बागमती  गाउँपालिकाको पर्यटन क्षेत्र र विकासको संभावना

आइतबार, साउन २२, २०७९

"कृषि पर्यटन र पूर्वाधार,- समृद्ध सुखी बागमती गाउँपालिकाको मूल आधार"

राज्यको पुनर्संरचना गर्ने क्रममा मिति २०७३ फाल्गुण २२ का दिन ललितपुर जिल्लाको क्षेत्र नं १ अन्तर्गतका साविक सातवटा गा.वि.स.हरु घुसेल, माल्टा, भट्टेडाँडा, प्युटार, इकुडोल, आश्राङ र गिम्दीलाई सात वडामा विभाजन गरि बागमती गाउँपालिकाको स्थापना भएको हो । करिब १११.४९ वर्ग कि.मि. क्षेत्रफल भएको यस गाउँपालिकाको पूर्वमा महांकाल गाउँपालिका, पश्चिममा काठमाडौँ जिल्ला, उत्तरमा गोदावरी नगरपालिका र कोन्ज्योसोम गाउँपालिका, दक्षिणमा मकवानपुर जिल्ला अवस्थित रहेका छन् । उपत्यकाभित्रकै जिल्ला भएपनि यो गाउँपालिकाको भूबनोट भने अलिक फरक रहेको  छ । यस गाउँपालिकाको धेरै भू-भागहरु ठाडो अनि भिरालो डाँडापाखा रहेका छन् भने केही भूभागहरु बागमती नदीको किनार र आसपासका क्षेत्र समथर फाँटहरुका रुपमा अवस्थित छन् । उष्ण मनसुनी हावापानी देखि लिएर ठण्डा समशितोष्ण हावापानीसम्मको हावापानी पाइने भएकोले यस बागमती गाउँपालिकामा जैविक विविधता र पारस्थितिक प्रणालीमा विविधता रहेको छ । अनुपम प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय, बहुभाषिक, बहुधार्मिक सामाजिक विविधता, एवम् ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक सम्पदाले भरिपूर्ण बागमती गाउँपालिका यस ललितपुर जिल्लाको मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थल बन्न सक्ने प्रशस्तै संभावना देखिन्छ । यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याई यस क्षेत्रका थप आर्थिक, सामाजिक तथा सांस्कृतिक विकास गर्न सकिने देखिन्छ ।

बागमती गाउँपालिकाको प्रमुख पर्यटकीय स्थलहरुमा भट्टेडाँडा सातकन्य राडर क्षेत्र, चमेरो गुफा, माझखण्ड धातु चैत्य बिहार, माल्टा फाँट, उत्पत्तेश्वर महादेव, घ्याम्पे दह, नारायण मन्दिर, माने गुम्बा, बौद्ध स्तुपा, रुद्रेश्वर महादेव, कालेश्वर महादेव, बूढदेवी मन्दिर आदि पर्यटकीय स्थलहरु रहेका छन् ।

भट्टेडाँडा सातकन्या राडार क्षेत्र

अनुपम प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा पारिस्थितिक प्रणाली र पर्यावरणीय हिसाबले सम्पन्न भट्टेडाँडा सातकन्या राडार क्षेत्र बागमती गाउँपालिकाको वडा नं ३ मा अवस्थित रहेको छ । सन् १९९२ मा Pakistan International Airlines (PIA) Airbus A300 नामक जहाज दुर्घट्नामा परेको थियो जहाँ १६७ जना यात्रुहरुले ज्यान गुमाएका थिए । सन् २०१६ मा नेपाल नागरिक उड्ड्यन प्राधिकरणले JICA को सहयोगमा  Radar system जडान गरेको थियो ।

bag1659840597.jpgयो राडार क्षेत्र करिब  २३०० मिटर उचाईमा रहेको छ । अन्तर्राष्ट्रिय हवाई यातायातलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले यस राडारको निर्माण गरिएको थियो । अन्तर्राष्ट्रिय विमानहरु यसै क्षेत्रलाई हवाई मार्ग बनाई त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा अवतरण गर्दछन् ।

जैविक विविधताले भरिएको यस राडार क्षेत्रमा धेरै प्रजातिका बोटविरुवाहरु रहेका छन् जहाँ प्रशस्तै लालीगुराँशका बोटहरु पाउन सकिन्छ । राताम्य लाली गुराँश ढकमक्क फूल्दा यस क्षेत्र चूल्ठोमा लाली गुराँश सिउरी सिंगारिएर डोली चढेकी बेहुली झै सुन्दर देखिन्छ । यस क्षेत्रमा लाली गुराँशको फूलहरुसँगै जति लुकामारी  खेलेपनि कहिल्यै धित मर्दैन ।

यस क्षेत्रमा धेरै प्रकारका जडिबुट्टीहरु पनि प्रशस्तै रहेका छन् जसको अध्ययन तथा अनुसन्धान र पहिचान गरी जडिबुट्टी औषधिको उद्योग सञ्चालन गर्न सकिने संभावना रहेको छ । जटिबुट्टीहरुको उद्योग सञ्चालन गर्न सकिएमा प्रशस्त अर्थपार्जन गरी आर्थिक रुपले गाउँपालिकालाई सम्पन्न बनाउन सकिन्छ । यस वन्य क्षेत्रमा जंगली पशु पंक्षीहरु मृग, घोरल, बदेल, खरायो, दुम्सी, कालिज धेरै संख्यामा पाइन्छन् ।

 

Malta1659861986.jpg

यस पर्यटन क्षेत्रको योजनाबद्ध र व्यवस्थित रुपले विकास गर्न यस गाउँपालिकाले यस क्षेत्रको गुरुयोजना निर्माण गरी पर्यटन विकासको गतिलाई तीव्रता दिएको छ । पिक्निक स्पोर्ट, पदमार्ग तथा भ्यू-प्वाइन्ट, उद्यान, फन पार्क, बौद्धस्तुपा तथा शिव भगवानको मन्दिर, अतिथि भवन तथा सेमिनार हल आदि संरचनाहरु निर्माण गर्ने योजनासहित यस क्षेत्रलाई सिंगार्ने काम भइरहेको छ । यस क्षेत्रमा आवश्यक पर्यटन पूर्वाधारहरुको निर्माणमा गाउँपालिकाले उच्च प्राथमिकताको साथ लगानी गरिरहेको अवस्था छ ।

हिउँदको समयमा ठण्डा समशितोष्ण हावापानी भएकोले यस क्षेत्रमा हिउँ पर्दछ । हिउँ परेको समयमा यस ठाउँसम्म स्थानीय बासी एवम् काठमाडौँबाट धेरै संख्यामा मानिसहरु हिउँ खेल्न आउने गर्दछन् । गृष्मकालीन समयमा यस क्षेत्रलाई छिन-छिनमै हुस्सु एवम् बादलुले छोपिरहने गर्दछ । यसर्थ यस क्षेत्रमा पुग्ने पर्यटकहरुलाई आफूलाई देखेरे लाजले शर्माउदै प्रकृतिले घरी-घरी घुम्टो ओड्दै उघार्दै गरेको हो कि भन्ने आनन्दाभूति गराउँदछ । गर्मीको समयमा शितल प्रकृतिको काखमा लुकामारी खेल्दै आनन्दित र आल्हादित बनाउन काठमाडौँबाट थुप्रै पर्यटकहरु यस क्षेत्रमा पुग्ने गर्दछन् । विविधत विशेषताले भरिपूर्ण यो ठाउँ साँच्चै स्वर्गको एक टुक्रा झैँ अनुपम अनि सुन्दर लाग्दछ ।

यस राडार क्षेत्र नजिकै सातकन्या रुद्रेश्वर महादेव मन्दिर रहेको छ जहाँ पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने स्वस्थानी पर्वको अवसरमा मेला लाग्ने गर्दछ ।

काठमाडौँबाट यस राडार क्षेत्रसम्म करिब २७ कि. मि. दूरी रहेकोले काठमाडौँबाट सहजै १ घण्टाभित्र पुग्न सकिन्छ । कान्ति लोकपथ हुँदै यस क्षेत्रमा सहजै पुग्न सकिन्छ । राडारको अवलोकन गर्न, लाली गुराँशको फूल टिप्न, वनभोज कार्यक्रम गर्न, हिउँदको समयमा हिउँ खेल्न, गर्मीको समयमा शितलता प्राप्त गर्न, काठमाडौँको दृष्यालोकन गर्न, मिलेका दातका पंक्ति झै सेताम्य हिम श्रृंखलाको लहर हेर्न, रसिलो काफल गेडी तथा ऐसलुको फल चाख्न एवम् प्रकृतिसँग लुकामारी खेल्दै भर मग्दुर मनोरञ्जन लिन थुप्रै युगल जोडीहरु साथै आन्तरिक तथा बाह्य पर्यटकहरु काठमाडौँबाट यस राडार क्षेत्रमा पुग्ने  गर्दछन् ।

chamere gufa1659841162.jpg

चमेरे गुफा र मगर होमस्टे

यस गाउँपालिकाको वडा नं ७ गिम्दीमा अवस्थित चमेरे गुफा साच्चै पर्यटकहरुलाई लोभ्याउने आकर्षक स्थलको रुपमा रहेको छ । यस गुफामा धेरै संख्यामा चमेराहरु रहेका छन् । यस क्षेत्रको अध्ययन तथा अनुसन्धानको थप कार्य पनि भइरहेको छ । यस गुफालाई थप व्यवस्थित र प्रचारप्रसार गर्न सकिएमा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने देखिन्छ । यो अलिग पहाडको अनाकन्टार ठाउँमा रहेकोले यस गुफासम्म सहजै पुग्नका लागि कठिनाई हुने देखिएकोले पदमार्ग निर्माण गर्ने गाउँपालिकाले योजना बनाएको छ । यस क्षेत्रसम्म पुग्नका लागि पर्यटन पूर्वाधार सडक विस्तार भइरहेको छ ।

 वडा नं ७ मा अवस्थित नारायण मन्दिर, कटुवाबेशी उत्पत्तेश्वर महादेव (पशुपति क्षेत्र) धार्मिक हिसाबले महत्वपूर्ण मानिन्छ । यस नारायण मन्दिरमा माघ १ गतेको दिन मेला लाग्ने गर्दछ भने उत्पत्तेश्वर महादेव भएको स्थानमा मृतकको नाममा बत्ती/दियो बाल्ने चलन छ । यस स्थानमा बालाचतुर्दशी र तीज-एकादशीमा मेला लाग्ने गर्दछ ।

यस वडाको गिम्दीमा सुविधासम्पन्न/व्यवस्थित मगर होमस्टे रहेको छ । मगर समुदायको संस्कार एवम् रीतिरिवाज अनुसार यस होमस्टेमा पुग्ने पाहुनाहरुलाई सम्मान र सत्कार गर्ने चलन छ । यस मगर होमस्टेमा स्थानीय उत्पादनहरु मीठोसँग खान पाइने भएकोले Agro-Tourism Homestay को रुपमा विकास गर्न सकिने सम्भावना देखिन्छ । जहाँ एकचोटी पुगेपछि धित नमर्ने भएकोले फेरि पटक पटक यस ठाउँमा जान मन लाग्ने एवम् धित मरुञ्जेल बस्न मन पर्ने ठाउँ रहेको छ ।

माल्टा फाँट

Malta1659861986.jpg

यस गाउँपालिकाको वडा नं २ मा अवस्थित माल्टा फाँट अत्यन्तै सुन्दर र फराकिलो अनि समथर फाँटको रुपमा लमतन्न परेर बसेको छ । यस समथर फाँट खेतीयोग्य जमिन भएकोले यस फाँटमा प्रशस्तै धान, मकै, गहुँ तथा दलहन राम्रो उत्पादन हुन्छ । यस फाँटमा फल्ने कालो मासको दाल अत्यन्तै मीठो हुने भएकोले माल्टाको कालो मास नामले प्रसिद्धि कमाएको छ । साथै यस फाँटमा फल्ने खुमल्चार नामक धान पनि अत्यन्तै मीठो हुने भएको यस धानको भातले पनि प्रसिद्धि कमाएको छ । खुमल्चार धान र कालो मासको दालको माग धेरै भएकोले यस धान तथा दालको व्यवसायिक खेती बढाई आय आर्जन बढाउन सकिने देखिन्छ । यस ठाउँमा Agro Tourism Home Stay  सञ्चालन गरी पर्यटकहरुलाई खान र बस्नमा आकर्षित गर्न सकिन्छ । यस माल्टा फाँटमा आधुनिक तथा वैज्ञानिक खेती प्रणालीको लागि बागमती नदी लिफ्टिङ खानेपानी आयोजना निर्माणाधिन अवस्थामा रहेको छ । माल्टा फाँट नजिकै रहेको बागमती नदीमा २२ मेघावाटको माण्डु हाइड्रो पावर सञ्चालनमा रहेको छ भने Bagmati Water Energy Pvt. Ltd. ले ६.५ मेगावाटको माल्टा बागमती जलविद्युत आयोजना सञ्चालन गर्ने क्रममा रहेको छ । माल्टा पुग्ने पर्यटकहरु यस माण्डु हाइड्रो पावरको ड्यामसम्म पुगेर फर्किने गर्दछन् ।

माझखण्ड धातु चैत्य विहार

Mane Gumba 21659861993.jpg

बागमती गाउँपालिकाको वडा नं ५ इकुडोलको माझखण्ड पर्यटकीय संभावनाको हिसाबले प्रशस्तै सम्भावना बोकेको ठाउँ हो । जहाँ माझखण्ड धातु चैत्य विहार, रुद्रेश्वर मन्दिर जस्ता प्रशिद्ध धार्मिक स्थलहरु रहेका छन् । यो बौद्ध विहार वि. सं. २०५८ सालमा निर्माण गरिएको थियो । यस विहारमा थाइल्याण्डबाट ५ फिटको वुद्धको मूर्ति ल्याई राखिएको छ । विहारको शाखाको रुपमा विकास गर्दै यस क्षेत्रमा ८० फिटको बुद्धको मूर्ति राख्ने योजना रहेको छ । यस विहारमा उपासक उपसकीहरु ध्यान बस्ने गर्दछन् ।

यस माझखण्डमा रुद्रेश्वर मन्दिर पनि रहेको छ जहाँ हिन्दु धर्मालम्बीहरुले पूजा आराधना गर्ने गर्दछन् ।

यस माझखण्डबाट विहानीको सूर्योदय राम्रोसँग हेर्न सकिन्छ । यस ठाउँमा पुगेका पर्यटकहरुलाई सखारै झुल्के घाम देखाउन सकिन्छ । हिउँदको समयमा यस ठाउँमा हिउँ पर्ने भएकोले हिउँसँग मज्जाले खेल्न सकिन्छ । यस ठाउँबाट हिमालदेखि तराईको समथर फाँटहरु सजिलै देख्न सकिन्छ । बागमती नदीको अविरल नागबेली बगाई र यसका आसपासका सुन्दर फाँटहरु, पहाडका तरेलीहरु आदिको राम्रोसँग दृष्यालोकन गर्दै भरमग्दुर मनोरञ्जन लिन सकिन्छ ।

वडा नं ३ स्थित छपेलीदेखि वडा नं ५ माझखण्डसम्म सहज रुपमा पुग्न एवम् आवतजावत गर्नका लागि २.८ कि.मि. लम्बाईको केवुलकारको निर्माणको अवधारणा Destination Majhkhanda Pvt.Ltd द्वारा अगाडि बढाइएको छ । छपेली स्टेशनदेखि माझखण्ड तीन सय मिटरको उचाईमा पर्दछ । करिब रु. १.१३ विलियन लागत लाग्ने यस आयोजनामा ७० प्रतिशत वैदेशिक लगानी रहने र ३० प्रतिशत स्थानीयको लगानी रहने छ ।

भट्टेडाँडादेखि इकुलडोलसम्म आवतजावत गर्नका लागि ५०० मिटरभन्दा लामो झोलुङ्गे पुल निर्माणको अवधारणा पनि बढाइएको छ । जहाँ पुलबाट खानीखोलासम्म धेरै गहिराई हुने भएकोले बन्जि जम्पको व्यवसाय सञ्चालन गर्न सकिने प्रबल सम्भावना देखिन्छ ।

यस ठाउँमा भित्रिने पर्यटकहरुलाई बस्न, खानको लागि होम स्टेहरु पनि सञ्चालनमा ल्याइएका छन् । छपेली–माझखण्ड केवुलकार सञ्चालनमा ल्याएपश्चात यस ठाउँमा रिसोर्ट तथा होटेलहरु सञ्चालन गर्न सकिने देखिन्छ ।

घ्याम्पे दह 

 

वडा नम्बर ६, आश्रङमा रहेको घ्याम्पे दहलाई पनि पर्यटन स्थलको रुपमा विकास गर्न सकिन्छ  । घ्याम्पोको जस्तै आकारमा रहेको यो दह  करिब डेढ सय मिटरमा फैलिएको छ । संरक्षणको अभावमा यस दहको  गहिराई भने दिन प्रतिदिन कम हुँदै गएको छ । जसको संरक्षण गर्न सबैले विशेष ध्यान पुर्याउनु पर्ने देखिन्छ ।

कालेश्वर र बुढदेवी मन्दिर

यस गाउँपालिकाको वडा नं ४ स्थित कालेश्वर र बुढदेवी मन्दिर धार्मिक हिसाबले महत्वपूर्ण मानिन्छ । धार्मिक पर्यटकहरुलाई आकर्षित गर्न सकिएमा पर्यटन प्रवर्द्धन हुने देखिन्छ । कालेश्वर मन्दिरमा माघ १ र नव वर्षमा मेला लाग्ने गर्दथ्यो । बुढदेवी मन्दिरको दर्शन गर्न पैदल यात्रामा गएमा मनकामना पूरा हुने विश्वास गरिन्छ । यस बुढदेवी मन्दिरबाट बागमती नदी एव् सुन्दर फाँटहरु र पहाडका तरेलीहरुको राम्रोसँग सिंहावलोकन गर्न सकिन्छ ।

बौद्ध स्तुपा र माने गुम्बा

यस गाउँपालिकाको वडा नं १ कुटुनबेसीमा बौद्ध स्तुपा रहेको छ भने मानेगाउँमा माने गुम्बा निर्माणाधिन अवस्थामा रहेको छ । बौद्ध स्तुपाको परिक्रम गरेमा आनन्दानुभूति प्राप्त हुने एवम् मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । बौद्ध धर्मालम्बीहरुका लागि माने गुम्बा पवित्र स्थलको रुपमा लिने गरिन्छ । मानेमा रञ्जना लिपिमा ॐ मणि पद्मे हूँ, लेखिएको हुन्छ । जुन मन्त्र मुखले जप्दा ध्वनी तरंग भइ सुखानुभूति प्राप्त हुन्छ भने श्रद्धासाथ हातले माने घुमाउदा सकारात्मक उर्जा प्राप्त भइ अपार पुण्य प्राप्त हुने विश्वास गरिन्छ । सोनाम ल्होसार एवम् बुद्धजयन्तीको दिन यस बौद्ध स्तुपा र माने गुम्बामा मेला लाग्ने गर्दछ ।

Bauda stupa1659861985.jpg

बागमती गाउँपालिकाले पर्यटन विकासका लागि "कृषि पर्यटन र पूर्वाधार- समृद्ध सुखी बागमती गाउँपालिकाको मूल आधार" को दीर्घकालीन सोचसहित पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको छ। यस गाउँपालिकाले प्राकृतिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक आदि क्षेत्र एवम् सम्पदाहरुको थप अध्ययन, अनुसन्धान, अन्वेषण गर्दै गाउँपालिकाको पर्यटन विकास गुरुयोजना (Tourism Development Master Plan) निर्माण गरेर पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न सकेमा यस गाउँपालिकालाई नेपालकै आकर्षक गन्तव्यस्थल बनाउन सकिने प्रबल संभावना देखिन्छ ।

लेखक : खम्बराज राई, बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।

 

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  ०८:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार