विप्लवको नेपाल बन्द : बारको आन्दोलनमा जाने वकिललाई नरोक्ने

सोमबार, कात्तिक २९, २०७८
काठमाडौं, २९ कात्तिक : मंगलबार नेपाल बन्द गरेको नेत्रविक्रम चन्द 'विप्लव' समूहले नेपाल बार एसोसिएसनको आन्दोलनमा जाने अधिवक्तालाई नरोक्ने भएको छ ।

न्यायालय शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार देशव्यापी आन्दोलनमा उत्रिएको छ । प्रधानन्यायाधीश बहिर्गमनका लागि अधिवक्ताहरु दिनहुँ धर्ना र नाराबाजी गरिरहेका छन् । यसैक्रममा मंगलबार घोषित नेपाल बन्दमा आन्दोलन के हुने अन्योलका बीच बार महासचिव लिलामणी पौडेलले सोमबार साँझ विज्ञप्ति जारी गरेर बन्दमा अधिवकतालाई अवरोध नहुने जानकारी गराएका छन् ।

विप्लव समूहले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा भोलि नेपाल बन्द आह्वान गरेको छ ।

'भोलि विप्लव समूहले नेपाल बन्दको कार्यक्रम राखेको भए पनि कानून व्यवसायीहरुको शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन कालो कोट, बारको लोगो र परिचय पत्र सहित बार एशोसिएशन र अदालतमा उपस्थित हुने कानून व्यवसायीहरुलाई कुनै रोक, अवरोध नगर्ने भन्ने अनौपचारिक जानकारी सहमति भएको छ,' विज्ञप्तिमा भनिएको छ ।

विज्ञज्ञप्तिमा सर्वोच्च अदालतलगायत देशभरका सबै कानून व्यवसायीहरुलाई कुनै अवरोध नहुने र नरहने भएकोले सम्पूर्ण कानून व्यवसायीलाई बार र एकाईहरुबाट गरिने कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ ।

प्रहरीले खाेस्याे विप्लवकाे मशाल

यता, ओखलढुंगामा  नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले निकालेकाे मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर मशाल खाेसेकाे छ । चर्काे मूल्य वृद्धिकाे विरुद्धमा आन्दाेलन गर्दैकाे उक्त पार्टीले भोलि ३० कात्तिकमा नेपाल बन्द घाेषणा गरेर आज मशाल जुलुस निकालेकाे थियाे । सिद्धिचरण नगरपालिका- १२ स्थित गणेशचाेक नजिकैबाट सुरु भएकाे जुलुस प्रहरीले गणाेशचाेकमै राेकेकाे थियाे । 

प्रहरीले राेकेपछि एक दर्जन संख्यामा रहेका आन्दाेलनकारीले मशाल भुइँमा बालेर नारा जुलुस सुरु गरेका थिए । भुइँमा बालेकाे मशालमा समेत प्रहरीले पानी हालेर निभएकाे थियाे । आन्दाेलनकारी भन्दा प्रहरीकाे संख्या बढी भएपछि चाेकमै काेणसभा गरेर नेपाल बन्द सफल बनाउन अपिल गर्दै जुलस निकाल्नेहरू फर्केका थिए । 

मंगलबार नेपाल बन्द घाेषणा गरेपछि सुरक्षााकर्मी साेमबार साँझदेखि नै परिचालन गरिएकाे छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  २०:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार