सोसल मिडिया
Contact Us
युनिकोड
खोटाङ । भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । गए राति परेको वर्षाका कारण बस्नेतको ढुङ्गामाटो प्रयोग गरेर बनाइएको तीनतले घर भत्किएको हो । घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको छ । वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरमा समेत क्षति पुगेको छ । सोही ठाउँका नारायण राईको घरमा भलपानी पस्दा बस्न नमिल्ने भएको छ । वर्षापछि वडाका विभिन्न ठाउँमा पहिरो खस्दा ठूलो क्षति पुगेको दिक्तेलका वडाध्यक्ष नवराज राईले बताए । पहिराले कतिपय स्थानीयको खोर पुरिँदा बाख्रासमेत मरेका छन् । “पीडित राहतका लागि फोन गर्न थालेका छन्”, उनले भने । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जिल्लामा मानवीय क्षति नभएको जानकारी दिनुभयो । वर्षाका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध छन् । दसँै, तिहार र छठ मनाउन विभिन्न ठाउँबाट घर फर्किएका जिल्लावासी पैदलयात्रा गर्न बाध्य छन् ।
पहिराले गल्छी–देवीघाट सडकखण्ड अवरुद्ध
‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ लामासोतीमा बिहीबार अपराह्न गएको सुक्खा पहिराले सडक अवरुद्ध भएको छ । नुवाकोट र रसुवावासीलाई अन्य जिल्लासँग जोड्ने मुख्य राजमार्गमा पहिरो जाँदा आवागमन पूर्णरूपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधि खकुरेलले जानकारी दिए । चारपाङ्ग्रे सवारीसाधन आउजाउ गराउन वैकल्पिक सडक नहुँदा काठमाडाँै पुगेर टोखा छहरेको सडक हुँदै आउन उनले आग्रह गरे । ‘गल्छी–देवीघाट सडकखण्ड’ अन्तर्गत पर्ने बुधसिंहघाटस्थित लामासोतीमा गत वर्ष ठूलोभिर काटेर ‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गतको दायाँबायाँ ११ मिटर सडक निर्माण गरिएको थियो । उक्त स्थानमा करिब पाँच सय मिटरमाथिबाट खसेको सुक्खा पहिराले दुई सय मिटर सडक पूर्णरूपमा अवरुद्ध बनाएको छ । सडक खुलाउन ‘गल्छी–रसुवागढी सडक योजना’को कार्यालय र डिभिजन सडक नुवाकोटले प्रयास गरिरहेका छन् । ठूलो भिरमा माथिबाट थप ढुङ्गासहितको माटो खसिरहेकाले सडक खुलाउन चुनौतीपूर्ण बनेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी योजना’ कार्यालयका सूचना अधिकारी सन्तराम पाण्डेले जानकारी दिए । पहिरो गएको स्थानमा नुवाकोबाट धादिङ लगिएको विद्युतीय प्रसारण लाइन र केही खम्बामा समेत क्षति पुगेको छ ।
काभ्रेपलाञ्चोकमा आजदेखि टिपर चलाउन निषेध
दसैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालन निषेध गरेको छ । कार्यालयले अरनिको र विपी राजमार्गमा टिपर सञ्चालन गर्न निषेध गर्दै अन्य सवारीसाधनका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो । यातायात सेवा समितिका पदाधिकारीसँगको छलफलमा दुई राजमार्गमा आजदेखि असोज २४ गतेसम्म टिपर सञ्चालन गर्न नपाउने तथा सार्वजनिक सवारी साधनका लागि टाइम कार्ड लागू गरी सञ्चालन गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए । उनका अनुसार केन्द्रीय राजधानी काठमाडौँबाट दसैँ मनाउन काभ्रेपलाञ्चोकको रुट भएर मध्यपूर्व हुँदै पूर्वी जिल्ला जाने आउने यात्रुहरूको चापलाई व्यवस्थापन गर्न उक्त निर्णय गरिएको हो ।
दुई राजमार्गमा दैनिक दुई हजार पाँच सय टिपरले निर्माण सामग्री ढुवानी गर्दै आएका छन् । “अन्य सार्वजनिक सवारीमा दुर्घटना न्यूनीकरणका टाइम कार्ड लागू गरेका हौँ”, उनले भने । कार्यालयका अनुसार टाइम कार्ड लागु गरिएका रुटमा विपी राजमार्गअन्तर्गत मङ्गलटार–भकुण्डे १८ किमी दूरीका लागि ४० मिनेट, भकुण्डेबेँसी–काभ्रेभञ्ज्याङ १३ किमी दूरीका लागि ३५ मिनेट, काभ्रेभन्ज्याङ–भकुण्डेबेँसीका लागि ३५ मिनेट तथा अरनिको राजमार्गको धुलिखेल–पाँचखाल १५ किमीका लागि ३० मिनेट, पाँचखाल–दोलालघाटका लागि १० किमी दूरीमा २० मिनेट समय निर्धारण गरिएको छ । अरनिको राजमार्गभन्दा विपी राजमार्गमा फूलपाती, अष्टमी र नवमीका दिन धेरै सवारीको चाप हुने गरेको छ । यसपालि दुवै राजमार्गमा सवारी चाप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासन र यातायात व्यवसायीले सहजरूपमा यात्रुलाई आउनेजाने वातावरण मिलाउन तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बिहीबार छलफल गरेका हुन् । छलफलमा सार्वजनिक यातायातको भाडादर, यात्रुसिट क्षमताका आधारमा अनलाइन टिकेटिङ र कोभिड–१९ को मापदण्ड पालना गराउन सचेत गराउनेसमेत निर्णय भएको जनाइएको छ । यस्तै सार्वजनिक यातायातमा मास्क लगाएका यात्रुलाई मात्र चढाउने, सवारीसाधनमा स्यानिटाइजर अनिवार्य राख्ने, यात्रुलाई सकेसम्म सामाजिक दूरी कायम गर्न सुरुमै जानकारी गराउने, सवारीसाधनको जाँच गरेरमात्रै चलाउने तथा त्यसको नियमित अनुगमन प्रहरी र ट्राफिक प्रहरीले गर्ने निर्णय भएको छ । सार्वजनिक सवारीले यात्रुलाई भाडामा अनियमितता गरेमा वा अन्य केही समस्या भएमा जिल्लाको नौ स्थानमा स्थापित यात्रु सहायताकक्ष र प्रहरीको हटलाइन नम्बरमा जानकारी गराउन सक्ने व्यवस्था मिलाइएको छ ।–रासस