सोसल मिडिया
Contact Us
युनिकोड
बाजुरा । बडीमालिका नगरपालिका वडा नम्बर ७ का जेनजी युवाहरूले वडामा सुशासन कायम गरी विकास र समृद्धिमा जोड दिन माग गरेका छन् । बुधबार वडाअध्यक्ष धर्मराज पाध्याय समक्ष ज्ञापनपत्र बुझाउँदै उनीहरूले विभिन्न मागहरू राखेका हुन् । वडाका विषयमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेपछि उनीहरूले ज्ञापनपत्र बुझाउँदै वडामा सुशासन कायम गरी विकास र समृद्धिलाई जोड दिई जेनजी मुभमेन्टलाई रास्ट्रिय स्तरको मुद्दाका साथ आत्मसात गर्दै वडामा निस्पक्ष र सामाजिक सरोकारका बिषयलाई ध्यानमा राखेर वडाको विकासमा लाग्न उनीहरूले माग गरेका छन् । वडामा विभिन्न सेवा सुविधाहरू विस्तार भएपनि यहाँका स्थानीयले राम्रोसँग उपभोग गर्न नपाएको जेनजी युवा प्रकाश विश्वकर्माले बताए । हरेक सेवा सुविधाहरूलाई नागरिकले सहज रुपमा उपभोग गर्न पाउनु पर्ने उनको भनाइ छ । वडामा शिक्षा, स्वास्थ, यातायात, सञ्चार लगायतको पहुँच पुगे पनि गुणस्तरीय र प्रभावकारी बन्न नसकेको उनले जानकारी दिए । वडा अध्यक्ष पाध्याय दुई/दुई कार्यकाल वडाअध्यक्ष भईसक्दा पनि वडा कार्यालय नबन्नु, तत्काल जग्गा खरिद गरी वडाको आफ्नै भवन निर्माण गर्नुपर्ने, गुणस्तरीय शिक्षाका लागि लक्ष्मी मावि र ज्ञानोदय माविलाई समायोजन गरी बीच केन्द्र चुथिमा एउटा गुणस्तर युक्त बिधालय निर्माण गर्नुपर्ने, लक्ष्मी माविलाई आधारभुत तहका लागि जिल्ली तलगाउ भुगाडिपाटा माथीगाउँ पानीखाल क्षेत्रलाई पायक पर्ने ठाउँमा बिद्यालय स्थानान्तरण गर्नुपर्ने माग राखेका छन् । त्यस्तै मार्तडी स्वास्थ्य चौकी चुथिलाई व्यवस्थित र २४ सै घण्टा सेवा दिने वातावरण बनाई दरबन्दी अनुसारका स्वास्थ्यकर्मी को ब्यबस्था मिलाउनु पर्ने, वडामा रहेका अति जोखिम बस्ती जिल्ली तलगाउ भूगाडीपाटा सिराडी लगायतका बस्तीलाई बस्ती बिस्तार गर्न पालिका सरकार, प्रदेश सरकार र संघ सरकारसँग पहल कदमी गर्नुपर्ने माग राखेका छन् । सार्वजनिक यातायातको सेवा सुविधाबाट जनताको दैनिकी यात्रा सहज बनाउन ढम्कने, रजातोली, चुथि र जिल्ली गाउँका यात्रुको लागि टिकट काउण्टरको ब्यबस्था गरी कर्मचारी ब्यबस्थापन गरिनुपर्ने, कृषि सडक पुगेको ठाउँमा यात्रा सहज र सुलभ बनाउन वडा भरिको कृषि सडक सरसफाइ लगायत आवश्यक मर्मत सम्भार गरिनुपर्ने, वडामा रहेका सम्पूर्ण सामुदायिक बनलाई नियमन गरी प्रत्येक वर्षको आय ब्ययको रिपोर्ट वडा कार्यालयले लिनुपर्ने माग गरिएको छ । खेल प्रेमिहरूलाई खेलकुदमा विकास गर्न वडामा वडास्तरीय खेलकुद मैदानको ब्यबस्था गरिनु पर्ने, सिराडि माउलेख परिबन हुँदै रजालि जोड्ने सडक निर्माणका लागि पहल कदमी, वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधा राजनैतिक पहुँचका आधारमा नभई निष्पक्ष रुपमा सेवा प्रवाह हुनुपर्ने, पालिका सरकार र वडा सरकारबाट उपलब्ध गरिने राहत प्याकेज जस्ता कार्यक्रमलाई बास्तविक पीडितलाई वितरण गर्नुपर्ने माग उनीहरूले राखेका छन् । त्यस्तै निर्माणाधीन फोन पार्कको प्रगति विवरण के कस्तो रह्यो त्यस विषयमा सर्वपक्षीय बैठकमा सम्पूर्ण जानकारी गर्नुपर्ने, फोरजी सेवा उपलब्ध भए पनि सहज रुपमा काम नगर्ने भएकाले तत्काल फाईवर नेट जडान गरिनुपर्ने जेनजी युवाहरूको माग छ । त्यसैगरी वडा भित्रका चारवटा सिमा नाका निर्धाण गरी प्रत्येक ठाउँमा गेट निर्माण गरिनुपर्ने र कृषकहरूले उत्पादन गरेका बस्तुहरूलाई सहज रुपमा ढुवानी गर्नका लागि चुथीमा संकलन केन्द्र निर्माण गरी बजारीकरण गरिनुपर्ने उनीहरूले माग राखेका छन् । कृषि सडक पुगेका ठाउँमा यात्रालाई सहज बनाउन सडक मर्मत, सिराडीदेखि जिल्लीसम्मको कृषि सडक तत्काल खोलिनुपर्ने,माध्यमिक शिक्षा परिक्षामा दुबै विद्यालयले शून्य नतिजा ल्याउनुमा कमजोरी पत्ता लगाई तत्काल शैक्षिक स्थिति सुधार गरिनु पर्ने अर्का जेनजी युवा दिपेन्द्र विकले बताए । तत्काल माग पूरा नभएको खण्डमा वडामा ताला लगाउन जेनजी युवा बाध्य हुने विकको भनाइ छ । यता वडाअध्यक्ष धर्मराज पाध्यायले वडाको विकासका लागि आफू पछि नहटेको बताउँदै चारैतर्फबाट दोष जनप्रतिनिधिलाई मात्रै थोपारिने गरेको भन्दै दुखेसो पोखेका छन् । आफू बोलेर भन्दा पनि गरेर देखाउने जनप्रतिनिधि भएकोले आफू पदमा रहदाँसम्म जनताप्रति अनुकरणीय कार्य गरेर जाने बताएका हुन् । त्यस्तै जेनजी युवाहरूले उठान गरेका कुरा निकै सान्दर्भिक रहेको बताउँदै उनले युवाहरूले माग गरेका कुराहरूलाई समाधान गर्न आफू प्रतिबद्ध रहको बताए । माग पूरा गर्न संघ, प्रदेश सरकारसँग समन्वय–सहकार्य गरी समाधानको पक्षमा लाग्ने वडाअध्यक्ष पाध्यायले बताएका छन् ।