आगामी निर्वाचनसम्म तालमेल हुन्छ :  प्रवक्ता महत

बुधबार, साउन ४, २०७९

चितवन, । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताएका  छन्  । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तालमेल गर्न जटिल भए पनि आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनको तालमेल हुने बताए ।  उनले भने , “स्थानीय तहको निर्वाचनको अनुभवले पनि हामीलाई विश्वास बढाएको छ ।” स्थानीय निर्वाचनको नतिजालाई सबै दलले सन्तोषजनक रुपमा लिएको भन्दै उनले यसैलाई आधार मानेर निर्वाचनमा जाने बताए  । उनले भने , “मलाई विश्वास छ । यो गठबन्धन टुट्दैन ।” शीर्ष नेताहरू समेत गठबन्धन नतोड्ने पक्षमा रहेको उनको भनाइ थियो । 
 

 तालमेल गर्दा पार्टीको नेतृत्वदायी भूमिका र समग्रमा पार्टी पङ्तिको भावनाअनुसार हुने उनले बताए  । फरक प्रसङ्गमा उनले  सरकारले अहिले देश विकास, स्थायित्व र जनआकांक्षाअनुसार काम गरेको बताए  । उनले भने , “सरकारमा रहेर देशको विकास कसरी गर्न सकिन्छ भन्नेतर्फ हाम्रो ध्यान गएको छ ।” विषम परिस्थितिमा कांग्रेसको नेतृत्वमा सरकार बनेको भन्दै उनले त्यसको सामना गर्दै अघि बढेको बताए  ।पत्रकार सम्मेलनमा उनले भ्रातृसङ्गठनले यही साउन महिनाभित्र पूर्णता पाउने बताए  । रासस 

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार