आफ्ना मन्त्रीले भ्रष्टाचार गरे कारबाही गर्छौ : माधव नेपाल

शनिबार, मंसिर ४, २०७८

भक्तपुर, ४ मङ्सिर ।  नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालद्वारा मध्यपुरथिमिको बोडेमा आयोजित दुईदिने राष्ट्रिय भेलाको आज अन्तिम दिनको कार्यक्रममा उनले आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको र गलत गरे कारबाही गर्ने जानकारी गराएको बताए ।
उनले सरकारमा रहेका आफ्ना मन्त्रीले कुनै पनि गलत काम गरेमा कारबाही गरेर फिर्ता बोलाइने बताउँदै शिक्षा र स्वास्थ्यमा ज्यादै मुनाफा हुनेगरी निजीकरण गरिएकाले सरकारले त्यसलाई निरुत्साहित गरी जनताको सेवामुखी भएर काम गर्नुपर्नेमा जोड दिए ।
“स्वास्थ्य क्षेत्रमा भएका गलत कामलाई सुधार्न र विगतदेखि समस्या झेल्दै आएका कर्मचारीको समस्या समाधान गर्न स्वास्थ्यमन्त्री प्रतिवद्ध भएर काममा लागेको छ”, उनले भने, “स्वास्थ्य क्षेत्र भएका गलत कामकारवाहीलाई अब रोकिन्छ ।”
अध्यक्ष नेपालले नेकपा एमालेमा रहने सच्चा कम्यनिष्टलाई ढोका बन्द गरेपछि बाहिर आउनु परेको दाबी गरे। उनले भने, “ आफूहरुलाई एमालेमा बस्न ढोका बन्द गरेपछि सन्यास लिने कि आत्मसमर्पण गरेर केपी ओलीको टाङमुनी छिरेर बस्ने भन्ने भयो, हामीले त्यसलाई अस्वीकार गर्यौ र बाध्य भएर नयाँ पार्टी गठन गर्यौँ ।”

अहिले एमालेले बिद्रोह गरेको पार्टी सकिन्छ भन्ने भ्रम फैलाउदै हिडेको भन्दै उनले भ्रम छर्नु पर्दैन, पुष्पलालले अगाडि बढेकै बाटो नेकपा समाजवादीले हिँडेकाले त्यस्तो अवस्था नआउने दाबी गरे । अध्यक्ष नेपालले नेकपा समाजवादीमा आउनेको देशव्यापी लहर चलेको उल्लेख गर्दै राम्रो संस्कार जति समाजवादीमा ल्याएको र आउने क्रम जारी रहेको बताए । आज सम्पन्न हुने भेलाले घोषणापत्र जारी गर्ने बताइएको छ ।

माधव नेपाल जनकपुर आउँदै, दुई मन्त्रालयसहित नेकपा एस प्रदेश सरकारमा जाने

प्रमुख दलका शीर्ष नेताहरु पछिल्लो समय प्रदेश-२ केन्द्रीत हुन थालेका छन् । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कार्यक्रम गरेर फर्किएसँगै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि जनकपुर आउने भएका छन् । ७ मंसिरमा अध्यक्ष नेपाल जनकपुर आउने तय भएको नेकपा एस प्रदेश-२ कमिटीले जनाएको छ ।
अध्यक्ष नेपालले ७ गते तिनकोरियामा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै विभिन्न पार्टी परित्याग गरी नेकपा एसमा प्रवेश गर्ने २ सयभन्दा बढी नेता, कार्यकर्तालाई स्वागत गर्ने र भोलिपल्ट ८ मंसिरमा लहानको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको नेकपा एस प्रदेश-२ का अध्यक्ष धर्मदेव साहले जानकारी दिए ।
८ गते नै अध्यक्ष नेपाल जनकपुर फर्किएर प्रदेश कमिटीको कार्यालयको औपचारिक उद्घाटन गरेर संघीय राजधानी फर्कने कार्यक्रम रहेको अध्यक्ष साहको भनाइ छ ।

नेकपा एस प्रदेश-२ सरकारमा सहभागी हुँदै
यसैबीच नेकपा एस प्रदेश-२ को सरकारमा सहभागी हुने भएको छ । एसले सरकारमा सहभागी भएर उद्योग वन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्ने तय भएको अध्यक्ष धर्मदेव साहले जानकारी दिए ।
वन तथा वातावरण मन्त्रालयमा शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयमा प्रमोद यादव र राज्यमन्त्रीमा नागेन्द्र साहलाई पठाउने सहमति भइसकेको पनि उनको भनाइ छ ।
भोलि नै नेकपा एसबाट सिफारिस भएका मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम रहेको नेकपा एसले जानकारी दिएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १४:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार