नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु 

जनतासँगको सम्बन्ध बलियो बनाउने नेकपाको रणनीति
शनिबार, कात्तिक ७, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन गरिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले अभियानको उद्घाटन गरेका हुन् । महाधिवेशनको तयारी गर्दै जनतासँगको सम्बन्ध बलियो बनाउनको अभियान गर्न लागेको प्रवक्ता प्रवक्ता प्रकाश ज्वालाले बताए । अभियानका क्रममा सरकारका जनविरोधी कामको भण्डाफोर गर्ने समेत बताए । उनका अनुसार अभियान आजदेखि मंसिर २५ गतेसम्म चल्नेछ। अभियानसँगै आगामी स्थानीय तह निर्वाचन अगाडि वडा र पालिका अधिवेशन पनि गर्ने प्रवक्ता ज्वालाले बताए।

१९ बुँदामा अभियानको औचित्य 

१. नेपालको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान तथा राष्ट्रिय हितको संरक्षण र सुदृढीकरणका लागि जनजागरण र जनसहभागिता सिर्जना गर्ने ।

२.लोकतान्त्रिक अधिकार, गणतन्त्र, संविधान, विधिको शासन, सुशासन, सामाजिक न्याय तथा जनजीविकाका सवालमाजनमत निर्माण गर्ने ।

३. महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी, बेथिति, असुरक्षा तथा जनविरोधी गतिविधिका विरुद्ध जनताको आवाजलाई संगठित गर्ने ।

४. राष्ट्रिय हित, स्वतन्त्र परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा तथा बाह्य हस्तक्षेप र अनुचित चलखेलका विषयमा जनतालाई सचेत बनाउने ।

५. प्राकृतिक विपद्, बाढी, पहिरो, डुबान तथा अन्य विपद् बाट प्रभावित जनताको उद्धार, राहत, क्षतिपूर्ति तथा पुनःस्थापनाका लागि प्रभावकारी पहल गर्ने ।

६. पार्टीका सम्पूर्ण सदस्यको सदस्यता नवीकरण गरी सदस्यता अभिलेखलाई अद्यावधिक र व्यवस्थित बनाउने ।

७. नयाँ सदस्यता विस्तारका सम्भावित क्षेत्र पहिचान गरी योग्य, प्रतिबद्ध र पार्टीको नीति तथा विधानप्रति प्रतिबद्ध व्यक्तिलाई पार्टीमा संगठित गर्ने ।

८. पार्टी तथा जनवर्गीय सङ्गठनका बाँकी संगठनात्मक समायोजन सम्पन्न गरी सबै तहका सङ्गठनलाई व्यवस्थित, सक्रिय, जिम्मेवार र परिणाममुखी बनाउने ।

९. टोल तथा बस्तीसम्म राजनीतिक–वैचारिक प्रशिक्षण र जनसम्बन्ध विस्तार गर्ने ।

१०. आगामी महाधिवेशनका लागि पार्टी सदस्य, शुभेच्छुक तथा जनताबाट राजनीतिक, वैचारिक, संगठनात्मक, आर्थिक तथा कार्यशैलीसम्बन्धी सुझाव सङ्कलन गर्ने ।

११. पार्टीभित्र जिम्मेवारी निर्धारण, कार्यसम्पादन, अनुगमन, मूल्याङ्कन, प्रोत्साहन तथा सुधारको व्यवस्थित प्रणाली विकास गर्ने ।

१२. बाँकी रहेका जिल्ला, पालिका तथा वडा तहमा पार्टी कार्यालय स्थापना गरी सङ्गठनको स्थायी कार्यसम्पादन संरचना निर्माण गर्ने ।

१३. वडा–पालिका–जिल्ला–प्रदेश–केन्द्रबीच नियमित, संस्थागत र लिखित रिपोर्टिङ प्रणाली लागू गर्ने ।

१४. पार्टीको प्रचार, प्रकाशन तथा डिजिटल सञ्चार प्रणालीलाई प्रभावकारी, तथ्यमा आधारित, व्यवस्थित र आधुनिक बनाउने ।

१५. पार्टीभित्र महिला, युवा, विद्यार्थी, श्रमिक, किसान, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका तथा विभिन्न सामाजिक समुदायको अर्थपूर्ण सहभागिता र नेतृत्व विकासलाई प्रोत्साहन गर्ने ।

१६. देशभक्त, लोकतान्त्रिक, वामपन्थी, सामाजिक अभियन्ता, नागरिक समाज, बुद्धिजीवी तथा जनप्रतिनिधिहरूसँग साझा जनसरोकारका विषयमा संवाद, सहकार्य र समन्वयको वातावरण निर्माण गर्ने ।

१७. स्थानीय तहदेखि केन्द्रसम्मको समग्र राजनीतिक परिस्थिति तथा विभिन्न राजनीतिक दल एवं राजनीतिक शक्तिहरूको अवस्था, भूमिका, प्रभाव र जनआधारको तथ्यगत अध्ययन गर्ने तथा आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा उनीहरूको सम्भावित भूमिका, स्थिति र प्रभावको वस्तुगत विश्लेषण गरी आवश्यक रणनीतिक आधार तयार गर्ने ।

१८. पार्टीको राजनीतिक कार्ययोजना, विचार र राजनीतिक कार्यक्रमवारे स्पष्ट पार्ने ।

१९. आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनका लागि आवश्यक तयारी गर्ने ।

यस्तो छ अभियानको अपिल 

राष्ट्रिय जागरण अभियानमा सहभागीताका लागि नेपाली कम्युनिष्ट पार्टीको अपिल
आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइ !
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट यो अपिल जारी गरिरहँदा हाम्रो देश जटिल राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको छ । ठूलो आशा र अपेक्षाका साथ गठन भएको दुईतिहाइको सरकारबाट जनताले अपेक्षा गरेअनुरूप परिणाम प्राप्त गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढिरहेको छ । महँगीले जनजीवन कष्टकर बनेको छ, बेरोजगारी र युवा पलायन बढिरहेको छ। किसान, मजदुर, सबै उद्यमी र व्यवसायीले अनेकौँ कठिनाइ भोगिरहेका छन्। जनजीविकाका आधारभूत प्रश्नहरू झन् जटिल बन्दै गएका छन्।
अर्कोतर्फ, हाम्रो राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग सम्बन्धित चुनौती तथा भूराजनीतिक चलखेलप्रति गम्भीरतापूर्वक सचेत हुनुपर्ने अवस्था छ । अभिव्यक्ति स्वतन्त्रताका लागि भएका आन्दोलनको जगमा गठन भएको सरकारबाटै फरक मतप्रति असहिष्णु व्यवहार देखाउने, बोल्ने र प्रश्न गर्ने जनताको स्वतन्त्रतामाथि रोक लगाउने, लोकतान्त्रिक संस्था, ट्रेड यूनियन, विद्यार्थी संगठन, कर्मचारीतन्त्र, निजि क्षेत्र र नागरिक अधिकारमाथि हस्तक्षेप तथा भय र त्रासको वातावरण सिर्जना हुने प्रवृत्ति देखाइरहेको छ । नयाँ र पुरानाको कृत्रिम विभाजनबाट सामाजिक घृणा बढाउने र नागरिकका राजनीतिक अधिकार सङ्कुुचित गर्ने प्रवृत्तिले लोकतन्त्र, विधिको शासन र नागरिक स्वतन्त्रतामाथि प्रश्न उठाएको छ । यसले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिकता, समावेशिता, धर्मनिरपेक्षता तथा उपरोक्त ऐतिहासिक उपलब्धिहरुलाई संस्थागत गर्न बनेको संविधानमाथि समेत खतरा उत्पन्न भएको छ। 
यस्तो परिस्थितिमा नेपाली कम्युनिष्ट पार्टीले आफ्नो ऐतिहासिक जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात् गरेको छ। शान्ति प्रक्रिया, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा राष्ट्रिय एकता र लोकतान्त्रिक निकासका लागि पार्टीले निर्वाह गरेका भूमिकाको समीक्षा गर्दै हामी विगतका उपलब्धिप्रति गर्व गर्छौँ। साथै, आफ्ना विगतका कामहरुको इमानदारीपूर्वक समीक्षा गरी आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा अझ बलियो बनाउनु हाम्रो दायित्व हो। सरकारमा रहँदा हाम्रो तर्फबाट सुशासन, सामाजिक न्याय, समृद्धि र सन्तुलित परराष्ट्र सम्बन्धका पक्षमा अघि बढाइएका कामलाई निरन्तरता दिँदै जनताप्रति थप उत्तरदायी बन्न आवश्यक छ भन्ने कुरामा जोड दिन चाहन्छौं। 
यसअघि विभिन्न जनअभियानमार्फत् हामीले विभिन्न भूगोल, समुदाय र जनतासँग प्रत्यक्ष संवाद गर्ने प्रयास गरेका थियौँ। ती अनुभवबाट सिक्दै अहिलेको बदलिँदो परिस्थितिमा जनतासँगको सम्बन्धलाई अझ व्यापक, व्यवस्थित र परिणाममुखी बनाउनु आवश्यक भएको छ। कम्युनिष्ट पार्टीको आधार किसान, मजदुर, श्रमजीवी, गरिब तथा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध कमजोर हुँदै गएको र जनमुखीभन्दा नेतामुखी तथा गाउँमुखीभन्दा केन्द्रमुखी प्रवृत्ति बढेको यथार्थलाई पनि हामीले स्वीकार गर्नुपर्छ। जनताको जीवन र अपेक्षासँग नजोडिएको राजनीति दिगो हुन सक्दैन भन्ने कुरा आत्मसात गर्नु जरुरी छ।
यिनै आवश्यकता र जिम्मेवारीबोधका साथ नेपाली कम्युनिष्ट पार्टीले कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । यो अभियान संगठन विस्तार र सुदृढीकरणका साथै राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, जनजीविका सम्बन्धी समस्या समाधान, पार्टीको रूपान्तरण तथा समाजवाद निर्माणको आधार तयार पार्ने उद्देश्यसहित सञ्चालन गरिँदैछ ।
