सोसल मिडिया
Contact Us
युनिकोड
प्युठान । प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती (नाम नखुलेको), १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हिराबहादुर थापा, चार वर्षीय सुसान थापा र २१ वर्षीय टेकी राहु मगर बेपत्ता भएका छन् । दिउँसो साढे तीन बजे घटना घटे लगत्तै सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी नायव उपरीक्षक सुवाश खड्कासहितको टोली घट्नास्थलतर्फ गएको प्रवक्ता थापा मगरले जानकारी दिए । “अत्यधिक वर्षाका कारण जताततै पहिराले सडक अवरुद्ध भएको छ, टोली बाटोमै थन्किएको छ”, उनले भने । इलाका प्रहरी कार्यालय विजुवारबाट प्रहरी निरीक्षक दिपेन्द्र वानियाको नेतृत्वमा सात जना तथा सशस्त्र प्रहरी आश्रित गुल्म विजुवारबाट प्रहरी नायव निरीक्षक ऋषिराम बस्नेतको नेतृत्वमा १० जनाको टोली घट्नास्थलमा गएको छ । पहिरो गएको ठाउँ सदरमुकामबाट २४ किलोमिटर टाढा पर्छ । “सडक खुलाउन समय लाग्ने भएकाले प्रहरी टोली पैदल नै घटनास्थलतर्फ जाँदै छ”, प्रवक्ता थापा मगरले भने ।
तनहुँमा पहिरोले दुई घरमा पूर्ण क्षति तीन दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा तनहुँको म्याग्दे–७ पयारटोलका दुई घरमा पूर्ण क्षति पुगेको छ । स्थानीय बसन्तबहादुर घर्ती र पदमबहादुर घर्ती पहिरोले क्षति पुगेको नेपाली काङ्ग्रेस म्याग्देका नेता श्रीभद्र आचार्यले जानकारी दिए । पहिरोका कारण सोही ठाउँमा बिजुलीको पोल ढलाएर थप क्षति हुने सम्भावना रहेको उनले बताए । “गाउँपालिकाभित्र बाढीपहिरोका कारण भएको क्षतिको विवरण तत्काल सङ्कलन गरी पीडितलाई राहत दिन स्थानीय, प्रदेश र सङ्घ सरकारसँग माग गर्दछौँ”, उनले भने । अविरल वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–४ मादी पुल नजिक आज सडक भासिएको छ । सडकमाथिबाट खसेको पहिरोका कारण पानी सडकमा आउँदा सडकको केही भाग भासिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी र्दिए । “पहिरो खसेपछि पानी सडकमै बग्दा सडक भासिएको हो, पानीलाई वैकल्पिक माध्यमबाट अन्यत्रै बग्ने बनाएका छौँ”, उनले भने, “भासिएको सडकको मर्मतको काम सुरु भइसकेको छ ।” वर्षाका कारण पहिरो जाँदा व्यास नगरपालिका–३ र ५ मा तीन घरमा क्षति पुगेको छ । व्यास–३ देउराली नगरको भिमसेन मन्दिर पछाडिपट्टिको ढिस्को खस्दा नयाँ बन्दै गरेको घरमा क्षति पुगेको छ । यस्तै व्यास नगरपालिका–५ मानुङकोटमा पनि पहिरोका कारण दुई घरमा क्षति पुगेको स्थानीय चुडामणि दाहालले जानकारी दिनुभयो । यसैगरी व्यास नगरपालिका–३ शान्तिनगरमा पनि पशु सेवा विज्ञ केन्द्रको पर्खाल नजिक पहिरो गएको छ । वर्षाले व्यास नगरपालिका–१ स्थित क्षेत्री समाजको भवन जाने बाटोमा क्षति पु¥याएको छ । व्यास–१ करङकाठमा बुल्दी खोला बढ्दा खोला पार गर्ने क्रममा एउटा मोटरसाइकल सहित चालकलाई बगाएको छ । चालकलाई भने शकुसल उद्धार गरिएको छ भने मोटरसाइकल फेला नपरेको प्रहरीले जनाएको छ । छिनछिनमा पहिरो खस्ने समस्याले प्रहरीलाई सास्ती गत बुधबार साँझदेखि अविरल वर्षा भइरहेको छ । वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा पटकपटक पहिरो झरिरहँदा तनहुँ प्रहरीले सास्ती खेप्नुपरेको छ । पूर्वमा आँबुखैरेनीदेखि पश्चिममा कोत्रेसम्मको करिब ७५ किलोमिटरभित्र पृथ्वीराजमार्ग क्षेत्रमा पर्दछ । अविरल वर्षाका कारण छिनछिनमा पहिरा खस्ने क्रम नरोकिएपछि कठिनाइ भोग्नुपरेको तनहुँका प्रहरी निरीक्षक राजकुमार विक बताउछन् । पहिरा पन्छाएर गाडी सञ्चालन गरेर कार्यालय आइ नपुग्दै पुनः पहिरा खसेको जानकारी आएपछि दर्गुनुपर्ने बाध्यता रहेको उनले बताए । आज बिहान जिल्लाको म्याग्दे–१ गुणादी र व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरा खस्दा राजमार्ग अवरुद्व भएपछि पहिरा पन्छाएर सवारी साधान सञ्चालन गरे लगत्तै पुनः राजमार्ग रोकिएको उनले जानकारी दिए । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ स्थित मादीनदी पुल नजिक पहिरो खस्दा अवरोध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । पानी नरोकिएका कारण पहिरा पन्छाउन पनि सास्ती हुने गरेको छ । उनले भने, “कतिखेर कहाँ पहिरा खस्छ थाहै हुँदैन ।” पहिरोका कारण सदरमुकाम दमौली–केशवटार जाने मार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउन थालिएको छ । छ घर जोखिममा अविरल वर्षाका कारण विभिन्न स्थानका छवटा घर जोखिममा परेका छन् । व्यास नगरपालिका–१ निर्मलबस्ती नजिक छाब्दीखोला नजिक पहिरा जाँदा तीन घर जोखिममा परेका छन् । पहिराका कारण छाब्दी लिफ्ट खानेपानी र निर्मल टोल विकास संस्थाको भवनसमेत उच्च जोखिममा रहेको स्थानीय अम्मर भण्डारीले जानकारी दिए । पहिराको कारण उक्त घरका मानिस सुरक्षाका लागि छिमेकीकोमा शरण लिनुपर्ने अवस्था छ । त्यसैगरी व्यास नगरपालिका–३ देउराली नगरमा एक घरमा पहिराले क्षति बनाउनुका साथै व्यास–५ मानुङ्गमा दुई घरमा क्षति पु¥याएको छ । जिल्लाको भीमाद हुँदै ऋषिङ्ग, नवलपुर, पाल्पा जोड्ने श्रृङ्ग सडक मार्गमा पहिरो जाँदा पूर्णरुपमा अवरुद्ध भएको छ । जिल्लाको घिरिङ गाउँपालिका–५ देउरालीमा पहिरो गएका कारण सवारी आवागमन रोकिएको घिरिङ गाउँपालिका प्रेस सल्लाहकार अञ्जान परियारले जानकारी दिए । सडक विस्तार नगरेसम्म ठूला कुनै पनि सवारी साधन चल्न नसक्ने अवस्था देखिएको उनले बताए ।
खानेपानीको समस्या तीन दिनदेखि अविरलरुपमा परेको वर्षाका कारण खानेपानीको समस्या पनि सर्वसाधारणले उत्तिकै भोग्नुपरेको छ । व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानीको पाइप पहिराले बगाएपछि खानेपानीको समस्या भएको हो । खानेपानीको पाइप पहिराले बगाएपछि धारामा पानी नआउँदा कहाँको पानी खाने भन्ने चिन्ता वडाबासीलाई रहेको छ । तीन दिनदेखि धारमा पानी नआएको स्थानीय कबिता कोइरालाले जानकारी दिनुभयो । वडामा रहेका करिब तीन हजार उपभोक्ताले उक्त खानेपानी समितिले वितरण गर्दै आएको पानी उपभोग गर्दै आएका थिए ।
जोखिममा परेका ३५ घर परिवारलाई सेनाद्वारा सुरक्षित स्थानान्तरण नेपाली सेनाले केही दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको बहाव बढ्न गई डुबानमा परी उच्च जोखिममा रहेका ३५ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । दाङको लमही नगरपालिका–८ सतवरियास्थित धनपुर्वा, दुगुर्वा र बग्रहवा तथा राप्ती गाउँपालिकाको सिसहनिया र अर्नहवा गाउँका डुबानमा परेका करिब दुई सय घरमध्ये उच्च जोखिममा रहेका ३५ घर परिवारलाई आज उद्धार गरी सुरक्षित स्थानमा लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले हाल उक्त क्षेत्रमा उद्धार कार्य जारी राखेको छ । पहिरोका कारण अवरुद्ध रहेको घोराही–लमही सडकखण्ड खुलाउने प्रयाससमेत भइरहेको सेनाले जानकारी दिएको छ । अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परी हालसम्म कुनै पनि मानवीय क्षति भने नभएको बताइएको छ ।
गुल्मीमा छ घर परिवारका २० जना विस्थापित बाढी तथा पहिरोका कारण गुल्मीमा शुक्रबार छ घर परिवारका २० जना व्यक्ति विस्थापित बनेका छन् । विस्थापितले यतिबेला आफन्त र छिमेकीको घरमा आश्रय लिन बाध्य छन् । पहिरोले उनीहरु सबैजनाको घर तथा गोठमा क्षति पु¥याएको छ । विस्थापित हुने परिवारमा गुल्मीदरबार र चन्द्रकोट गाउँपालिकाका बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरोका कारण गुल्मीदरबार गाउँपालिका–७ निवासी मानबहादुर विकको गोठ पुरिँदा भैँसी र बाख्रा मरेसँगै विकका चार जनाको परिवार विस्थापित बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए । त्यसैगरी पहिरोले गुल्मीदरबार–७ का केरसिंह कामी, सिता विक र चन्द्रकोट गाउँपालिका–४ डम्बरबहादुर सुवेदी, शान्ता नेपाली र विवा नेपालीको घर उच्च जोखिममा परेको छ । विस्थापित परिवारले तत्कालका लागि आफन्त र छिमेकीको घरमा आश्रय लिएको प्रहरीले जनाएको छ । बाढी र पहिरोको जोखिमका कारण विस्थापित बनेकाहरूलाई स्थानीय पालिकाको तर्फबाट पनि समन्वय गरी उनीहरूको व्यवस्थापनका लागि पहल गरिरहेको गुल्मी दरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले बताए । विस्थापितहरूलाई सुरक्षित आवासको व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय भइरहेको जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । लगातारको वर्षाका कारण जिल्लामा विस्थापित हुनेको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीको आकलन छ ।