तुलसीपुर उपमहानगरको एक अर्ब ८६ करोडको बजेट प्रस्तुत

शनिबार, असार ११, २०७९

दाङ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ । उपमहानगर उपप्रमुख स्यानी चौधरीले रु एक अर्ब ८६ करोड ४७ लाख ७९ हजारको अनुमानित बजेट सार्वजनिक गरिन् ।
आन्तरिक स्रोतबाट रु ३० करोड १२ लाख, स्थानीय तह राजस्व बाँडफाँट मालपोत रजिष्ट्रेशनबाट रु १० करोड, अल्या बैंक मौज्दात रु चार करोड ५० लाख गरी कूल आन्तरिक आम्दानी रु ४४ करोड ६२ लाख अनुमान गरिएको छ । त्यस्तै सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा समानीकरण अनुदान रु ३३ करोड ६२ लाख, सःशर्त अनुदान रु ६२ करोड ९१ लाख, समपूरक अनुदान रु एक करोड ६० लाख, विशेष अनुदान रु एक करोड ३० लाख र राजस्व बाँडफाँट रकम रु २३ करोड ५५ लाख तीन हजार रहेको उपप्रमुख चौधरीले जानकारी दिइन् ।
त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु एक करोड ५६ लाख, सःशर्त अनुदान रु एक करोड ६० लाख, समपूरक अनुदान रु तीन करोड, विशेष अनुदान रु ८० लाख र राजस्व बाँडफाँट रु तीन करोड ३१ लाख ७६ हजार र अन्य सङ्घसंस्था अनुदानमा नगरविकास कोष ऋण रु सात करोड, युनिसेफ अनुदान रु ६० लाख र सडक बोर्ड नेपाल रु एक करोड प्राप्त हुने अनुमान गरिएको छ ।
व्ययतर्फ कार्यालय सञ्चालन र प्रशासनिक खर्च रु २७ करोड आठ लाख ३२ हजार, नगर विकास कोष साँवाब्याज किस्ता भुक्तानी रु ७७ लाख २३ हजार, चालु नगरस्तरीय कार्यक्रम खर्च रु एक करोड ६५ लाख ७७ हजार, सबै महाशाखा र शाखाहरूको प्रशासनिक र कार्यक्रम खर्च रु १८ करोड ९८ लाख ६८ हजार, वडास्तरीय प्रशासनिक, योजना तथा कार्यक्रम खर्च रु १३ करोड ३० लाख, नगरस्तरीय योजना तथा कार्यक्रम खर्च रु तीन करोड ८५ लाख ५४ हजार २७६, दायित्व गत आवको योजना कार्यक्रम खर्च रु ३० करोड, केन्द्र प्रदेश र अन्य समपूरक योजनाको खर्च रु आठ करोड ५० लाख, गत आव भुक्तानी बाँकी खर्च रु दुई करोड ५१ लाख २४ हजार ७२४, सङ्घीय सरकार सःशर्त, विशेष र समपूरक योजनाको खर्च रु ६५ करोड ८१ लाख, प्रदेश सरकार सःशर्त, विशेष र समपूरक योजनाको खर्च रु पाँच करोड ४० लाख गरी कूल बजेट खर्च रु एक अर्ब ८६ करोड ४७ लाख ७९ हजार अनुमान गरिएको होे ।
त्यसैगरी आव २०७९÷०८० मा चालुतर्फका कार्यक्रम, प्रशासनिक खर्च र कार्यालय सञ्चालनतर्फ कूल खर्च रु ४७ करोड ७२ लाख ७७ हजार अर्थात् कूल बजेट खर्चको २५.५९ प्रतिशत रहेको छ । विकास र सशक्तीकरणका कार्यक्रम, सःशर्तका कार्यक्रमतर्फ कूल खर्च रु एक अर्ब ३७ करोड ९७ लाख ७९ हजार कूल बजेट खर्चको ७३.९९ प्रतिशत हुने बताएको छ ।
यसैगरी वित्तीय खर्चतर्फ रु ७७ लाख २३ हजार विनियोजन गरिएको छ । यो कूल बजेट खर्च अनुमानको ०.४१ प्रतिशत हुन आउने उमप्रमुख चौधरीले जानकी दिनुभयो । प्रस्तुत बजेटमा स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार निर्माण र कृषिलाई प्राथमिकता दिइएको छ ।
बजेटमा स्वास्थ्यतर्फ विपन्न परिवारलाई उपमहानगरभित्रको अस्पताल तथा स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार गर्न आवश्यक व्यवस्था गरिएको छ । त्यस्तै उपमहानगरले स्थापना गरी सञ्चालनमा ल्याएको १५ शय्याको तुलसीपुर भीमसेन मेट्रो अस्पताललाई स्तरोन्नति गरी गुणस्तरीय, सर्वसुलभ र उपचारात्मक तथा निदानात्मक सेवालगायत विशिष्ट सेवा सञ्चालन गर्न र पालिकालाई निःशुल्क शल्यक्रियाका माध्यमबाट एक वर्षभित्र मोतियाविन्दुमुक्त समाजका रूपमा रूपान्तरण गर्न आवश्यक रकम विनियोजन गरिएको छ ।
यस्तै किशोर–किशोरीमैत्री स्वास्थ्य सेवालाई प्रभावकारीरूपमा सञ्चालन गर्न किशोर–किशोरी सूचना तथा मनोसङ्कट सहयोग केन्द्र स्थापना गरिने छ । उपप्रमुख चौधरीले प्रस्तुत गरेको बजेट वक्तव्यमा नगरस्तरमा औषधि भण्डारण भवन निर्माण तथा खोप कोल्डचेन, अत्यावश्यक गुणस्तरीय औषधि, औजार तथा उपकरणको व्यवस्था गर्न र थारू समुदायमा रहेको सिकलसेल एनिमिया, हेमोफिलियालगायतका रोगको उपचार सेवालाई प्रभावकारी बनाउनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
खानेपानी सेवा विस्तारअन्तर्गत फूलबारी डिपबोरिङ तुलसीपुर उपमहानगर–१३ लाई रु ५० लाख, राजपुर धारगाउँ खानेपानीलाई रु २० लाख र अश्वारा खानेपानीलाई रु २० लाख बजेटको व्यवस्था भएको छ । शिक्षामा विद्यार्थीको पहुँच सुनिश्चित गर्नका लागि यसै आवदेखि आधारभूत तहअन्तर्गत कक्षा १ देखि ८ सम्म पूर्णरूपमा निःशुल्क बनाउन र शिशु कक्षा सहयोगीको क्षमता, दक्षता र कार्यका आधारमा शिशुकक्षा सहयोगी कार्यकर्ता, विद्यालय सहायक कर्मचारी र कार्यालय सहयोगीलाई थप सेवा सुविधाका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।
त्यस्तै विद्यालयलाई आवश्यक विज्ञान, कम्प्युटर प्रयोगशाला, पुस्तकालय, कक्षाकोठालगायत अन्य भौतिक संरचनामा थप जोड दिँदै त्यस्ता संरचनालाई बालमैत्री तथा अपाङ्गतामैत्री बनाउनका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ । विभिन्न विश्वविद्यालयसँग सहकार्य गरेर कृषि, वन विज्ञान, चिकित्सा, इञ्जीनियरिङ, फुड टेक्नोलोजी, मेडिकल साइन्सजस्ता प्राविधिक शिक्षा सञ्चालनका लागि सङ्घ, प्रदेश सरकारसँग सहकार्य गरेर आवश्यक बजेट व्यवस्था गरिने उपप्रमुख चौधरीले बताइन् ।
युवा तथा खेलकुदतर्फ कम्तीमा एक शैक्षिक संस्था एक सामुदायिक उद्यम कार्यक्रमका लागि रु पाँच लाख विनियोजन गरिएको छ । त्यस्तै लैङ्गिक हिंसामा परेका महिलाको उपचार तथा पुनःस्थापनाका लागि उपप्रमुख महिला सुरक्षा आवास कार्यक्रमलाई बजेट विनियोजन गरिएको छ । भाषा तथा संस्कृति र पर्यटन प्रवद्र्धनका लागि तुलसीपुर उपमहानगरलाई पर्यटनको हबका रूपमा विकास गर्न ‘घुम्न जाऊँ तुलसीपुर’ अभियानलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको छ भने पर्यटन प्रवद्र्धन र उद्यम विकास गर्न होमस्टेको विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको उपप्रमुख चौधरीले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
तुलसीपुर विमानस्थलको स्तरोन्नतिका लागि पनि आवश्यक व्यवस्था बजेटमा गरिएको छ । त्यस्तै भू–उपयोग नीति–निर्माण गर्दै जग्गाको वर्गीकरण गरी कृषि उत्पादनको पकेट क्षेत्र निर्धारणलाई निरन्तरता दिन मौरी, बाख्रा र नयाँ तरकारी बालीको पकेटका लागि रु २५ लाख बजेट विनियोजन गरिएको छ भने व्यासायिक कागती खेतीका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ । धानबाली प्रवद्र्धन कार्यक्रमका लागि रु २५ लाख बजेट विनियोजन भएको छ । त्यस्तै बजेटमा पशु स्वास्थ्य सेवा प्रभावकारी बनाउन डिस्पेन्सरी सञ्चालन एवं प्रयोगशाला निर्माण तथा दुर्गम क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था, कृषकले उत्पादन गरेको दूधको बजार व्यवस्थापन हुन नसक्ने अवस्थामा चिलिङ सेन्टर स्थापना गर्न लागत साझेदारीवापतको रकम रु १५ लाख ५० हजार बजेट व्यवस्था गरिएको छ ।
त्यस्तै बजेटमा भूमि समस्या समाधान आयोगसँगको सहकार्यमा जग्गाविहीन, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । बजेटमा नगरको फोहरलाई मोहरमा बदल्न र दीर्घकालीन व्यवस्थापन गर्न दीर्घकालीन ल्याण्डफिल साइटको व्यवस्था र फोहरलाई वर्गीकरण तथा व्यवस्थापनका लागि आवश्यक व्यवस्था गरिने छ । त्यस्तै मावि दोघरे स्कुलको भवन निर्माण गर्न थप रु एक करोड ३० लाख बजेट विनियोजन भएको छ । सहरी विकास कार्यक्रमका लागि उरहरि चोकबाट दामोदर मार्ग छुने सडक तथा नाला निर्माणका लागि रु ४९ लाख बजेट विनियोजन भएको छ । यस वर्ष पनि सुरक्षित नागरिक आवास कार्यक्रमबाट एक हजार १०५ घरधुरीलाई खरको छानो विस्थापन गर्न रु दुई करोड ३३ लाख, मेट्रो कलेजको भवन निर्माण गर्न समपूरक बजेटबाट रु एक करोड ६० लाख र वडा कार्यालय भवन निर्माण गर्न वडा नं ४, १३ र १९ का लागि समपूरक बजेटबाट रु एक करोड ६० लाख बजेट विनियोजन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको वडा नं १, ३, ४ र १९ का अग्ला स्थानबाट वायु ऊर्जा उत्पादनको सम्भाव्यता अध्ययनका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।
सोही कार्यक्रममा बोल्दै नगरप्रमुख टीकाराम खड्काले प्रस्तुत बजेटलाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताए । उनले सबैको साथ र सहयोगले मात्र आफूहरूले बजेट कार्यान्वयन गर्न सक्नेसमेत बताए ।

 

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  ०६:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार