एमाले एक्लै चुनावमा गएर श्रेष्ठता हासिल गर्छ : ईश्वर पोखरेल

मंगलबार, साउन ३, २०७९

विराटनगर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको  बताएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको हो भने । वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिन्छ ।”
आगामी सङ्घ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्न दाबी गर्दै निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताए । उनले भने, “निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुनसक्छ ।”
वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रदेश नं १ को नामकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको चर्चा गर्दै यसका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुनुपर्ने बताए ।

कम्युनिष्ट पार्टी फुटेर होइन, जुटेर समाजवाद आउँछ ’

यता नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवाद स्थापनाका लागि कम्युनिष्ट शक्तिबीच एकता आवश्यक रहेको बताएका छन् । जनकपुरधाममा सोमबार आयोजित एमालेका मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले कम्युनिष्ट पार्टी आपसमा फुटेर मुलुकमा समाजवाद आउन नसक्ने भएकाले समाज रुपान्तरण गर्न र समाजवाद ल्याउन सबै कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताए ।
“अन्य पार्टीसँग एकता वा गठबन्धन गरेर मुलुकमा समाजवाद ल्याउँछु भन्ने कुरा सपनामात्रै हो”, उनले भने, “ लक्ष्य प्राप्त गर्न पहिला राज्यसत्ताको नेतृत्व आफ्नो हातमा आउनुपर्छ, अनिमात्रै एजेण्डा पूरा गर्न सकिन्छ ।” स्थानीय तहको निर्वाचनमा भएको कमी–कमजोरीलाई समीक्षा गरी अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिँदै आपस–आपसमा भिडेर एकअर्कालाई हराउने कामले कसैको भलो नहुने नेता पाण्डेले बताए ।
प्रशिक्षण कार्यक्रममा एमालेका सचिव तथा मधेस प्रदेशका इञ्चार्ज रघुवीर महासेठले स्थनीय तहको निर्वाचनको समीक्षा गर्दै संघीय तथा प्रदेश निर्वाचनका लागि तयार रहन कार्यकर्तासंग आग्रह गरे ।
प्रशिक्षण कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य प्रभु साह र पुरुषोत्तम पौडेलले मधेस प्रदेशको शक्ति सन्तुलन र एमालेको भूमिका, आन्दोलनमा एमाले र प्रचार कामलगायतका विषयमा प्रशिक्षण दिएका थिए। एमाले मधेस प्रदेश समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रम प्रदेशका आठवटै जिल्लाका अगुवा नेता कार्यकर्ताको सहभागिता थियो ।  

 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार