सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । वर्तमान सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरूबीच गठबन्धनलाई कायम राख्दै आगामी निर्वाचनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको छ । सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा आज भएको सो छलफलमा गठबन्धनभित्रका वाम पार्टीहरूबीचको एकताका बारेमा पनि छलफल भएको थियो । बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, “बैठकमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयका बहुमत सदस्य उपस्थित थियौँ, आजको बैठकमा मुख्यतः निर्वाचनका सम्बन्धमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले गरेको निर्णयका बारेमा छलफल भयो ।” वर्तमान गठबन्धनलाई निरन्तरता दिने बारेमा कसैको पनि विमति नरहेको उनले स्पष्ट पारे । “तर गठबन्धनलाई अझ कसरी प्रभावकारी बनाउने भन्ने विषयमा कुराकानी भयो”, उनले भने, “स्थानीय तह निर्वाचनका क्रममा गठबन्धन गरिएको र आगामी निर्वाचनमा त्यसलाई अझ प्रभावकारी बनाउने भन्ने बारेमा छलफल भयो ।” तत्कालीन नेकपा रहँदा आफूहरू एकै ठाउँमा भएको जनाउँदै उहाँले बैठकमा विचार मिल्नेहरूबीच एकता गरेर जाने विषयमा चर्चा भएको बताए । “हिजो नेकपामा हुँदा हामी एउटै पार्टीका थियौँ, विचार मिल्नेहरूका बीचमा एकताको सम्भावना बारेमा पनि कुराकानी भयो”, अध्यक्ष दाहालले भने, “तर यो गठबन्धनको विरुद्ध जाने भनेको होइन ।” बैठकमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए । तत्कालीन नेकपामा उनीहरू सचिवालय सदस्यका रूपमा रहेका थिए ।
पाँच दलीय गठबन्धन कायम राख्दै बाम एकताका निम्ति पहल गर्ने
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको ३२औँ बैठकले वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै बाम एकताका निम्ति पहल गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले सङ्गठन सुदृढ़ीकरण अभियान तदारुकताका साथ आगाडि बढाउने निर्णय गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए । बैठकले गत असार १३ र १४ गते सम्पन्न केन्द्रीय परिषद्को प्रथम बैठकबाट पारित कार्ययोजना कार्यान्वन गर्ने सम्बन्धमा छलफल गरी समाजवादसम्बन्धी दस्तावेजका साथै वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार गर्ने निर्णय गरेको छ । पार्टीले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनताप्रति थप उतरदायी बनाउन यही साउन ४ र ५ गते काठमाडौँमा प्रशिक्षण दिने भएको छ । शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण बैठक सञ्चालन गर्ने पार्टी केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले जानकारी दिए ।