डडेल्धुरामा एमाले र कांग्रेस (बिपी) को गठबन्धन तोडियो, चितवनमा पनि एमाले-राप्रपा गठबन्धन बनेन

सोमबार, असोज २४, २०७९
Global Ime Bank

डडेल्धुरा । डडेल्धुरा नेकपा (एमाले) ले डडेल्धुरामा नेपाली कांग्रेस (बिपी) सँगको गठबन्धन तोडेको छ । एमालेले कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो । तर आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका चक्र स्नेहीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।
उनी राष्ट्रियसभाका पूर्वसदस्य हुन् । एमाले डडेल्धुराले केन्द्रबाट आधिकारिकरूपमा निर्देशन नआएकाले प्रतिनिधिसभामा एकल उम्मेदवारी दिएको जनाएको छ ।
उनीसँगै प्रदेशसभा (क) मा सुदूरपश्चिमका पूर्वमन्त्री पठानसिंह बोहोरा र प्रदेशसभा (ख) मा गजेन्द्र शाहीले मनोनयन दर्ता गराएका छन् । यस्तै प्रतिनिधिसभामा कांग्रेस (बिपी) का वरिष्ठ उपाध्यक्षसमेत रहेका मल्लले पनि उम्मेदवारी दर्ता गराएका छन् । मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति हुन् । नेपाली कांग्रेसको अधिवेशनका बेला क्रियाशील सदस्यता वितरणको विषयलाई लिएर संस्थापन पक्षसँग विवाद भएको थियो । त्यसपछि उनी कांग्रेस (बिपी) मा प्रवेश गरेका थिए ।

चितवनमा नौ पदका लागि १२२ को उम्मेदवारी

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा एक सय २२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जिल्लाका तीन सङ्घीय निर्वाचन क्षेत्र र छ प्रदेश क्षेत्रका लागि उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ (क)मा ११ र प्रदेश (ख) मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल र नेकपा (एमाले)का तर्फबाट पार्टीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । पौडेलले योजना आयोगबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका हुन् ।

पाण्डेले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका छन् । पाण्डे आमाको किरियामा रहेका कारण उनका निजी सचिव सञ्जीप पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै राप्रपाबाट मधुपकुमार भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै प्रदेशसभाका लागि क्षेत्र नम्बर १ (क)मा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं १ (ख)मा १२ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नवीनराज रुवालीले जानकारी दिए ।
यस्तै चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनका लागि १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूमध्ये सत्ता गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका नेता प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल र राप्रपाका तर्फबाट रविन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले समेत चितवन क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभाका लागि क्षेत्र नम्बर २ (क)मा आठ जनाको र २ (ख) मा १४ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।
चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा निर्वाचनका लागि २१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का डा भोजराज अधिकारी, एमालेका रामप्रसाद न्यौपाने र राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । यो क्षेत्रमा १२ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ विक्रम पाण्डेलाई एमालेले सघाउने चर्चा थियाे ।
प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ (क)मा आठ र क्षेत्र नम्बर ३ (ख)मा नौ जनाको उम्मेदवारी परेको छ ।
जिल्लामा हाल चार लाख आठ हजार ३४२ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा एक लाख ३९ हजार आठ सय ४५, क्षेत्र नम्बर २ मा एक लाख २४ हजार दुई सय १४ र क्षेत्र नम्बर ३ मा एक लाख ४४ हजार दुई सय ८३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । जिल्लामा एक सय ६२ मतदान स्थल र चार सय ६० मतदान केन्द्र रहने छन् ।

 

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  ०५:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार