सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकामा पार्टीको अवस्था सुदृढीकरण गर्न विशेष नीतिगत र संरचनागत व्यवस्था गरिने बताएका छन् । माओवादीको उपत्यका विशेष प्रदेश समितिको आयोजनामा यहाँ आयोजित वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रममा उहाँले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा पार्टी विस्तार गर्न नयाँ अभियान सञ्चालन गरिने बताए । “काठमाडौँ, भक्तपुर र ललितपुरमा हाम्रो स्थिति नाजुक छ, बागमती प्रदेशमा होइन, बागमतीमा माओवादी कम्युनिष्ट आन्दोलनको पहिलो शक्ति हो”, उनले भने, “उपत्यकाको सङ्गठनको संरचना र केही नीतिगत विषयमा नयाँ ढङ्गबाट नीतिगत र संरचनागतरूपमा नयाँ पार्टी बनाउनुपर्ने भएको छ ।” नीतिगत र संरचनागतरूपले नयाँ पार्टी बनाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले गैरभौगोलिक प्रदेशका नेता तथा कार्यकर्तालाई उपत्यकामा पार्टी विस्तार अभियानमा संलग्न गराइने बताए । उपत्यकामा केही कमजोर देखिए पनि बागमती प्रदेशमा माओवादीको उपस्थिति दरिलो रहेको जिकिर गर्दै उहाँले छिट्टै उपत्यकामा पनि माओवादी वामपन्थीतर्फ पहिलो शक्ति हुने दाबी गरे । “पार्टीको शक्ति विकेन्द्रित हुँदा उपत्यकामा कमजोर देखिएको हो”, उनले भने, “विशेष प्रदेश, सम्पर्क प्रदेश समितिलाई उपत्यकामा केन्द्रित गर्नुपर्छ ।” राजधानीमा सङ¬्गठन संरचना पार्टी केन्द्रले नेतृत्व गर्ने र सम्पूर्ण शक्ति केन्द्रित गर्ने नीति विश्वव्यापीरूपमा चलिआएको जनाउँदै उनले माओवादीले सम्पूर्ण शक्ति विकेन्द्रित गर्दा नतिजा आफ्नो पक्षमा नदेखिएको बताए । “नीतिगत रूपमा राजधानीका हकमा विशेष ढङ्गले काम गर्ने सोचेका छौँ”, अध्यक्ष दाहालले भने, “संरचनाको हिसाबले पनि विशेष, सम्पर्क समितिलाई राजधानीमा केन्द्रित गरिन्छ । पदाधिकारीको नेतृत्वमा नै उपत्यकामा पार्टीको संरचना बनाइन्छ ।” उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नयाँ र जनताले रुचाएका व्यक्तिलाई उम्मेदवार बनाइने बताए । पार्टी र जनताले सोच्दै नसोचेको व्यक्तिलाई पार्टीले उम्मेदवार बनाउने उल्लेख गर्दै उनले भने, “नयाँ व्यक्तिलाई उम्मेदवार बनाउँदा जनता तथा नेता कार्यकर्ताले पनि माओवादीले राम्रो ग¥यो भन्ने ढङ््गबाट नसोचेका उम्मेदवारको सिफारिस गरिन्छ ।”
माओवादी केन्द्र गोरखाको संयोजकमा भट्ट
माओवादी केन्द्र गोरखाको संयोजक विष्णुप्रसाद भट्ट चयन भएका छन् । पार्टीको गण्डकी प्रदेश समितिको पाँचाँै पूर्ण बैठकले भट्टलाई जिल्ला संयोजकमा चयन गरेको पार्टीका वैकल्पिक केन्द्रीय सदस्य लेखबहादुर थापामगरले जानकारी दिए । गण्डकी प्रदेश समितिको सदस्य रहेका भट्ट यसअघि पार्टीको गोरखा जिल्ला समितिको उपाध्यक्ष थिए । जिल्ला समन्वय समितिको सचिवमा दीपक तिमेल्सिना (साकार) नाम प्रस्ताव गरिएको उनले जानकारी दिए । उक्त प्रस्तावलाई जिल्ला समन्वय समितिको बैठकबाट अनुमोदन गरिने केन्द्रीय सदस्य थापामगरले बताए । बैठकले गोरखा क्षेत्र नम्बर १ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इन्चार्जमा अमर तुम र प्रदेशसभाअन्तर्गत १ (क) को इन्चार्जमा लेखबहादुर थापा, १ (ख) को इन्चार्जमा सुशीला सिंखडालाई चयन गरेको छ । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ को इन्चार्जमा परशुराम रम्तेल, प्रदेशसभा २ (क) को इन्चार्जमा कमला नहर्की, सहइन्चार्जमा पम्फा बसेल र २ (ख) को इन्चार्जमा दीपक देवकोटा र सहइन्चार्जमा भगवती तिवारीलाई चयन गरिएको केन्द्रीय सदस्य थापाले जानकारी दिए । गोरखा नगरपालिकाको इञ्चार्जमा धना तमु, पालुङटार नगरपालिकाको इञ्चार्जमा विवश चिन्तन, गण्डकी गाउँपालिकाको इञ्चार्जमा दीपक तिमिल्सिना, सहिद लखन थापा गाउँपालिकाको इञ्चार्जमा कृष्णबहादुर चेपाङ, भिमसेन थापा गाउँपालिकाको इञ्चार्जमा लोकप्रसाद बन्जरा (अक्कल) लाई चयन गरेको छ । सिरानचोक गाउँपालिकाको इन्चार्जमा पूर्णकुमारी कँडेल, आरुघाट गाउँपालिकाको इन्चार्जमा श्यामकुमार श्रेष्ठलाई चयन गरिएको पार्टीको जिल्ला संयोजक विष्णु भट्टले जानकारी दिए । धार्चे गाउँपालिकाको इन्चार्जमा छमबहादुर गुरुङ, चुमनुब्री गाउँपालिकाको इन्चार्जमा निमा लामा, बारपाक सुलिकोटको इन्चार्जमा धामी बराम, अजिरकोट गाउँपालिकाको इन्चार्जमा अनिता भुजेललाई चयन गरिएको उनले जानकारी दिए ।–रासस