सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि निर्वाचन आयोगका कार्यालयहरूमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । यसै सिलसिलामा ललितपुरमा क्रियाशील विभिन्न पार्टीहरु झाँकीसहित उम्मेदवारी दर्ता गराउने तरखरमा छन् ।
ललितपुरमा निर्वाचन आयोगले ललितपुर क्षेत्र नंम्बर ३ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारी प्रशिक्षण प्रतिष्ठान जावलनखेल (स्टिल टावरसँगै) क्षेत्र नं. २ का लागि नेपाल स्क्वास तथा र्याकेट संघ सातदोबाटो र क्षेत्र नं. १ का लागि गोदावरी नगरपालिकाको कार्यालय चापागाँउमामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । नेकपा एमालेले ललितपुरको लगनखेलबाट अपरान्ह १ बजे झाँकीसहित उम्मेदवारी दर्ता गराउन जाने कार्यक्रम तय गरेको छ । २ बजे ग्वार्कोबाट र चापागाँउको प्याङगाँउबाट १२ बजे झाँकि सहित उम्मेदवार मनोनयन दर्ता गराउने एमालेको तयारी छ । यता ललितपुर क्षेत्र नं १ मा गठबन्धन दलले चापागाउँ (प्याङ्गाउँ)मा भेला भई झाँकीसहित उम्मेदवार मनोनयन दर्ता गनराउने कार्यक्रम छ । गठबन्धनका तर्फबाट ललितपुर–१ मा प्रतिनिधिसभामा उदय शम्शेर राणा साझा उम्मेदवार बनेका छन् । प्रदेशसभातर्फ (क) मा सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट हरि दाहाल उम्मेदवार बनेका छन् । उनी माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य हुन् । प्रदेश सभा सदस्य (ख) बाट काङ्ग्रेस नेता मीनकृष्ण महर्जन उम्मेदवार बनेका छन् । राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष महर्जन २०७४ सालको निर्वाचनमा पनि कांग्रेसबाट प्रदेश सभा उम्मेदवार थिए । प्रतिनिधिसभातर्फ ललितपुर क्षेत्र नंं १ मा नवराज सिलवाललाई उम्मेदवार बनाएको छ । राणा र सिलवालको यो दोस्रो भेट हो । २०७४ सालमा भएको निर्वाचनमा सिलवालले राणालाई पराजित गरेका थिए । प्रदेशतर्फ क मा चेतनाथ सञ्जेल र ख मा मधुसुदन पौडेल उम्मेदवार बनेका छन् । चेतनाथ र मीनकृष्णकाे पनि यो दोस्रो भेट हो । २०७४ को निर्वाचनमा चेतनाथले मीनकृष्णलाई झिनो मतान्तरले पराजित गरेका थिए ।
ललितपुर क्षेत्र नं २ मा एमालेले प्रेम महर्जनलाई प्रतिनिधिसभाकाे उम्मेदवार बनाएको छ । उनीसँग नेकपा समाजवादीका कृष्णलाल महर्जन भिड्दै छन् । एमालेले प्रदेशसभातर्फ २ कमा रामेश्वर श्रेष्ठ र खमा ज्ञानेन्द्र शाक्यलाई उम्मेदवार बनाएकाे छ । ललितपुर २ को प्रदेशसभा क तर्फबाट नेपाली काँग्रेसका रिशा श्रेष्ठ र खका लागि रामकृष्ण चित्रकारले टिकट पाएका छन् । गठबन्धन दलले १ बजे सातदाेबाटाेमा भेला भएर झाँकीसहित उम्मेदवारी मनाेनयन दर्ताकाे कार्यक्रम राखेकाे नेपाली काँग्रेस ललितपुर क्षेत्र न २ का क्षेत्रीय सभापति महेश खड्काले शब्दपाटीलाई जानकारी दिए ।
ललितपुर ३ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उपमहासचिव एवम् ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालको उम्मेदवारी तय भएको छ । उनीसँग एमालेका अमृत खड्का भिड्दै छन् ।
प्रदेशसभातर्फ ललितपुर ३ क मा राजकाजी मजर्हनको उम्मेदवारी तय भएको छ उनीसँग एमालेका प्रेमभक्त महर्जनले प्रतिस्पर्धा गर्दै छन् ।
खमा एमालेका रघुनाथ महर्जनलाई कांग्रेसका जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन् । जिल्लाका हेभीवेटहरू चुनावी प्रतिस्पर्धामा रहेकाले यस पटकको ललितपुरको चुनावी माहोल रोचक बनेको छ ।
अघिल्लो पटक नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन हुँदा काँग्रेसका उम्मेदवार पराजित भएका थिए । यस पटक काँग्रेसहित चार दलको गठबन्धन बनेको छ भने एमाले साना दलको समर्थन बटुल्ने तयारीमा छ ।