सत्यमोहन जोशीको अवस्था चिन्ताजनक

ललितपुर महानगर बोर्ड बैठकले गर्‍यो स्वास्थ्यलाभको कामना
मंगलबार, असोज २५, २०७९

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । सो अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभई अवस्था चिन्ताजनक रहेको अस्पतालका निर्देशक प्रा‍.डा. सुरज बज्राचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  
जोशीको गत असोज २३ गतेदेखि छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ । अस्पताल भर्ना भएपछिको केही दिनसम्म स्वास्थ्यमा केही सुधार देखिएता पनि पछिल्लो  ३-४ दिनदेखि खानामा उनको अरुचि बढ्दै गएको छ । जाेशीले प्रष्ट रुपमा संवाद गर्न सकेका छैनन् । ‘युरिन इन्फेक्सन’ तथा छातीमा निमोनिया देखिएको छ ।

मुटुको चालमा पनि समस्या

‘जोशीज्यूको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक नै रहेको छ,’ अस्पतालका निर्देशक बज्राचार्यले भने । मुटुको चालमा समेत समस्या देखिएका उनलाई आईसीयूमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार मेडिसिन विभागको नेतृत्वमा अन्य विभागहरूले जोशीको स्वास्थ्यको निरीक्षण गरिरहेका छन् । किष्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ । घरमा समेत नर्स पठाएर सेवा दिंदै आएको थियो ।

कार्यपालिका बैठकले गर्‍यो स्वास्थ्य लाभको कामना

ललितपुर महानगरपालिकाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेको छ ।
ललितपुर महानगरको २१ औं कार्यपालिका बैठकले किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको आइसियूमा उपचार गराइरहेको जोशीको स्वास्थ्य लाभको कामना गरेको हो । जोशीकाे अहिले सघन उपचार कक्ष आइसियूमा उपचार भइरहेको छ ।

नेपालको परिचयलाई कला, साहित्य र संस्कृतिको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरसम्म व्यापक बनाउन जोशीले निर्वाह गरेको भूमिकाको सम्मान गर्दै  ललितपुर महानगरले तीन वर्ष अघि जोशी एक सय वर्ष प्रवेश गरेको अवसरमा रथयात्रासहित अभिनन्दन गरेको थियो । यसैगरी,महानगरपालिकाले अन्य सम्बन्धित निकायसँग समन्वय गरी जोशीको मुहार अंकित हुलाक टिकट प्रकाशन र सिक्का निष्काशन गरेको छ । साथै,वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीूको दैनिक सहज बनाउन महानगरपालिकाले उनलाई सवारीसाधन, सवारीचालक, सुरक्षाकर्मीको व्यवस्था पाँच वर्षदेखि निरन्तर गर्दै आइरहेको छ । महानगरद्धारा जारी विज्ञप्तिमा जोशीको उपचारमा अस्पतालले लिएको चासो र उपलब्ध गराएको स्वास्थ्य सेवाप्रति ललितपुर महानगरले धन्यवाद दिएको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  ०४:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार