सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठबीच कार्य सम्पादन सम्झौता भएको छ । महानगरका प्रमुख महर्जन र प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरे । यसैगरी प्रमुख प्रशासकीय अधिकृत र महाशाखा, शाखा प्रमुखबीच पनि कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भयो । यो सम्झौताले सुशासन कायम गर्न र कर्मचारीलाई काम गर्न प्रोत्साहित गरी उत्कृष्ट नतिजा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । महानगर प्रमुख महर्जनले महानगरको सबै शाखा महाशाखाले उत्कृष्ट काम गरेको बताए । पूर्वाधार, शिक्षा, स्वास्थ्य, राजश्व, आर्थिक प्रशासन महाशाखा लगायत शाखाले उत्कृष्ट काम गरेको बताए । महानगर प्रमुख महर्जनले ऐन नियमले गर्न मिल्नेसम्म सबै काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनले भने, ‘राम्रो काम गर्नुस्, डराउनु पर्दैन ।’ आर्थिक पारदर्शिता संस्थाको सबैभन्दा महत्वपूर्ण छवि भएको बताउँदै कहिं कतै आर्थिक अनियमितताको गन्ध पाए आफू ‘प्रोएक्टिभ’ हुने समेत उनले बताए । सुरक्षा र वृत्तिविकासको लागि कर्मचारीलाई सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जनप्रतिनिधिको निर्देशनमा कर्मचारीले उत्कृष्ट काम गरेको बताइन् । महानगरको शाख र इज्जत बढाउन सम्पूर्ण कर्मचारीलाई सक्रिय भएर काम गर्न अनुरोध गरिन् । कर्मचारीको मिहेनत र परिश्रमले ललितपुर महानगरलाई अब्बल महानगर बनाएको उनको भनाई थियो । सुशासन समितिका संयोजक तथा वडा नं. ३ का वडाअध्यक्ष श्रीगोपाल महर्जनले कार्य सम्पदान सम्झौताले सुशासन कायम गर्न सहयोग पुर्याउने बताए । यो सम्झौताले कर्मचारीको कामप्रतिको लगानशीलता र इमान्दारिता समेतमापन हुने बताए । कार्यक्रममा विभिन्न शाखा,महाशाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।