सत्तारुढ दलभित्रको विवादका कारण विश्वासको मत लिने कार्यक्रम अन्योलमा

सोमबार, भदौ ८, २०८३

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले लिने तयारी गरेको विश्वासको मत सत्ता गठबन्धनभित्रै देखिएको विवादका कारण अन्योलमा परेको छ ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले प्रदेश सभा बैठकसमेत प्रभावित भएको छ । सरकारमा सहभागी नेकपाका १३ सांसद सरकारमा भागवण्डा, मन्त्री छनोट र शक्ति बाँडफाँटको विषयलाई लिएर संसदीय दलका नेता शालिकराम जम्कट्टेलसँग असन्तुष्ट देखिएका छन् । नेकपाका सांसद युवराज चौलागाईंले दलभित्रको विवाद समाधान नभएसम्म प्रदेश सभा बैठकमा उपस्थित नहुने बताए । विवाद समाधानका लागि संसदीय दलका नेता जम्कट्टेलले सहजीकरण गरिरहेको उनको भनाइ छ । त्यस्तै, राप्रपामा पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा विवाद चर्किएको छ । पार्टीको केन्द्रीय निर्देशनविपरीत सरकारलाई समर्थन गरेको भन्दै राप्रपाले बागमती संसदीय दलका नेता उद्धव थापालाई कारबाही प्रक्रिया अघि बढाएको छ । राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले भने मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्विप जारी गरेकी छन् । कांग्रेसले पनि मुख्यमन्त्री मगरको नियुक्तिविरुद्ध परेको रिटको टुंगो नलाग्दै विश्वासको मत लिन प्रक्रिया अघि बढाइए प्रदेश सभा बहिष्कार गर्ने चेतावनी दिएको छ । कांग्रेसले मुख्यमन्त्रीको नियुक्ति संविधानसम्मत नभएको दाबी गर्दै अदालतमा परेको रिटको न्यायिक निरूपणलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै आएको छ । तीन वटै दलभित्रको विवादका कारण मुख्यमन्त्री मगरले विश्वासको मत लिने प्रक्रिया जटिल बनेको छ । दलहरूबीच सहमति जुटाउन आन्तरिक छलफल भइरहे पनि प्रदेश सभा बैठक कहिले र कसरी अघि बढ्ने भन्ने अझै निश्चित हुन सकेको छैन ।  १०४ सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। सत्ता गठबन्धनसँग पर्याप्त संख्या रहे पनि दलभित्रकै असन्तुष्टि र विवादले मुख्यमन्त्रीको विश्वासको मत प्रभावित हुने देखिएको छ ।  सोमबार दिउँसो १ बजेका लागि तय भएको प्रदेश सभाको बैठक समय परिवर्तन गरेर आजै साँझ ५ बजेका लागि सारिएको थियो । अझै बैठकको बस्न सकेको छैन ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  १८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार