सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकता बलियो भएमा आउँदो निर्वाचनमा धेरै स्थानमा जित्न सकिने बताएका छन् । एमालेमा गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको अन्तरघातबारे छानबिन चलिरहेको छ । एमालेको पर्सा जिल्ला कमिटीले आज काठमाडौँमा आयोजना कार्यक्रममा अध्यक्ष ओलीले आफू उम्मेदवार नभए वा अवसर नपाएमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने प्रवृत्ति त्यागेर जिताउने भूमिका निर्वाह गर्न आग्रह गरे । उनले जनता र कार्यकर्तासँग विनम्र, भद्र र शालीन भएर पार्टीको निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै पार्टीले निर्वाचन जितेर सरकारको नेतृत्व गर्ने स्थिति भएमा थप अवसर सिर्जना हुने विश्वास दिलाए । पूर्व प्रधानमन्त्री ओलीले मधेसतिर जाँदा एमालेलाई मधेस विरोधी र पहाडतिर जाँदा पहाड विरोधी हो भनेर चलाइएका हल्ला गलत सावित भएकाले अबको निर्वाचनमा त्यस प्रकारको हल्लाको सामना गरिरहन नपर्ने स्पष्ट गरे । उनले नागरिकता समस्यालाई वास्तविकरुपमा समाधान गर्ने पार्टी एमाले मात्रै भएको जिकिर गरे । आगामी निर्वाचनमा एमालेले मुद्दा मिल्ने पार्टीसँग तालमेल गर्ने एमालेले आफ्नो मुद्दा मिल्ने पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ । पार्टी मुख्यालय च्यासलमा आज बसेको स्थायी कमिटी बैठकले मुद्दा मिल्ने दलसँग निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, “हामी चुनौती सामाना गरेर एक्लै चुनावी मैदानमा जाने हो, सुशासन, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियतालाई बचाउने हो । यस क्रममा जो–जोसँग एजेण्डा मिल्छ सोही पार्टीसँग चुनावी तालमेल गर्ने छौँ ।” आजको बैठकबाट यही भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरिएको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश हुने निर्णय गरेको छ । बैठकमा पार्टी अध्यक्ष ओलीले आफूले पेश गर्ने प्रतिवेदनमा वर्तमान राजनीतिक अवस्था र गठबन्धन सरकारले गरेका गलत क्रियाकलाप र आगामी निर्वाचनबारे राजनीतिक प्रतिवेदन उल्लेख गरिएको छ । अध्यक्ष ओलीले आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा १३ जना स्थायी कमिटी सदस्यले आ–आफ्नो धारणा राखेका थिए । धनश्याम भुसाल, कर्ण थापा, प्रभु साह, गोरखबहादुर बोगटी, शेरधन राई, रघुजी पन्त, गुरु बराल, शेरबहादुर तामाङ, मणिचन्द्र थापा, खगराज अधिकारी, सुभाष नेम्वाङ र हिक्मत कार्कीले अध्यक्ष ओलीको प्रतिवेदनमा आआफ्नो धारणा राखे । ओलीको राजनीतिक प्रतिवेदनमा चुनावमा कसरी जाने, चुनावी रणनीति, आगामी राजनीतिक कार्यदिशा के हो भनेर स्पष्ट हुने प्रमुख गुरुङले बताउनुभयो । बैठकले तेस्रो केन्द्रीय कमिटीले गरेका निर्णयको अनुमोदनसमेत गरेको उनले जानकारी दिए । निर्वाचन घोषणा मस्यौदा कमिटीले तयार पारेको मस्यौदा केन्द्रीय कमिटीमा प्रस्तुत हुने छैन । यस्तै पार्टीको वार्षिक बजेट पनि आजको बैठकले पास गरेको छ । पार्टीका नवप्रवेशीलाई व्यवस्था गर्नका लागि केही समस्या देखिएमा केन्द्रको अनुमतिमा जिल्ला वा अन्य कमिटीमा व्यवस्थापन गर्नेसमेत निर्णय गरेको छ । केन्द्रीय सल्लाहाकार परिषद्मा तीन जनालाई मनोनयन गरिएको छ । प्रचार विभाग प्रमुख गुरुङका अनुसार कुलभक्त शाक्य, गेभी नेपाली र नवराज पौडेललाई परिषद्मा मनोनयन गरिएको छ । यस्तै विभिन्न दल परित्याग गरी एमालेमा प्रवेश गरेकालाई समेत केन्द्रीय कमिटीमा मनोनयन गरिएको छ । जीवन गौतम, विजय गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजवंशीलाई केन्द्रीय कमिटीमा मनोनयन गरिएको हो । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीले उम्मेदवार तय गर्नका लागि मापदण्ड केन्द्रीय कमिटी बैठकमा पेश गर्ने उनले बताए । एमालेमा आठ लाख ५५ हजार चार सय ५३ पार्टी सङ्गठित सदस्य रहेकामा ५२ हजार पाँच सय ५० पार्टी सदस्य नम्बर सङ्ख्या दोहोरिएको छ । पार्टी सङ्गठन विभागले दोहोरिएको सदस्यता नम्बरको व्यवस्थापन गर्ने निर्णय गरेको छ । आजको बैठकमा गण्डकी प्रदेशको इञ्चार्ज बाहेक सबै प्रदेशका इञ्चार्जले प्रदेशमा पार्टीको अवस्था, साङ्गठनिक गतिविधि, कस्तो छ भनेर रिपोर्टिङ गरेको गुरुङले बताए । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको ठोस योजना बनाउनका लागि पार्टीले आजदेखि भदौ १२ गतेसम्म स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटी बैठक र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो ।