केपी ओलीका कारण संविधान संसोधन रोकियो : प्रचण्ड

शनिबार, मंसिर ४, २०७८

रौतहट, ४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीका कारण संविधान संसोधन हुन नसकेको बताएका छन् । महिला बालबालिका, मुस्लिम, मधेसवासीको हक, अधिकार सुनिश्चित गर्ने गरि आफूले संविधान संसोधन प्रस्ताव प्रतिनिधिसभामा लगे पनि एमाले अध्यक्ष केपी ओलीले रोकेको उनले बताएका छन् ।
 रौतहटको कटहरीयमा शनिवार आयोजित आमसभामा उनले केपी ओलीलाई मधेशी जनता विरोधीे खलपात्रको रुपमा पनि व्याख्या गरे । उनले भने, ‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा मधेसी, महिला बालबालिका, उत्पिडित समुदाय, आदिवासी जनजातिलगायतलाई अझै अधिकार सम्पन्न बनाउने गरी संविधान संसोधनको प्रस्ताव प्रतिनिधिसभामा लगेको थिए । तर, संविधान विरोधी, गणतन्त्र विरोधी, धर्मनिरपेक्ष विरोध, मधेसी जनता विरोधी केपी ओलीले रोके ।’

सो अवसरमा उनले नेकपा माओवादी फेरि एक नम्बर पार्टी बन्ने पुरै सम्भावना छन् । उनले २०६४ सालमा जस्तै गरि यसपटक पनि माओवादी पार्टी एक नम्वर बन्ने उनको भनाई छ । उनले कार्यक्रममा हाल बन्द रहेको रौतहटस्थित श्रीराम सुगर मिल सञ्चालन गर्न, बकैया बागमति नदी नियन्त्रणका लागि तटबन्ध निर्माणमा पहल गर्ने बताए ।  यस्तै, उखु किसानको समस्या समाधान गर्न पहल गर्नुको साथै मधेसको निसाच समुदायको पहिचानका लागि विशेष संरक्षित समुदायमा राख्न कोशिश गर्ने पनि बताए ।

कार्यक्रममा मुस्मिल समुदायको माग अनुसार मुस्लिम विश्वविद्यालय स्थापनाको लागि पहल गर्ने पनि उनले घोषणा गरे ।


'अदालतमा राजनैतिक हस्तक्षेप नदेखियोस् भन्नेमा छौँ'
यता चितवनमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको समस्या अदालतभित्रैबाट समाधान होस् भन्ने चाहेको बताएका छन् । पत्रकार सम्मेलनमा उनले अदालतमा देखिएको समस्या अदालतभित्र बाटै समाधान हुनुपर्नेमा जोड दिए ।

उनले भने, “अहिले अदालतमा देखिएको समस्या सकेसम्म अदालतभित्रबाटै समाधान होस् भन्ने हाम्रो चाहना हो, राजनैतिक दलहरुले अदालतमाथि कुनै खालको दबाब र हस्तक्षेप गरेको कहीँ कतै नदेखियोस् भन्ने चाहना हो ।” अदालतमा देखिएको समस्याप्रति दलहरु चिन्तित रहेको उनको भनाइ थियो ।

उनले भने, “गठबन्धनका तर्फबाट हामीले बनाएको उच्चस्तरीय समितिको पहिलो औपचारिक बैठकले न्यायालयमा देखा परेको समस्याबारे गम्भीर ध्यानाकर्षण भएको र यसको गरिमा स्वतन्त्रतालाई अविच्छिन्न राख्ने गरी छिटोभन्दा छिटो समाधान होस् भन्न हाम्रो चाहना रहेको बताइसकेका छौँ ।” केही दिनभित्र नै समस्या समाधान हुने आशा रहेको उहाँको भनाइ थियो । उनले चाँडै समस्या समाधान गर्न अपिल गरिएको बताए।
उनले एमसिसीको विषयमा सर्वदलीय बैठकले टुङ्गो लगाउने जानकारी दिए । उनले भने, “एमसिसी त्यति ठूलो समस्या हो भन्ने लाग्दैन, सर्वदलीय, सर्वपक्षीय छलफलबाट यसको टुङ्गो लाग्छ ।”
नेकपा (एमाले)को महाधिवेशनपछि हुने सर्वदलीय बैठकमा यस विषयमा छलफल भएर अघि बढ्ने उनको भनाइ थियो । उनले थपे, “सुरुआतमा गरिएको समझदारी र पछि भएको समझदारीमा देखिएको विवादमा मात्रै केही समस्या हो ।”
पछिल्लो समय भएको समझदारीमा देखिएको अन्तरविरोधका कारण समस्या आएको उहाँको भनाइ थियो । उनले भने, “हामी अमेरिकी अनुदान फिर्ता जाओस् भन्ने चाहँदैनौँ ।” नेपाल र अमेरिकाबीचको सम्बन्ध ७५ वर्ष पुरानो रहेको जनाउँदै उनले एमसिसीको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।  
पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनले सहमतिमा नै नेतृत्व चयन गर्ने उनले विश्वास व्यक्त गरे । वडा, नगर हुँदै हुने अधिवेशनलगत्तै राष्ट्रिय सम्मेलन तोकिएकै मितिमा हुने उनले बताए। नेपाल कम्युनिष्ट पार्टीसँग एकता हुन लागेको हो भन्ने पत्रकारको प्रश्नमा उहाँले सहकार्य भएर अघि बढ्ने बताए। उनले भने, “विप्लवजीसँग मेरो नियमित जसो सम्पर्क भएको छ, अहिले भर्खर पार्टी एकता भन्ने होइन, सहकार्य गरेर जानुपर्छ भन्ने हो ।” बिस्तारै परिवर्तनका मुद्दामा सहकार्य गर्दै जाँदा एकता हुन पनि सक्ने उनको भनाइ थियो ।

 

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  २०:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार