न्यायालयको विवाद चाँडै समाधान होस् भन्ने पार्टीको चाहना छ : देव गुरुङ

सोमबार, मंसिर ६, २०७८
काठमाडौं, ६ मंसिर : नेकपा माओवादी केन्द्र संसदीय दलका  प्रमुख सचेतक देव गुरूङले न्यायालयको विवाद  चाँडै समाधान होस् भन्ने आफ्नो पार्टीको मत रहेको बताएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनले सोमबार बुझाएको ज्ञापनपत्र बुझ्दै गुरुङले यसबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउने वचन दिए । 
‘न्यायलयमा उठेका प्रश्न र न्यायालयको शुद्धीकरणका सम्बन्धमा ध्यानाकर्षण भयो’, बारका पदाधिकारीसँग गुरुङले भने, ‘छिटोभन्दा छिटो निकास दिनुपर्छ भन्ने दलहरू एकमत छन् । ध्यानाकर्षण भएको छ । पार्टी पनि छिटो समाधान होस् भन्ने धारणामा छ ।’
कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोेजेको लगायतका आरोप लगाएर बार निरन्तर तीन साताभन्दा लामो समयदेखि आन्दोलित छ ।
यसअघि सोमबार नै बारले  सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई जबरालाई महाअभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । 
 
संवैधानिक दायरा, सीमा र दायित्वअनुसार अघि बढ्छु : तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बारको अन्दोलनप्रति ध्यानाकर्षण भएको बताएका छन् । नेपाल बार एसोसिएसनले बुझाएको ज्ञापनपत्र लिने क्रममा सोमबार उनले यस्तो बताएका हुन् । सो अवसरका उनले संवैधानिक दायरा, सीमा र दायित्वअनुसार अघि बढ्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले भने, ‘बाँकी त माननीयज्यूहरूले गर्नु हुन्छ । संवैधानिक सीमाअनुसार म पनि पहल गर्छु ।’
ज्ञापनपत्रमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि १७ अभियोग लगाइएको छ। प्रधानन्यायाधीशको राजीनामा माग्दैै तीन साताभन्दा बढी समयदेखि बार आन्दोलनरत छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  २०:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार