सङ्घीय र प्रदेशसभा निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने : सहमहामन्त्री आङदेम्बे

शनिबार, भदौ ११, २०७९

पाँचथर । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले सङ्घीय र प्रदेशसभाको निर्वाचनपछि पनि गठबन्धनकै सरकारले निरन्तरता पाउने बताएका छन् ।
गृहजिल्ला पाँचथर आइपुगेका आङदेम्बेले नेपाल प्रेस युनियन जिल्ला शाखाले सदरमुकाम फिदिममा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गठबन्धनमा आवद्ध दलबीच सिटको भागवण्डाबारे छलफल चलिरहेको बताए ।
एउटा मात्र निर्वाचन क्षेत्र भएकाले  आफू सङ्घीय उम्मेदवार बन्ने उनले बताए ।
पटक–पटक सरकार परिवर्तन र मन्त्री फेरिरहँदा सरकारले दिगो विकास र लक्ष्यअनुरुप काम गर्न नसक्ने हुँदा स्थायी सरकार बन्न आवश्यक रहेको सहमहामन्त्री आङदेम्बको भनाइ छ । “स्थायी सरकार बनेर नागरिकको काम गर्नका निम्ति पनि अहिलेको गठबन्धनलाई  निरन्तरता दिनुको विकल्प छैन”, उनले भने । कार्यक्रममा कांग्रेस  केन्द्रीय सदस्य प्रदीपकुमार सुनवार, प्रदेश नं १ समिति सदस्य उत्तम चौलागाईँलगायतको उपस्थिति थियो ।

कांग्रेसको नेतृत्वमा भएका कामबारे जनतालाई सुसूचित गर्न केन्द्रीय सदस्य प्रदीप पौडेलको आह्वान
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा भएका कामबारे जनतालाई सुसूचित गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको कार्यालयमा आज आयोजित कार्यक्रममा कांग्रेसको नेतृत्वमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा धेरै काम भए पनि ती विषयलाई जनतामाझ पु¥याउन नसकिएको बताए ।
गण्डकी प्रदेशको समग्र विकासको खाकासहित कांग्रेस गण्डकी प्रदेशले अघि सारेको अवधारणापत्र अन्य प्रदेशका लागि पनि अनुकरणीय हुने उनले बताए । दलहरूबीचको गठबन्धनलाई योजना र कार्यक्रमसँग जोड्नुपर्नेमा नेता पौडेलले जोड दिए ।
कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले देशको समग्र विकासका लागि कांग्रेसको नेतृत्व आवश्यक भएको बताउँदै यसका लागि नेता तथा कार्यकर्ता सक्रिय बन्नुपर्ने बताए ।
कांग्रेस गण्डकी प्रदेशले अवधारणापत्रसहित प्रदेशको समृद्धि र विकासका योजना अघि सारेको बताउँदै ती सङ्कल्पलाई पूरा गर्नका लागि निर्वाचनमा विजयी बन्नुपर्ने उल्लेख गरे । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

 

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार