रसुवामा क्रियाशील सदस्यता विवाद 

बुधबार, कात्तिक २४, २०७८

काठमाडौँ, २४ कात्तिक । नेपाली कांग्रेसको छानविन समितिले नै फाराम नभरेका व्यक्तिलाई पनि क्रियाशली सदस्यता सदर गरिदिएको भन्दै हिमाली जिल्ला रसुवामा विवाद उत्पन्न भएको छ । 
नेपाली कांग्रेसको क्रियाशील सदस्यता फाराम नभरेकालाई क्रियाशील सदस्यता प्रदान गरेपछि विवाद बढेको हो । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा फाराम नभरेका एक सयभन्दा बढी व्यक्तिलाई छानविन समितिले नै सिधै क्रियाशील सदस्यता दिएको यहाँका कांग्रेस कार्यकर्ताले बताएका छन् । 
वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यको नामावली काटेर फाराम नै नभरेकालाई सदस्यता प्रदान गरेपछि कांग्रेसका रसुवाका युवा छानविन समितिप्रति आक्रोसित भएका हुन् । 
नेपाली कांग्रेस नौकुण्ड गाउँपालिका–१ रसुवाका वडा सभापति आशिष तामाङले जिल्लामा स्वच्छेचारी ढङ्गले सदस्यता वितरण गरिएको अरोप लगाउँदै क्रियाशील सदस्यताले पार्टीप्रति इमान्दार र आस्थावान् कार्यकर्ताको मनोवल गिराउने काम भएको बताए । 
पार्टीको १४औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा एमालेको वडा कमिटीमा रहेकालाई पनि क्रियाशील सदस्यता वितरण गरिएको कांग्रेसका युवाले जनाएका छन् । 
तिहार अगाडि ७५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गिँदा रसुवा र रौतहटको क्रियाशील सदस्यता टुङ्गिन बाँकी रहेकामा यहाँको आइतबार मात्र टु्ङ्ग्याइएको थियो । 
क्रियाशील सदस्यता विवाद समाधान समितिले पार्टीभित्रका इमान्दार नेता तथा कार्यकर्ताको मनोबल उकास्न नसकेको भन्दै नेपाली कांग्रेस रसुवाले आपत्ति जनाएको छ । वडा कार्यसमितिबाट सिफारिस गरिएका कार्यकर्ताको क्रियाशील सदस्यता कटौती गर्ने र विधानविपरीत गैरकांग्रेसलाई जबर्जस्ती सदस्यता वितरण गरिएको भन्दै क्रियाशील सदस्यता छानविन समितिको आलोचना भएको छ । 
क्रियाशील सदस्यताको छानबिन निष्पक्षरुपमा नभएसम्म १४ औँ महाधिवेशनमा भाग नलिने रसुवाका नेता कार्यकर्ता बताउँछन् । रसुवामा कांग्रेसका क्रियाशील सदस्यको सङ्ख्या तीन हजार ८५७ पुगेको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  २२:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार