सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले नेपाल प्रहरीलाई साधन स्रोतले भरिपूर्ण बनाउने काम गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् । शुक्रबार ७० औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा उनले समाजका हरेक घटनामा प्रहरीले नै पहिला काम गर्ने र कानून कार्यान्वयनमा प्रहरी नै अग्र पङ्क्तिमा रहने भएका कारण हरेक कुरामा प्रहरी निसानामा पर्ने गरेको बताए । उनले प्रहरीलाई आवश्यक स्रोत, साधन उपलब्ध गराउने काम सरकारको प्राथमिकतामा रहेको बताए । उनले भने, ‘नेपाल प्रहरीलाई साधन स्रोतले सुसज्जित बनाई देश र नागरिक सुरक्षा सुदृढ बनाउनु गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा छ । समाजका हरेक घटनामा प्रहरीले नै पहिला काम गर्ने र कानून कार्यान्वयनमा अग्र पङ्क्तिमा रहने भएका कारण प्रहरीको काम कारबाहीको सम्बन्धमा मात्र नभई सरकारप्रतिको धारणा र त्यसको प्रतिक्रियामा समेत प्रहरी निसानामा पर्ने गरेको छ ।’ यस्तै, नेपाल प्रहरी संगठनलाई पर्याप्त स्रोत साधन उपलब्ध नभएमा फागुन २१ गतेको चुनाव प्रभावित हुने कुरामा गृह मन्त्रालय र वर्तमान सरकार सचेत रहेको भन्दै यसको लागि कामहरु गर्ने बताए । उनले भने, ‘जेनजी आन्दोलनमा भएको क्षतिले प्रहरी मात्र होइन आम नागरिकहरुको जीवनमा समेत प्रभाव परेको छ । न्यून स्रोत साधनबाट कार्य गर्दै आएको प्रहरीलाई आन्दोलनले निकै ठूलो क्षति पुर्याएको छ । यसैबीच आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन शान्ति सुरक्षामा गराउनुपर्ने दायित्व पनि प्रहरीमाथि छ । शान्ति सुरक्षाको लागि महत्वपूर्ण जिम्मेवारी लिएको नेपाल प्रहरी संगठनलाई प्रयाप्त स्रोत साधन उपलब्ध नभएमा कार्य सम्पादन प्रभावित हुने कुरामा गृह मन्त्रालय र वर्तमान सरकार सचेत रहेको छ ।’ उनले गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलनमा पनि नेपाल प्रहरीका तीन जना कर्मचारीले ज्यान गुमाएका थिए भने प्रहरीका सांगठनिक र निजी सामानहरु पनि लुटपाट र आगजनी भएको बताए । नेपाल प्रहरीको निस्वार्थ सेवा र अटल समर्पण भावलाई अंगाल्दै देश र जनताको सुरक्षाको क्रममा सहादत् प्राप्त गरेका प्रहरीहरुप्रति श्रद्धा सुमन अर्पण गर्दै कर्तव्य पालनको शिलशिलामा घाइते अथवा अंगभंग भएका प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि उनले गरेका छन् । सोही कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति भोग्नु परेको बताए । उनले भने, ‘गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको युवा तथा विद्यार्थीको प्रदर्शन त्यसपश्चातका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको छ । उक्त प्रदर्शनको क्रममा नेपाल प्रहरीका सदस्य र ज्यान गुमाउनुभएका अन्य दिवङ्गत आत्माहरूको चीर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।’