सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर। अपाङ्गता भएका महिलाहरुको अधिकारका सम्बन्धमा संयुक्त राष्ट्रसंघीय महासन्धि र दिगो विकास लक्ष्य मा उल्लेखित प्रावधान तथा अधिकारहरुको सन्दर्भमा जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम दक्षिण ललितपुरको महाङ्काल गाउँपालिका ३ गोटिखेलमा सम्पन्न भएको छ।
नेत्रहीन महिला संघ नेपालको आयोजनामा आयोजित एक दिवसीय अभिमिखीकरण कार्यक्रममा महाङ्काल गाउँपालिका उपाध्यक्ष डोल्मामाया गोले, वडाध्यक्षहरु जोनी न्यासुर, मनोज कुमार पराजुली, भूमिनन्द घिमिरे, नेत्रहीन महिला संघकी उपाध्यक्ष चिरीमाया महर्जन, महासचिव अनिता सिग्देल, नेपाल सरकारकी उपसचिव निरा अधिकारी एबम अन्य स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो।
२०६७ सालदेखि विशेष गरी दृष्टिविहीन महिलाहरुको हक अधिकार सुनिश्चितताको साथै क्षमता विकास तालिम, अन्तरक्रिया कार्यक्रम, स्वरोजगार, पैरवी तथा वकालतका कार्यक्रम संचालन गर्दै आएको नेत्रहीन महिला संघ नेपालले लुम्बिनी प्रदेशको रुपन्देही स्थित तिलोत्तमा नगरपालिका, बागमती प्रदेशको रत्ननगर नगरपालिका चितवन र ललितपुरको महाङ्काल गाउँपालिकामा यस किसिमको अभिमुखीकरण कार्यक्रम संचालन गरिएको संघकी महासचिव अनिता सिग्देलले जानकारी दिएकी छिन्। ु अझै पनि नेपालका ८० प्रतिशत अपाङ्गहरु गरिबी, अशिक्षा र बेरोजगारीको चपेटामा रहेका छन्, उनले भनिन्, कतिपय सन्दर्भमा अपाङ्गहरुको आधारभूत आवश्यकता नै पूरा हुन् सकेका छैनन्।ु अपाङ्ग तथा दृष्टिविहीनहरुको वर्तमान अवस्थाबारे आफ्नो प्रस्तुति दिँदै उनले अपांगहरुलाई अझै पनि समाजमा असक्षमतासंग दाँजेर हेर्ने, नकारात्मक व्यवहार गर्ने र समाज र पारिवारिक बोझका कारण अपाङ्गहरु समाजमा बाहिर निस्कन नसकेको उनको भनाई थियो।
यसैगरी अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन, प्रावधानहरु,मौलिक हक,शिक्षाको अधिकार,सामाजिक न्यायको हक,अपाङ्गता अधिकार ऐन लगायतको विषयमा नेपाल सरकारको महिला तथा बालबालिका शाखामा कार्यरत उपसचिव निरा अधिकारीले प्रस्तुतीकरण प्रस्तुत गरेकी थिईन । महाङ्काल गाउँपालिका गोटिखेलमै जन्मिएकी अधिकारी आफैंमा एक दृष्टिविहीन हुन। संघकी उपाध्यक्ष चिरीमाया महर्जनले संघीयताको मर्मअनुरुप स्थानीय सरकारले नै आफ्ना नीति तथा कार्यक्रमहरुमा योजना बनाई अपाङ्गता तथा दृष्टिविहीन महिलाहरुको लागि कार्यक्रमहरु संचालन गर्नुपर्ने तर्क व्यक्त गरिन।
कार्यक्रममा बोल्दै महाङ्काल गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेले दृष्टिविहीन भएर पनि समाज र राष्ट्रमा उदाहरणीय बनेकी निरा अधिकारी महाङ्काल गाउँपालिकाको गौरव भएको र सबैले उहाँबाट पाठ सिक्नुपर्ने विचार व्यक्त गरिन । अपाङ्गता सम्बन्धी शिक्षा हरेक ठाउँमा लागु गरिनुपर्ने भन्दै उनले भनिन्,ुगर्भवती र सुत्केरी अवस्थामा महिलाहरुको उचित हेरचाह र खानपानको अभावमा जन्मिएका धेरै बच्चाहरु पछि अपाङ्ग हुने सम्भावना हुन्छ, तसर्थ ती महिलाहरुलाई लक्षित गरेर पनि अपाङ्गता सचेतना शिक्षाहरु लागु गर्नुपर्छ। ु गाउँपालिका भित्र पनि विभिन्न प्रकृतिका अपाङ्गहरु रहेको भन्दै उनले उनीहरुको हक अधिकारको सुनिश्चितता र समाजमा पुनर्स्थापनाका लागि गाउँपालिका पछि नहट्ने बताईन। महाङ्काल ३ का वडाध्यक्ष मनोज कुमार पराजुलीले समाजमा दृष्टिविहीन र अपाङ्गहरुको सीप र क्षमता सबैको लागि अनुकरणीय र उदाहरणीय हुने भन्दै अपाङ्गहरुप्रति समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने बताए। महाङ्काल गाउँपालिकामा अपाङ्ग परिचयपत्र वितरण समिति बनिसकेको र त्यसको लागि गाउँपालिका स्तरीय मानिखेल अस्पतालका डाक्टरको सिफारिसमा वितरण गरिने उनको भनाई थियो।
यसैगरी महाङ्काल ५ का वडाध्यक्ष भूमिनन्द घिमिरेले गाउँपालिकाले अपाङ्ग, दृष्टिविहीन, महिला, बालबालिका सबैको लागि बजेट र कार्यक्रमहरु लागु गर्ने बताए। देशका कतिपय शारिरीक रुपमा सबल जनप्रतिनिधिहरु नै बोल्न र शुद्ध लेख्न नजान्ने तर अपाङ्गहरु आफ्नो क्षेत्रमा पोख्त हुने उनको दावी छ। वडा नं २ वडाध्यक्ष जोनी कुमार न्यासुरले साहित्यकार झमक घिमिरेको उदाहरण दिँदै शारिरीक दुर्वलतालाई चुनौती दिँदै आफ्नो बौद्धिक सबलता प्रस्तुत गर्ने घिमिरेबाट सबैले पाठ सिक्नुपर्ने बताए।