हामी अभियानमार्फत् पार्टीका केन्द्रीय नेताहरूको नेतृत्वमा गाउँ, वडा र तपाईंहरूकै टोलसम्म आउँदैछौँ । किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसङ्ख्यक समुदाय, फरक क्षमता भएका नागरिक, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवी, शिक्षक, कर्मचारी, उद्यमी तथा व्यवसायीसँग प्रत्यक्ष संवाद गर्नेछौँ। जनताका समस्या, गुनासा, सुझाव र आलोचना सुन्नेछौँ। महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुम्बासी र श्रमिकका समस्या तथा वैदेशिक रोजगारीसँग सम्बन्धित कठिनाइबारे तथ्य र अनुभव सङ्कलन गर्नेछौँ।
यसैगरी, देशका बिभिन्न भागमा बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ। साथै, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षति तथा बेपत्ता नागरिकको खोज, उद्धार र राहत कार्यमा देखिएको लापरबाहीप्रति गम्भीर आपत्ति व्यक्त गर्दछौं । विपद्को समयमा नागरिकको जीवनरक्षा गर्नु राज्यको पहिलो र प्रमुख दायित्व हो । त्यसैले, बेपत्ता नागरिकको खोज तथा उद्धारमा कुनै पनि प्रकारको ढिलासुस्ती नगरी उपलब्ध सम्पूर्ण स्रोतसाधन, दक्ष जनशक्ति र आधुनिक प्रविधिको अधिकतम परिचालन गरिनुपर्छ। आवश्यकताअनुसार मित्रराष्ट्रबाट प्राप्त हुन सक्ने प्राविधिक तथा अन्य सहयोग समयमै स्वीकार गरी उद्धार कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने थियो। यस्तो सहयोगको समयमै उपयोग हुन सकेको भए थप नागरिकको जीवन जोगाउन सकिने सम्भावना रहन्थ्यो। अझै पनि नागरिक बेपत्ता रहनु र खोज तथा उद्धार कार्य प्रभावकारी हुन नसक्नु अत्यन्त दुःखद र गम्भीर विषय हो। विपद्बाट प्रभावित नागरिकलाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन, विस्थापित परिवारको सुरक्षित पुनसर््थापना सुनिश्चित गर्न तथा सडक, खानेपानी, पुल, सञ्चार, विद्युतलगायत क्षतिग्रस्त भौतिक संरचनाको शीघ्र पुनर्निर्माण गर्न सरकार गम्भीरतापूर्वक अघि बढ्नुपर्छ । साथै, बाढीपहिरोबाट प्रभावित सबै क्षेत्रको क्षतिको यथार्थ मूल्याङ्कन गरी राहत, पुनस्र्थापना र पुनर्निर्माणका कार्यलाई पारदर्शी, प्रभावकारी र समयबद्ध रूपमा सञ्चालन गर्न हामी सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ । साथै बाढीपहिरो पीडितको खोज, उद्धार, राहत र अस्थायी बसोबासको लागि हाम्रो पार्टीको तर्फबाट सक्रिय रुपमा सहभागी भई महत्वपूर्ण भूमिका खेलेको कुरा स्मरण गर्दछौं । 
जनताले भोगेका समस्यालाई स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसमक्ष पु¥याउने, आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र प्रस्तुत गर्ने र समाधानका लागि निरन्तर पहल गर्नेछौँ। जनताबाट प्राप्त गुनासाको अभिलेख राख्ने तथा समाधानका लागि भएका प्रयासको प्रगतिबारे जनतालाई जानकारी दिने अभ्याससमेत अघि बढाउनेछौँ। हाम्रो उद्देश्य जनताका समस्या सुनेर फर्कनु मात्र होइन, समाधानका सम्भावना पहिचान गर्नु र त्यसका लागि जिम्मेवारीपूर्वक पहल गर्नु हो।
आदरणीय जनसमुदाय,
हाम्रो विश्वास छ, देश र जनताका आधारभूत समस्याको दीर्घकालीन समाधान समाजवाद निर्माणको दिशामा अघि बढेर मात्र सम्भव छ। समाजवाद हाम्रो लागि केवल नारा होइन, आर्थिक असमानता र शोषण अन्त्य गर्ने, श्रमको सम्मान स्थापित गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने तथा राष्ट्रिय अर्थतन्त्रलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने लक्ष्य हो । नेपालको वर्तमान संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राज्य निर्माणको संकल्पलाई व्यवहारमा कार्यान्वयन गर्दै समाजवादको आधार तयार पार्नु आजको आवश्यकता हो। यसका लागि उत्पादन बृद्धि, राष्ट्रिय पुँजीको विकास, कृषि तथा उद्योगको आधुनिकीकरण, रोजगारी सिर्जना र स्रोतसाधनको न्यायपूर्ण वितरणमा जोड दिनुपर्छ। यो अभियानका साथै नियमित रुपमा हाम्रो पार्टी पङ्क्तिले जिल्ला, पालिका, वडा, टोलबस्तीका स्थानीय विशेषता अनुसार श्रम र उत्पादनमार्फत् जनतासँग जोडिने र सामूहिकताको अभ्यास गर्ने कार्यलाई प्राथमिकता दिनुपर्छ।
राष्ट्रिय स्वाधीनता र समाजवाद निर्माण एकअर्कासँग जोडिएका विषय हुन् । आर्थिक परनिर्भरता घटाउँदै राष्ट्रिय उत्पादन र आत्मनिर्भर अर्थतन्त्र बलियो बनाउनु, राष्ट्रिय हितअनुसार स्वतन्त्र निर्णय गर्ने क्षमता विकास गर्नु र सबै मित्रराष्ट्रसँग समानता तथा पारस्परिक सम्मानका आधारमा सम्बन्ध अघि बढाउनु हाम्रो प्राथमिकता हुनुपर्छ । राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्र निर्णय गर्ने अधिकारको रक्षाका लागि व्यापक राष्ट्रिय एकता आवश्यक छ।
यस अभियानसँगै हामी आफ्नै पार्टीलाई सुदृढ र रूपान्तरण गर्नेछौँ । सदस्यता नवीकरण तथा अद्यावधिक, संगठनात्मक समायोजन, कार्यविभाजन र पार्टी एकताका बाँकी काम तल्लो तहसम्म सम्पन्न गर्न तथा पार्टी र जनसंगठनका बैठक, भेला, प्रशिक्षण, शुभकामना आदानप्रदान लगायतका कार्यक्रम गर्न विशेष जोड दिनेछौँ। पार्टीका विभिन्न तह तथा जनवर्गीय संगठनबीच समन्वय सुदृढ गर्दै संगठनलाई जनताको सेवामा प्रभावकारी रूपमा परिचालित गर्नेछौँ । पार्टीको एकता संगठनात्मक संरचनामा मात्र होइन, विचार, व्यवहार, जिम्मेवारी र जनताप्रतिको प्रतिबद्धतामा पनि प्रतिबिम्बित हुनुपर्छ।
हामी पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई जनताका बीचमा विनम्रतापूर्वक जान, उनीहरूका कुरा सुन्न, आलोचनालाई स्वीकार गर्न र आफ्ना कमजोरी सच्याउन विशेष आग्रह गर्दछौं। जनताको विश्वास भाषणबाट होइन, व्यवहार र कामबाट आर्जन गर्नुपर्छ भन्ने मान्यतामा हामी दृढ छौं। 
अन्त्यमा, आम नेपाली जनसमुदाय, विभिन्न राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, बुद्धिजीवी, पेसागत समुदाय तथा निजी क्षेत्रलाई राष्ट्रिय हित र जनजीविकाका साझा सवालमा संवाद तथा सहकार्यका लागि हार्दिक आह्वान गर्दछौं । विशेषगरी किसान, मजदुर, युवा, विद्यार्थी, महिला, उत्पीडित समुदाय तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई यस अभियानमा सक्रिय सहभागिता जनाउन अपिल गर्दछौं। 
    संविधान र लोकतन्त्रको रक्षा गरौँ ! राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको पक्षमा एकजुट बनौँ  !!
    महङ्गी, भ्रष्टाचार, बेथिति र दण्डहीनताविरुद्ध आवाज उठाऔँ ! राष्ट्रिय समृद्धी र जनजीविकाका समस्या समाधानका लागि राज्यलाई जिम्मेवार बनाऔँ  !! 
    विपद् प्रभावित नागरिकको खोज, उद्धार, राहत र पुनसर््थापनालाई प्राथमिकता दिँदै क्षतिग्रस्त भौतिक संरचनाको शीघ्र पुनर्निर्माणका लागि आवाज उठाऔँ  !
    उत्पादन, रोजगारी र आत्मनिर्भर अर्थतन्त्रको विकास गरौं ! सामाजिक न्याय, समानता, समुन्नति र समावेशितासहित समाजवाद निर्माणको आधार तयार पारौँ  !!
    निरंकुशता र अराजकताको विरोध गरौँ ! राष्ट्रियता र लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौँ  !!
    दशैं, तिहार, नेपाल सम्बत्, छठ लगायतका पर्वहरुको अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा हार्दिक शुभकामनासहित धन्यवाद !  

पुस्पकमल दाहाल प्रचण्ड 
संयोजक 
– नेपाली कम्युनिष्ट पार्टी

प्रकाशित मिति: शनिबार, कात्तिक ७, २०८३  १५:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार