वडामा पुग्नै सास्ती

शुक्रबार, भदौ १०, २०७९

बलेवा । मतदानस्थल नजिकै थियो । त्यसैले बागलुङ नगरपालिका–१२ अमलाचौरको टाकुरी गाउँकी जुनादेवी शर्मा पौडेल लामो समयपछि बुधबार वडा कार्यालयमा पुगे । उनलाई आफ्नो घरदेखि वडा कार्यालय रहेको ठाउँसम्म पुग्न सवा दुई घण्टा समय लाग्यो । सवारीको प्रबन्ध नभएकाले उनी पैदल नै हिँडेर त्यहाँ पुगेका थिए । उनीसँगै सोही गाउँका अन्य महिला पनि आयोजित एकीकृत शिविरमा वडा कार्यालय पुगेका थिए । वडा कार्यालय पुगेका टाकुरीबासीलाई वडाको मुकामभन्दा नगरपालिकाको मुकाम नजिक पर्छ । बागलुङ कुश्मीशेरा सडक कालोपत्रे भएकाले उनीहरु पालिका मुकाम ४५ मिनेटमा नै पुग्छन् । तर सबै काम वडा कार्यालयसँग जोडिने भएकाले उकालो नहिँडेर सुख छैन ।
साविक अमलाचौर गाउँविकास समितिको वडा नं. २, ८ र ९ का गाउँहरुका लागि वडा कार्यालय अपायकमा पर्छ । अपायकमा वडा कार्यालय हुँदा आफूहरुले सास्ती खेप्नुपरेको पौडेलले बताए ।
टाकुरी, सरंगेलगायतका गाउँका लागि वडा कार्यालयले सेवा केन्द्र सञ्चालन गरेरै भए पनि नजिकैबाट सेवा दिनुपर्ने उनीहरुको माग छ । “अहिलेको जमानामा पनि सजिलो सडक छैन, पैदल हिँडेर यतिका लामो सयमा वडा कार्यालय पुगिन्छ”, पौडेल भन्छन्, “हामीलाई बरु वडा नं १४ नजिक पर्छ, जैमिनी नगरपालिकाका वडा कार्यालयभन्दा हाम्रो वडा कार्यालय पुग्न समय धेरै लाग्छ ।”
बागलुङ नगरपालिकाले आयोजना गरेको एकीकृत सेवा प्रवाह शिविरमा गाउँको योजना सम्झौताका लागि उनीहरु त्यहाँ पुगेका थिए । शिविरमा पुगेर योजना सम्झौता गर्दाभन्दा नगरपालिकाको कार्यालयमै पुगेर योजना सम्झौता गर्न सहज रहेको उनीहरुले बताए । “हामीलाई सेवा लिन सदरमुकाम पुग्न बरु सडक र सवारी दुवै हिसाबले सहज छ”, सरंगेकी सरस्वती पौडेलले भने “वडा कार्यालय नआई सिधै नगरपालिका गएर मात्रै काम बन्दैन । हरेक काममा वडाको सिफारिस चाहिन्छ ।”
राज्यको पुनःसंरचना गर्ने बेला भूगोलको अवस्था हेरेर पुनःसंरचना हुन नसकेका कारण टाकुरी र सरंगेलगायतका गाउँका सर्वसाधारणले दुःख पाउनुपरेको स्थानीयवासी यदुनाथ पौडेलले बताए ।
त्यहाँका सर्वसाधारणले वडा कार्यालय पुग्नका लागि सिधा सडक सञ्जाल सहज नभएकाले वडा नं १३ को पैञ्युपाटा वा जैमिनी नगरपालिकाको कुश्मीशेरा हुँदै घुम्नुपर्ने बाध्यता छ । घुमेरै वडा कार्यालय पुग्न रिजर्भ नगरेसम्म सवारी नपाइने पौडेल बताउँछन्  ।
ससाना सिफारिसका काम, योजनाका काम र वडास्तरमा हुने विभिन्न शिविर तथा कार्यक्रममा सहभागी हुनसमेत नसकेको महिलाको गुनासो थियो । “आज नगरले शिविर चलाएको छ, कसैको स्वास्थ्य परीक्षण भएको छ, कसैले योजना सम्झौता गरेका छन् तर हाम्रो गाउँबाट हामीबाहेक कोही आएनन्”, जुनादेवी भन्छन्, “एकल सरो महिला यहाँ आए घर डुब्छ, घरैबसे यहाँ छुट्छ ।”
वडा कार्यालयले भने तत्कालै सेवा केन्द्र सञ्चालनको विषयमा कुनै योजना नरहेको जनाएको छ । ‘उहाँहरुलाई अपायक भएको कुरा जायज हो, समस्या धेरै छन्’ वडा अध्यक्ष कोपिलामणि शर्माले भने, “म जनताको गुनासो कार्यपालिकामा राख्छु, अन्य वडामा पनि यस्ता समस्या छन्, सम्बोधन भयो भने निकै सजिलो हुन्छ ।”
आधारभूत तहको सेवाका लागि घण्टौँ लगाएर वडा कार्यालय पुग्नुपर्दा ज्येष्ठ नागरिक र अपाङ्गता भएका बढी प्रभावित हुने गरेका छन् । राज्य पुनःसंरचनापछि अपायक क्षेत्र जोडेर सहज बनाउने नीति भएपछि व्यवहारमा भने कार्यान्वयन भएको छैन । त्यसैले केही वडा टुक्र्याए पनि कतिपय स्थानमा अझै समस्या छ ।–रासस

 

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  ०४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार