सांसदद्वारा कोभिडका विषयमा स्वेतपत्र जारी गर्न माग

आइतबार, साउन ८, २०७९

काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा डिला सङ्ग्रौला पन्तले कोभिडका विषयमा श्वेशपत्र जारी गर्न माग गरेकी  छन्  । सदनको विशेष समयमा सांसद सङ्ग्रौलाले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्ध र आगामी चुनौतीसँग जुध्न श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गरीन्   । उनले नागरिकलाई कोरोनाबाट जोगाउन खोप अभियानलाई तीव्रता दिन माग गरीन्  । 

    उनले स्वास्थ्य बीमाको रकम उपलब्ध नगराएकामा पनि सरकारको ध्यानाकर्षण गराइन्  । बीमामा साढे १७ लाख मानिस आबद्ध भइसकेका सन्दर्भमा अहिले रकम नआएको भन्दै विभिन्न अस्पतालले सूचना जारी गरेरै बीमा कार्यक्रम रोकेको उनले बताइन्  ।  विशेष समयमा सांसद भीमबहादुर रावलले एक महिनाअघि स्टेट पाटनरसीप प्रोग्राम एसपिपीमा सहभागी नहुने सरकारको निर्णय कार्यान्वयनका सन्दर्भमा सभामुखबाट दिइएको निर्देशन पनि सरकारले नसुनेको बताए  । उनले तत्काल सहभागी नहुने पत्र अमेरिकालाई पठाउन सदनमार्फत सरकारको ध्यानाकर्षण गराए  । उनले गोरखा भर्तीसम्बन्धी सन्धिका असमानता हटाउन पहल गरी देश र जनताको हितमा ध्यान दिइ सरकारलाई आग्रह गरे  ।
 
    सांसद हितबहादुर तामाङले टोखा–छहरे सुरुङ मार्ग अघि बढाउन र चीनसँग आर्थिक सामाजिक र सांस्कृतिक सम्बन्ध सुदृढ गरी समृद्धिका लागि बलियो पूर्वाधार तयार पार्न ध्यानाकर्षण गराए  । बालाजु–रानीपौवा–पिपल्टार पासाङल्हामु राजमार्ग निर्माणकार्य उतारचढावका बीच अहिले अलपत्र अस्थामा पुगेकाले तत्काल निर्माण कार्यलाई तीव्रता दिन उनले आग्रह गरे  ।     सांसद रामबाबु यादवले पीडित किसानका लागि राज्य उदासिन भएको बताए । उनले किसान मल मागिरहेको तर राज्यले मल दिन नसक्नु दुखद् भएको बताए  । साउन दोस्रो हप्ता आउँदा पनि पानी नपरेर कृषि कर्ममा लागेका किसान छटपटाइरहेका र रोपेका धानखेत सुक्न थालेको बताए  । 

    सांसद हृदयेश त्रिपाठीले आर्थतन्त्रको अवस्था कमजोर हुँदै आएको बताए  । मल नपाउँदा उत्पादनमा कमी आउने देखिएकाले गार्हस्थ उत्पादनमा ध्यान दिन आग्रह गरे  । सांसद अतहर कलाम मुसलमानले नागरिकता विधेयकका सम्बन्धमा अभिव्यक्ति दिँदा सचेत हुनुपर्नेमा जोड दिए  । राष्ट्रहितमा नागरिकता विधेयक अघि बढेको पनि उनले बताए  ।     सांसद दिलकुमारीले रौतहटमा दाइजोका कारण बिहे भएको २७ दिनमा नै महिलाको हत्या भएको भन्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाहीको माग गरे  । सांसद गङ्गा चौधरीले सीमासुरक्षामा सरकारको ध्यान नपुगेको बताइन्  ।  

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १५:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार