प्रदेशका महत्वकाक्षी योजनाका लागि बजेट थपिदिन सङ्घ सरकारको ध्यानाकर्षण

शनिबार, कात्तिक २७, २०७८

गण्डकी, २७ कात्तिक । बजेट अभावका कारण योजना कार्यान्वयनमा समस्या आएको भन्दै गण्डकी प्रदेश सरकारले बजेट थपिदिन सङ्घ सरकारको पुनः ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री जनार्दन शर्मा पोखरा आएका अवसरमा भएको भेटघाटका क्रममा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरूले ध्यानाकर्षण गराएका हुन् ।  प्रदेशमा आम्दानीको स्रोत सीमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसैअनुसार बजेट विनियोजन गरिदिन मुख्यमन्त्री पोखरेलले अर्थमन्त्रीसँग आग्रह गरे । 
सङ्घीय शासन व्यवस्थासँगै सङ्घबाट प्रदेशमा स्वतः अधिकारहरू हस्तान्तरण भएको बताउँदै उहाँले ती अधिकार कार्यान्वयन र नागरिकका जनअपेक्षा पूरा गर्न त्यसैअनुसारको बजेट व्यवस्थापन आवश्यक रहेको बताए । प्रदेश सरकारले आफ्नो सामथ्र्यअनुसार कार्यसम्पादन गरिरहेको र मागका तुलनामा स्रोत अपुग हुँदा प्रदेशका लागि अत्यावश्यक काम सुरु गर्न नसकिएको उनले जानकारी दिए । 
प्रदेशकै सर्वाधिक महत्वको सडक दुम्कीवास–त्रिवेणी सडकखण्ड निर्माणका लागि चितवन राष्ट्रिय निकुञ्ज बाधक भएको भन्दै मुख्यमन्त्री पोखरेलले करिब आठ किलोमिटर खण्डमा सुरुङमार्ग निर्माणका लागि अर्थमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । यसअघि असोज १९ गते मुख्यमन्त्री पोखरेल काठमाडौँ पुगेर प्रदेशका समस्याका बारेमा प्रधानमन्त्री र अर्थमन्त्रीलाई  भेटेरै लिखित पत्रसमेत बुझाएका थिए । 
मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशसभाको भवन निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको र यसका लागि रु ७५ करोड लाग्ने बताउँदै सहयोगको अपेक्षा गरे । प्रदेशका रणनीतिक महत्वका (स्थानीय तहको केन्द्र जोड्ने) सडकमध्ये ३३९ किलोमिटर निर्माणाधीन अवस्थामा छन् । निर्माणका लागि डिपिआर भइसकेको २८७ किलोमिटर सडक रहेको र यी दुवै खालका सडक निर्माणका लागि रु १४ अर्ब ३५ करोड चाहिनेमा बहुवर्षे प्रकृतिका यी योजनाका लागि चालु आवमा रु तीन अर्ब आवश्यक परेको उनले बताए । 
उक्त अवसरमा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले डिपिआर भइसकेका ५० मोटरेबल पुलका लागि अनुमानित बजेट रु तीन अर्ब लाग्नेमा यस आवका लागि रु ७० करोड आवश्यक पर्ने जानकारी दिए । 
ठेक्का लागिसकेका कार्यक्रम सम्पन्न गर्न रु सात अर्ब आवश्यक पर्नेमा चालु आर्थिक वर्षका लागि रु चार अर्ब अपुग रहेको बताउँदै उहाँले सङ्घले हतान्तरण गरेका योजनाका लागि रु पाँच अर्बमध्ये न्यूनतम हालका लागि कम्तीमा पनि रु तीन अर्ब आवश्यक भएको बताए । सङ्घबाट हस्तान्तरण भइआएका सशर्तका योजना सम्पन्न गर्न पनि रु ७० करोड अपुग रहेको उनले बताए । 
प्रदेशले सञ्चालन गरेका र गर्ने योजनाका लागि रु २९ अर्ब ८० करोड आवश्यक पर्नेमा चालु आर्थिक वर्षका लागि रु ११ अर्ब ४५ करोड चाहिएकाले रकम निकाशाका लागि सहजीकरण गरिदिन उहाँले अनुरोध गरे । बजेटका अतिरिक्त प्रदेश सरकारले सङ्घ सरकारको स्वामित्वको जमिन उपभोग सहजताका साथ गर्न मिल्ने गरी प्रक्रिया निर्धारणका लागि समेत उक्त अवसरमा ध्यानाकर्षण गराइयो ।
विकास साझेदारहरूको उपस्थिति गराउन, पोखरा क्षेत्रीय विमानस्थललाई समयमै सञ्चालनमा ल्याउनका लागि आवश्यक बजेट र अन्तर्राष्ट्रिय उडान गर्ने एअरलाइन्स र अनुमति लिनुपर्ने संस्थासँग समन्वयका लागि पनि प्रदेश सरकारले अर्थमन्त्रीसँग आग्रह गरेको छ । गोरखकाली टायर उद्योग, भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा पनि प्रदेशले मागेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले सङ्घ सरकारसँग पनि बजेटको सीमितता रहेको बताउँदै प्रदेशका योजनाका लागि बजेट व्यवस्थापन गर्न सङ्घ सरकार संवेदनशील रहेको बताए । यसका लागि मुख्यमन्त्री र प्रदेशका अर्थमन्त्रीहरूलाई सँगै राखेर छलफल गर्ने र प्रदेशका आवश्यकता पूरा गर्न प्रयास गरिने उनले बताए । अघिल्लो वर्षका योजनाले नै रु तीन खर्ब दायित्व बोकेको उल्लेख गर्दै अर्थमन्त्रीले अहिले त बाढीपहिरो र बेमौसमी झरीले झनै समस्या निम्त्याएको र झरीले धानबालीमा मात्र रु सात अर्बभन्दा बढीको क्षति पु¥याएको बताए ।
सडकका लागि जथाभावी बजेट व्यस्थापन भन्दै यसको नियन्त्रणका लागि सडकको वास्तविक अवस्था पत्ता लगाइ नक्शाङ्कन गर्न भौतिक पूर्वाधार मन्त्रालयले काम थालिसकेको बताए । विकास निर्माणका काम एकातिर रहँदा अहिलेको सरकार कुन परिस्थितिमा बनेको हो र दायित्व के हो भन्नेबारेमा संवेदनशील हुनुपर्ने उनको भनाइ छ । अघिल्लो सरकारले ल्याएको बजेटमा अहिले २.८ प्रतिशत मात्र तलमाथि पारेको भन्दै उनले बाँकी बजेट जस्ताको तस्तै राखिएको जानकारी दिए । स्रोत सुनिश्चितता नभएका योजना मात्र खारेज गरिएको जानकारी दिँदै उनले राजस्व वृद्धिमा विशेष जोड दिएको र सुरुआती महिनामै राम्रो सङ्केत देखिएको बताए ।–रासस
 

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १९:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार