सोसल मिडिया
Contact Us
युनिकोड
गण्डकी । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि कास्कीमा नौ पदका लागि एक सय आठ जनाको उम्मेदवारी परेको छ । तीमध्ये प्रतिनिधिसभा सदस्यका लागि ५३ र प्रदेशसभा सदस्यका लागि ५५ जनाको उम्मेदवारी परेको हो । तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोरदत्त बरालले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी गठबन्धनबाटै सो क्षेत्रको प्रदेश निर्वाचन क्षेत्र (क) मा नेकपा (माओवादी केन्द्र)का दीपक कोइराला र (ख) मा कांग्रेसका दीपक गुरुङ (माइला)ले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं १ मा नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि मनबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेका छन् भने प्रदेशसभा सदस्यतर्फ (क)मा खगराज अधिकारी र (ख)मा वेदबहादुर गुरुङ (श्याम)को उम्मेदवारी परेको छ । कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि कुल १७ जनाको उम्मेदवारी परेको छ । त्यस्तै यस क्षेत्रमा प्रदेशसभा (क)मा नौ र (ख) मा आठ जनाको उम्मेदवारी परेको छ । त्यस्तै कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बरालले उम्मेदवारी दर्ता गराउनुभएको छ भने नेकपा (एमाले)का विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै प्रदेशसभा सदस्यतर्फ गठबन्धनबाट क्षेत्र नं २ (क) मा विश्वप्रकाश लामिछाने र क्षेत्र नं २ (ख) मा विन्दुकुमार थापाको उम्मेदवारी परेको छ । एमालेका तर्फबाट प्रदेश(क) मा भीम कार्की र (ख)मा मीना गुरुङको उम्मेदवारी परेको छ । क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि कुल १८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै यस क्षेत्रको प्रदेशसभा (क) मा ११ र (ख) मा नौ जनाको उम्मेदवारी परेको छ । कास्की क्षेत्र नं ३ मा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा रामजीप्रसाद बराल(जीवन)ले उम्मेदवारी दर्ता गराएका छन् । उक्त प्रदेशको प्रदेशसभा सदस्यका लागि (क) मा माओवादी केन्द्रका दुर्गादत्त भण्डारी र (ख) मा कांग्रेसका प्रकाश बरालले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि १८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै यस क्षेत्रको प्रदेशसभा सदस्यका लागि (क)मा १० र (ख) मा आठ जनाको उम्मेदवारी परेको छ । जिल्लाका तीनवटै क्षेत्रका निर्वाचन अधिकृतका कार्यालयमा सौहार्दपूर्णरूपमा मनोनयन दर्ता सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।
बागलुङ–१ मा सात जनाको उम्मेदवारी
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि बागलुङ–१ मा सात जनाको उम्मेदवारी परेको छ । सत्तारूढ गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (एमाले)बाट सूर्यप्रसाद पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद सापकोटा, नेपाली कांग्रेस (बीपी)बाट शिवलाल सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट खिमानन्द कँडेलले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । कृष्णशङ्कर श्रेष्ठ र चन्द्रबहादुर क्षत्रीले स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभा सदस्य पदका लागि बागलुङ–१ (क) मा पाँच जनाको उम्मेदवारी परेको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा, नेकपा (एमाले)का हिराबहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र स्वतन्त्ररूपमा दीपेन्द्र हमालले उम्मेदवारी दर्ता गराएका छन् । बागलुङ–१ (ख) मा चार जनाको उम्मेदवारी परेको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराम सुवेदी, नेकपा (एमाले)बाट नवराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द सापकोटा र मङ्गोल नेशनल अर्गनाइजेशनका सहवीर थापाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले जानकारी दिए ।