मंसिर ४ को निर्वाचनमा उम्मेदवार नबन्ने सभामुख सापकोटाको घोषणा

शनिबार, असोज २२, २०७९
Global Ime Bank

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । 
सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा आयोजित पत्रकार भेटघाटमा उनले राजनीतिक दलभित्र उम्मेदवारको टिकटका लागि तीव्र प्रतिस्पर्धा  भएका बेलामा आफूले युवा पुस्तालाई अवसर प्रदान गरी नेतृत्वमा पु¥याउन सहयोग गर्ने हेतुले यस पटक उम्मेदवारी नदिने निर्णय गरेको बताए ।
सभामुख सापकोटाले भने, “आगामी निर्वाचनमा मेरो जीत सुनिश्चित नै थियो, युवालाई नेतृत्वमा ल्याउन ब्रह्मले देखेर यो त्यागको  निर्णय गरेको हुँ । हार्छु भनेर नउठ्ने घोषणा गरेको होइन । देश र जनताको हितका लागि अधिकतम समर्पित रहनेछु । अन्तिम घडीसम्म राजनीतिमै सक्रिय रहनेछु ।”
निरन्तर १५ वर्षसम्म जनप्रतिनिधिको भूमिकामा पु¥याउने मतदाता र  जनताप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा पनि जनताको समस्या र मुलुकको विकासका लागि सक्रियताका साथ काम गर्ने विश्वास दिलाए । सभामुख सापकोटाले भने, “मेरो यो निर्णय निरन्तरतामा  क्रम भङ्गता हो, आशा छ मेरो यो कदमले राजनीतिक रुपान्तरणका लागि नयाँ रक्त सञ्चार गर्नेछ ।”
सिन्धुपाल्चोकबाट २०६४, २०७० र २०७४ सालमा लगातार संसद् सदस्यमा निर्वाचित सभामुख सापकोटासँग यसअघि सूचना तथा सञ्चार र वन तथा भू– संरक्षणमन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव छ । विसं २०७६ माघ १२ गते उनी सर्वसम्मतरुपमा सभामुखमा निर्वाचित भएका थिए ।
संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भइरहने उल्लेख गर्दै सो अवसरमा उनले अग्रगामी राजनीतिक अभियानमार्फत आम नेपाली नागरिकको समुन्नतिका लागि बुद्धि र विवेकले भ्याएसम्म काम गर्ने अठोट व्यक्त गरे । 
सभामुख सापकोटाले भने, “राज्य र जनताले आवश्यक ठानेमा जुनसुकै जिम्मेवारी बहन गर्न तयार छु । राजनीतिक एवं सामाजिक मञ्चमार्फत सबै नेपालीको स्वाभिमान र आत्मविश्वास उचो बनाउन मेरो सक्रियतामा कुनै कमी आउन दिने छैन । मानव जातिको उन्नतिका लागि परिश्रम गर्नु मेरो जीवनको आदर्श हो ।” 

सभामुखले छाडे सरकारी निवास
सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाडेका छन् ।  सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्किएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १८:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार