । त्यसैले अमृत–तोसिमलाई पम्फासँग चुनाव लड्न कठिन हुने ठानिएको छ । पम्फासँग सरकार र संसद्को लामो अनुभव रहनु पनि उनका लागि फाइदाकै विषय हो । पम्फा चार पटकसम्म मन्त्री र तीन पटक सांसद बनिसकेकी राजनीतिज्ञ हुन् । स्थानीय निर्वाचनको नजितालाई हेर्ने हो भने ललितपुर–३ वाम–लोकतान्त्रिक गठबन्धनको किल्ला मान्नु पर्छ । यहाँको धेरै भुभाग शहरमा पर्छ भने थोरै भुभाग ग्रामीण भेगमन । ललितपुर क्षेत्र ३ ललितपुर महानगरपालिका– १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ गरी २२ वटा वडाहरू पर्छन् । यहाँँ मतदाता संख्या ९४ हजार ११६ रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले चुनाव जित्न सक्ने सांगठनिक आधार छैन । चुनाव जित्नका लागि पार्टीको संगठन बलियो हुनुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टी भर्खरै मात्र गठन भएकाले संगठन बलियो हुने कुरै भएन । लाभको पदमा रहेको भन्दै तोसिमाको उम्मेदवारी खारेज तथा निर्वाचन आयोगको भ्याकेटको निवेदनपछि उनका बारेमा चर्चा भने हुन थालेको छ । लामो समय पार्टीका सक्रिय, जनआन्दोलनदेखि हालसम्म पनि पार्टीमा रहेर भूमिका निभाउँदै आएका राजनीतिक कर्मीलाई कमजोर ठानेर चर्चा गरिएका पनि सुनिन्छ । असल र स्वाभिमानपूर्वक देश र जनताको काम गर्ने उम्मेदवारले जित्नुपर्छ । लामो समय पार्टीमा सङ्घर्ष र जिल्लामा विकास निर्माणका गतिविधिलाई हेरेर भोट दिने हो भने पहिलो नम्बरमा पम्फा भुसाल पर्छिन् । जिल्लाको राजनीतिमा लामो समयदेखि काम गर्दै आएकी उनमा उच्च राजनीतिक संस्कार छ । जिल्लाका हरेक समस्यामा सामेल र समाधान गर्न सक्ने ल्याकत पनि भुसालले राख्छिन् । सफल राजनीतिककर्मीलाई सामान्य उम्मेदवारसँग दाज्नु निकै हल्का हुनेछ । उम्मेदवारका विषयमा चर्चा गर्दा उनीहरुको राजनीतिमा अनुभव र योगदानलाई पनि कदर गरिनुपर्छ । जसले असल राजनीतिक चरित्र देखाएको छ सत्तामा उही पुग्नुपर्छ । सर्वाेच्च अदालतको निर्णयपछि पम्फा भुसालको प्रतिस्पर्धी ठानिएकी कार्कीको घर सानेपा हो । उनी पाटन अस्पतालमा काम गर्ने भएकोले केही बिरामी र आफन्त चिनेकी छन् । अस्पतालमा काम गरेकै भरमा उनले नै चुनाव जित्छिन् भन्नु तर्क संकत मानिँदैन । उनको पछि अहिले केही थान युवाहरू लागेका छन् । अझै पनि यो क्षेत्रमा मत कसलाई दिने भनेर निर्णय गरिनसकेका मतदाताको संख्या उल्लेख्य छ । ती मतदाताले कहाँ मत खसाल्छन भन्ने मौन अवधिका गतिविधि र त्यसपछिको चुनावी नतिजाले बताउला ।