सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यस पर्वले असत्यमाथि सत्यको विजयको सन्देश दिने उल्लेख गरेका छन् । पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गरेको तथा भगवान् रामले रावणको अन्त्य गरेको दिनका रूपमा विजयादशमी मनाइने उनले बताएका छन् । प्रधानमन्त्री शाहले विजयादशमीका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्ममा विजय प्राप्त गर्न प्रेरणा दिने बताएका छन् । टाढा रहेका मान्यजनलाई समेत भेटेर आशीर्वाद लिने यस परम्पराले पारिवारिक सम्बन्ध र आत्मीयतालाई थप सुदृढ बनाउने उनको भनाइ छ । उनले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरित गर्ने उल्लेख गरेका छन् । साथै, भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गरी प्रत्येक नागरिकलाई सरकार आफ्नो साथमा रहेको अनुभूति गराउन सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन् । यस्ता विकृति हटाउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले परिवर्तनका लागि सोचसँगै व्यवहारमा पनि परिवर्तन गर्नुपर्ने बताएका छन् । विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने तथा लामो समयदेखि टाढिएका साथीभाइ र आफन्तसँग आत्मीयता साटासाट गर्ने अवसर प्रदान गर्ने उनले बताएका छन्। प्रधानमन्त्री शाहले सबैलाई आ–आफ्नो क्षमता र परिस्थितिअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आग्रह गरेका छन्।