प्रधानमन्त्री देउवालाई एमाले महाधिवेशनमा निम्तो

शनिबार, मंसिर ४, २०७८

काठमाडौं । नेकपा (एमाले) ले आगामी महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा पुगी प्रधानमन्त्री देउवालाई एमालेका संसदीय दलका नेता सुवास नेम्वाङ र महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा राजन भट्टराईले उद्घाटन समारोहमा आतिथ्यका लागि निमन्त्रणापत्र हस्तान्तरण गरेको एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गते चितवनमा हुँदैछ । उनका अनुसार एमालेले उद्घाटन समारोहमा आतिथ्यका लागि नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), नेपाल मजदुर किसान पार्टीलाई पनि निमन्त्रणा गरेको छ । आजै महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई समेत निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको हो । प्रचार विभाग उपप्रमुख थापाले चाँडै नै जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य सबै पार्टीलाई महाधिवेशनका लागि निमन्त्रणा गर्ने जानकारी दिए ।
 
आगामी निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन् । जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले राष्ट्रियसभा, उपनिर्वाचनसहित आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने  बताएका हुन् ।
उनले भने, “नेकपा एमालेलाई धुलो चटाउने छौँ ।” जनताको हित र देशको हितका लागि एकीकृत समाजवादी पार्टी निर्माण गरिएको बताउँदै उनले उच्च मनोबलका साथ अघि वढ्न कार्यकर्तालाई निर्देशन दिए ।
देशमा असम्भव ठानिएका काम आफ्नो नेतृत्वमा भएको भन्दै उनले अब समाजवादी पार्टीलाई मजबुद बनाउने कामसमेत आफ्नै नेतृत्वमा आएको बताए । उनले भने, “कर्तव्यनिष्ठ र समर्पित भएर पार्टीमा लाग्नुस्, जानताको साथ हामीमा हुने छ ।” यस पार्टीमा लागेर के पाइन्छ भन्ने नभई देश र जनतालाई केही गर्छु भन्ने भावना लिएर आउन उनले कार्यकर्तालाई आग्रह गरे ।
नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णराज पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, आन्तरिक मामिला  मन्त्री कृष्ण खनाल, पार्टीका प्रवक्ता जगन्नाथ खतिवडालगायतले बोलेका थिए ।

 

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  ०७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार