प्रधानमन्त्री देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस

बिहीबार, भदौ १६, २०७९
Global Ime Bank

काठमाडौँ ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फका लागि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् ।  कांग्रेस डडेल्धुरा क्षेत्रीय समितिको सर्वसम्मत निर्णयबाट उहाँ आज प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका हुन् । यसैगरी क्षेत्रीय समितिले प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ (क) बाट कांग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँद र (ख) बाट सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरालाई सिफारिस गरेको छ ।

आरजु कैलाली ५ बाट सिफारिस

नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवा कैलाली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ बाट पार्टीको उम्मेदवार सिफारिस भएकी छन् ।
कांग्रेसको क्षेत्रीय कार्यसमितिको आज अपराह्न बसेको बैठकले डा राणालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको क्षेत्रीय सभापति भीम पडालले जानकारी दिए ।
यो क्षेत्रबाट युवा नेता क्षितिज भण्डारी पनि आकांक्षी रहेकामा उनको पक्षमा कार्यसमितिमा सहमति बन्न नसकेको पडालले बताए । कांग्रेस नेत्री राणाले निर्वाचन क्षेत्र नं ५ बाट पाँच वर्षअघि भएको निर्वाचनमा समेत प्रतिनिधि सभासदस्य पदका लागि प्रतिस्पर्धा गरेकी थिइन् ।
तत्कालीन नेकपा (एमाले) का प्रत्यासी नारदमुनी रानासँग उनी झण्डै पाँच हजार मतान्तरले पराजित भएकी थिइन् । राना नेकपा एमालेको तर्फबाट आउने निर्वाचनमा पनि उम्मेदवार हुने सो पार्टीका युवा नेता चूडामणि भट्टले बताए ।  
निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनमा कमलबहादुर शाह, मोहनसिं राठौर, हेमबहादुर रावल, धर्मराज न्यौपाने, टीका चौधरीसहित सात जनालाई सिफारिस गरिएको प्रदेश कार्यसमिति सभापति भीम जैशीले बताए ।  यो क्षेत्रबाट एमालेका सूर्यबहादुर थापा, कमला ओली र झपट रावलमध्ये एक जनाले टिकट पाउने जनाइएको छ ।
यसअघिको निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन नेकपा एमालेका प्रत्यासी झपट रावलले कांग्रेसका प्रत्यासी मोहनसिंह राठौरलाई झण्डै दुई हजार मतान्तरले पराजित गरेका थिए ।
यस्तै कैलालीको निर्वाचन क्षेत्र नं ४ बाट कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, पूर्वकेन्द्रीय सदस्य नेता सुनिलकुमार भण्डारी, कांग्रेसका पूर्वजिल्ला उपसभापति प्रकाश बम, डा लक्ष्मीराज पाठक, टेकराज जोशीलगायतलाई सिफारिस गरिएको छ ।
यसअघिको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका प्रत्यासी लेखराज भट्टले कांग्रेसका प्रत्यासी सुनिलकुमार भण्डारीलाई झण्डै नौ हजार मतान्तरले पराजित गरेका थिए । भट्ट नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  २१:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार