सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । सरकारले पशुपन्छी ढुवानी मापदण्ड संशोधनका लागि सरोकारवालाहरूसँग सुझाव मागेको छ । मापदण्ड संशोधनका लागि अग्रसरता लिँदै आएको पशु सेवा विभागले एक सूचना जारी गर्दै सरोकारवालाहरूसँग लिखित सुझाव मागेको हो । विभागले संशोधनका लागि आफूले तयार गरेको मापदण्ड संशोधनको मस्यौदा पनि सार्वजनिक गरेको छ । विभागका महानिर्देशक डा. रामनन्दन तिवारीद्वारा जारी सूचनामा समसामयिक संशोधनका लागि तयार गरिएको ढुवानी मापदण्डको मस्यौदामा लिखित रूपमा सुझाव उपलब्ध गराउन भनिएको छ । लिखित सुझाव विभागमा गएर वा इमेलमार्फत दिन सकिनेछ । पशु कल्याण र अधिकारको क्षेत्रमा डेढ दशकदेखि काम गर्दै आएकी स्नेहाज केयरकी संस्थापक अध्यक्ष एवम् पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले उक्त मापदण्डमा जरिवानाको विषयलाई प्राथमिकता दिएर उल्लेख गनुपर्ने बताइन् । उनले शब्दपाटी डिजिटल मिडियासँग भनिन् ,‘ एक लाख भन्दा माथि जरिवाना तोक्नुपर्छ । ’ अहिले जनावर बोक्नका लागि सिमेन्ट र डण्डी बोक्ने ट्रक वा सवारी साधन प्रयोग भइरहेको बताउँदै उनले भनिन् ‘ विशेष ट्रकको व्यवस्था हुनुपर्छ, जुन पायो त्यही सवारी साधनमा जनावर बोक्नु जनावरलाई दुव्र्यवहार गर्नु हो, जनावरमाथि अन्याय गर्नु हो ।’ पशु अधिकारको हनन गर्ने, पशुमाथि दुव्र्यवहार गर्ने माथि हुने सजायको बारेमा मापदण्डमा उल्लेख हुनुपर्ने श्रेष्ठले बताइन् । पशुपन्छी ढुवानीलाई व्यवस्थित गर्न सरकारले २०६४ मा मापदण्ड जारी गरेको थियो। १८ वर्षअघिको मापदण्डलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरोकारवालाहरूबाट माग भइरहेका बेला सरकारले यसलाई संशोधन गर्न अग्रसरता लिएको हो ।