प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै

आइतबार, असोज २३, २०७९
Global Ime Bank

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र आज दर्ता हुँदैछ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरिनेछ ।
आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
यसका लागि आयोगले आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइसकेको जनाएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले वारेसनामा वा प्रतिनिधिका माध्यमबाट पनि मनोनयनपत्र दर्ता गराउन सक्ने भएकाले त्यसका लागि आधिकारिक पत्र, वारेसनामा र निस्साजस्ता कागजात सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपलब्धसम्म गराएर दल र उम्मेदवारलाई सहजीकरण गर्न आयोग तत्पर रहेको बताएका छन् ।  उनले मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान र विद्यमान कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयन गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गरेका छन् । 
आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाअनुसार मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेसमेत असोज २३ गते नै साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज २४ गते बिहान १० देखि अपराह्त ३ बजेसम्म, मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपराह्न ३ देखि २५ गते साँझ ५ बजेसम्म रहेको छ ।
यसैगरी उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न २६ गते अपराह्न ४ देखि साँझ ७ बजेसम्म र मतदान आगामी मङ्सिर ४ गते बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ ।
यस निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता सङ्ख्या रहेका छन् । यसमा पुरुष मतदाताको सङ्ख्या ९१ लाख ४० हजार आठ सय ६, महिला मतदाताको सङ्ख्या ८८ लाख ४७ हजार पाँच सय ७९ र अन्य एक सय ८५ रहेका छन् । निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।
निर्वाचनका लागि आयोगले यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी एक सय ६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।    

बन्दसूचीको सूचना प्रकाशन      
आयोगले निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची प्रकाशन गरेको छ । निर्वाचन तालिकाअनुसार बन्दसूची प्रकाशन गर्ने समय असोज २२ गते साँझ ५ देखि ७ बजेसम्म निर्धारण गरिए पनि असोज २३ गते बिहानमात्र बन्दसूची प्रकाशन गरिएको हो ।

उम्मेदवारी मनोनयनको तयारीमा गण्डकी प्रदेशका राजनीतिक दल

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनको आज हुने उम्मेदवार मनोनयन दर्ताका लागि दलहरू अन्तिम तयारीमा जुटेका छन् । 
कास्कीमा क्रियाशील राजनीतिक दलमध्ये गठबन्धनका दल, नेकपा (एमाले) तथा अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारहरू पनि उम्मेदवारी दर्ताको तयारीमा लागेका हुन् ।
उम्मेदवारी मनोनयनको तयारी सम्बन्धमा कास्कीका गठबन्धनका दलहरूको बैठक नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसिरहेको  कांग्रेस कास्कीका सचिव भानु ढकालले जानकारी दिए । एमालेका तर्फबाट कास्कीका तीनवटै क्षेत्रमा दिउँसो १ बजे आसपासको समयमा मनोनयन दर्ता गर्न जाने कार्यक्रम रहेको एमाले गण्डकी प्रदेशका उपसचिव रश्मी आचार्यले जानकारी दिए ।
निर्वाचन आयोगको तालिकाअनुसार दिउँसो १० देखि ५ बजेसम्म उम्मेदवार मनोनयनको कार्यक्रम छ ।
यसअघि उम्मेदवारी मनोनयनलाई लक्षित गरी प्रदेश निर्वाचन कार्यालय पोखराले शनिबार जिल्लामा क्रियाशील राजनीतिक दलसहितको सर्वपक्षीय बैठक गरेको थियो ।
कास्कीमा क्षेत्र नं १ को पशु सेवा निर्देशनालय परिसर हस्पिटल चोक, क्षेत्र नं २ को पोखरा सभागृह परिसर, सभागृहचोक र क्षेत्र नं ३ को जिल्ला समन्वय समितिको कार्यालयमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार मनोनयन दर्ता हुने जनाइएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १०:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार