सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि उम्मेदवारले स्वःघोषणा गर्नुपर्ने बुँदा सार्वजनिक गरेको छ । भोलि असोज २३ गते आइतबार उम्मेदवारीको मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा भाग लिने उम्मेदवारले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ बमोजिम स्वःघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरी उम्मेदवारले आफू नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको, प्रतिनिधिसभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको स्वघोषणा गर्नुपर्नेछ । यस्तै उम्मेदवारले कुनै सङ्घीय कानुनले अयोग्य नभएको, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल नरहेको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको स्वघोषणा गर्नुपर्र्ने जनाइएको छ । यसैगरी, निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (३) बमोजिम कारबाही नभएको, प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको लागि कुनै दलको बन्दसूचीमा नाम नरहेको, प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि अन्य कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारको लागि मनोनयन पत्र पेश नगरेको स्वघोषणा गर्नुपर्नेछ । साथै कुनै पनि सरकारी निकायलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको, सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको, संविधानको धारा २९१ बमोजिम विदेशको स्थायी आवासीय अनुमतिपत्र (डिभी÷पीआर) नलिएको भन्ने उम्मदवारले कबुल गर्नुपर्नेछ । यस्तै न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद सजाय, जरिवाना तिर्न बुझाउन बाँकी नरहेको, प्रचलित कानुनबमोजिम कुनै सरकारी निकायलाई बुझाउनुपर्ने कर, राजस्व, शुल्क, दस्तुर तिर्न बुझाउन बाँकी नरहेको, निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिबद्ध रहेको, नेपालको संविधान, कानुन र निर्वाचन ऐन, नियमभित्र रही निर्वाचनमा भाग लिन प्रतिबद्ध रहेको, आफू उम्मेदवार भएको पदमा निर्वाचित भएको अवस्थामा मनोनयन पत्र साथ सिलबन्दी रूपमा पेश गरेको सम्पत्ति विवरण निर्वाचन आयोगबाट सार्वजनिक गर्न मञ्जुरी रहेको प्रतिज्ञा पनि उम्मेदवारले गर्नुपर्नेछ । उपरोक्तानुसारको स्वःघोषणा प्रत्येक उम्मेदवारले आफ्नो मनोनयन पत्र साथ पेश गर्नुपर्ने भएकाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि यही मिति २०७९ असोज २३ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ ।
यस्ता छन् उम्मेदवारले मनोनयन पत्रसाथ संलग्न गर्नुपर्ने कागजात
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि भोलि असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम हुँदैछ । उक्त निर्वाचनका लागि यही असोज २० गतेसम्ममा सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यलय स्थापना भइसकेको छ । उक्त निर्वाचनमा भाग लिने उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा मतदाता नामावली ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४, प्रदेशसभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ र निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मनोनयन पत्रका साथ विभिन्न कागजात पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगका अनुसार, मनोनयन पत्रका साथ उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचय पत्रको प्रतिलिपि, प्रतिनिधिसभाको सदस्य उम्मेदवारको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभा सदस्य उम्मेदवारको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्नेछ । उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सासमेत संलग्न हुनुपर्ने आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलद्वारा हस्ताक्षर भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । उम्मेदवार हुने व्यक्तिले आफ्नो तर्फबाट निर्वाचन प्रतिनिधि तोकी उम्मेदवारी मनोनयन गर्ने भएमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २४ सँग सम्बन्धित अनुसूची–११ बमोजिमका प्रतिनिधि मुकरर गरेको फारम पेश गर्न पर्ने आयोगले जनाएको छ । प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयन पत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम र प्रदेशसभा सदस्यको लागि प्रदेशसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरेर विवरण भरी सहीछाप गरेको मनोनयनपत्र पेश गर्नुपर्नेछ । दलको तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र हुनुपर्नेछ तर एकल चुनाव चिह्न लिई संयुक्तरुपमा निर्वाचनमा सहभागी दलको हकमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र पेश गर्नुपर्ने प्रावधान छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि रु १० हजार र प्रदेशसभा सदस्य उम्मेदवार हुनका लागि रु पाँच हजार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर, तर महिला र दलित वा अल्पङ्ख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । आर्थिकरूपले विपन्न भएकाको हकमा सम्बन्धित स्थानीय तहले आर्थिकरुपमा विपन्न भनी सिफारिस गरेको पत्र संलग्न हुनुपर्नेछ । आयोगका अनुसार, उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ सँग सम्बन्धित अनुसूची–६ बमोजिमको स्वघोषणा पत्र पेश गर्न पर्नेछ । उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ सँग सम्बन्धित अनुसूची–९ बमोजिमको ढाँचामा आफ्नो चल, अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, शेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको समेत सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा पेश गरेको सम्पत्ति विवरण हुनुपर्नेछ । आयोगका अनुसार, उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १० सँग सम्बन्धित अनुसूची–१० बमोजिम आफू प्रचलित नियम कानुनअनुसार उम्मेदवार हुन योग्य भनी भरिएको वैयक्तिक विवरण फारमसमेत संलग्न हुनुपर्नेछ । आयोगले उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेश्की लिएको भए सो पेश्की फछ्र्योट भएको बेहोराको निस्सासमेत समावेश गर्न भनेको छ । लेखापरीक्षणबाट कुनै पनि उम्मेदवारको नाममा किटानीसाथ असुलउपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए सो बेरुजु फछ्र्योट गरेको निस्सा पनि पेश गर्नुपर्नेछ । निर्वाचन आचारसंहिता, २०७९ को अनुसूची–३ बमोजिमको प्रतिबद्धतापत्र समेत संलग्न गर्नुपर्ने आयोगका प्रवक्ता पौडेलले बताए ।
सबै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको स्थापना गरी सञ्चालनमा ल्याएको छ । आयोगले यही असोज २० गतेसम्ममा सबै क्षेत्रमा ती कार्यालय स्थापना गरिसक्ने कार्यतालिका बनाएकामा सोबमोजिम कार्य भएको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।