एआईजी पोखरेलले दिए राजीनामा

मन्त्रिपरिषद्ले स्वीकृत गर्न बाँकी
सोमबार, साउन २, २०७९

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर एआईजी पूजा सिंहमार्फत पोखरेलले महानिरीक्षक धीरजप्रताप सिंहसमक्ष राजीनामा पत्र बुझाएर बाहिरिएका हुन् । महानिरीक्षक सिंहले पोखरेलको राजीनामा गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ । राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुनेछ ।

आफूभन्दा करिब डेढ वर्ष कनिष्ठ एआईजी सिंहलाई महानिरीक्षकमा नियुक्त गरेको भन्दै पोखरेल आइजीपी बढुवा बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । तर सर्वोच्चले पोखरेलसहित महानिरीक्षकका विषयमा परेका सबै रिट एकचौटि खारेज गरेको थियो । आफूले हालेको रिट खारेजपछि पोखरेलले पदबाट राजीनामा दिएका हुन् । सिंह महानिरीक्षक भएपछि कार्यालय नटेकी उनी सेवाबाट बिदा भएका छन् ।

२०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले जेष्ठता मिचेर सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो । बढुवाको भोलिपल्ट वैशाख १९ मा पोखरेल सरकारको निर्णय बदरको मागसहित सर्वोच्च पुगेका थिए । तर, रिट दायर भएको साढे दुई महिनापछि असार ३१ मा कामु प्रधानन्यायाधीश दिपक कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलाशले सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गरेको थियो । 
 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार