सोसल मिडिया
Contact Us
युनिकोड
बुटवल : नेकपा एमाले रुपन्देहीले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा यही कात्तिक २७ गते एकसाथ महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया थाल्ने भएको छ । एमाले जिल्ला कमिटी रुपन्देहीको मंगलबार बुटवलमा बसेको सचिवालय बैठकले जिल्लाका १६ हजार ३१० जना पार्टी सदस्यको संलग्नतामा पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा दलित पार्टी सदस्यको हकमा जिल्लास्तरमा प्रतिनिधि छनौटको प्रक्रिया एकैसाथ अगाडि बढाउने निर्णय गरेको हो ।
सबै निर्वाचन क्षेत्रको तयारीका लागि जिल्ला सदस्य र पालिका पदाधिकारीसमेतको संयुक्त बैठक बसी निर्वाचन कमिटी गठन गर्ने र निर्वाचन केन्द्र तोक्नसमेत निर्देशन दिएको एमाले जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए ।
एमाले जिल्ला अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा पुष्पलाल स्मृति भवन बुटवलमा बसेको बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लीला गिरीले मुलुकको सबैभन्दा सशक्त पार्टी एमाले हो भन्ने कुराको पुष्टि वडा र पालिका अधिवेशनले गरेको बताए ।
तोकिएकै समयमा वडा र पालिका स्तरका कमिटीहरूका अधिकांश ठाउँमा सर्वसम्मत नेतृत्व चयन गरी सभ्य र भव्य रूपमा अधिवेशन सम्पन्न गरेर पार्टी एकताबद्ध रहेको प्रमाणित भएको पनि उनले बताए । उनले आगामी मुख्य कार्यभारका रूपमा महाधिवेशन सम्पन्न गर्नु र एमालेको आन्तरिक एकतालाई अझ मजबुत भएको प्रमाणित गरेर देखाउनुपर्ने बताए ।
बैठकमा केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज दधिराम न्यौपाने, सहइन्चार्ज एकराज विश्वकर्मालगायतले पनि बोलेका थिए । बैठकले बेमौसमी वर्षाका कारण रुपन्देहीमा धानबाली नष्ट भई किसानहरू मर्कामा परेकाले त्यसको यथार्थ विवरण संकलन गरी उचित राहत र क्षतिपूर्ति दिन संघीय, प्रदेश र स्थानीय सरकारसँग माग गरेको छ ।
बैठकले प्रदेश कमिटीका सल्लाहकार दुर्गा उपाध्याय, प्रदेश कमिटी सचिव भूमिश्वर ढकालकी आमा गंगा तुलसा ढकाल, प्रदेश कमिटी सदस्य कुमार थापाकी श्रीमती खुमा बुढा र छोरी कृति थापा, जिल्ला निर्वाचन कमिटी सदस्य उमाकान्त बस्यालका बुवा जदुपति बस्याल, प्रदेश कमिटीका सल्लाहकार डोलेन्द्र जिआरकी श्रीमती देउकुमारी गहतराजको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
एमाले गण्डकीमा जम्बो कमिटी, थपिए ३०० जना
दशौँ महाधिवेसनको सँघारमा रहेको नेकपा एमालेले गण्डकी प्रदेश कमिटी र सचिवालय विस्तार गरेको छ । साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतको फैसलाले वैधता नदिएपछि २ जेठ २०७५ मा फर्किएको एमालेले सोही आधारमा रहेर कमिटी विस्तार गरेको हो ।
अब एमालेको गण्डकी कमिटी सदस्य ४०८ पुगेका छन् । यसअघि १०८ सदस्यीय कमिटीमा ३०० जना थपिएको हो । यस्तै, सचिवालय सदस्यसमेत जम्बो बनाइएको छ । पहिलेको १४ सदस्यीय सचिवालय विस्तार गरेर ६७ सदस्यीय बनाइएको छ । सोमबार बसेको प्रदेश कमिटी बैठकले ५३ जनालाई सचिवालय सदस्यमा मनोनीत गरेको हो ।
प्रदेश कमिटीमा सबैभन्दा कम मनाङबाट दुई जना र सबैभन्दा बढी कास्कीबाट ९९ जना थप भएका छन् । यसबाहेक मुस्ताङबाट ११ जना, म्याग्दीबाट १४, बागलुङबाट ४७, पर्वतबाट १५, स्याङ्जाबाट ४६, तनहुँबाट २०, नवलपुरबाट १९, लमजुङबाट नौ र गोरखाबाट १८ जना थपिएका हुन् । एमालेबाट थपिएका दुवै कमिटीमा समानुपातिक सिद्धान्तलाई बेवास्ता गरिएको छ ।
महाधिवेशन प्रतिनिधिमै ३३ प्रतिशत महिला अनिवार्य गरेको एमालेले प्रदेश कमिटीमा सदस्य थप्दा १३ प्रतिशत मात्र महिला उपस्थित गराएको छ भने सचिवालयमा पनि १० प्रतिशत हाराहारी मात्र महिला समेटेको छ ।
अहिले दुवै कमिटी ठूला भए पनि महाधिवेशनपछि हुने प्रदेश अधिवेशनमा भने यो संख्या घट्नेछ । महाधिवेशनबाट १४० जना मात्र निर्वाचित हुनेछन् भने २८ जना मनोनीत हुनेछन् । एमालेको विधानमा आधार सदस्य ५० जना र प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट पाँच जनाका दरले निर्वाचिन हुन्छन् ।
गण्डकीमा १८ वटा निर्वाचन क्षेत्र छन् । अधिवेशनपछिको बैठकले १० प्रतिशत पार्टीभित्रबाट मनोनीत गर्नेछ भने १० प्रतिशत अन्य पार्टीबाट प्रवेश गरेकाहरूलाई सदस्यमा मनोनयन गर्नेछ ।
दशौँ महाधिवेशनमा प्रदेश कमिटीबाट दुई महिलासहित पाँच जना महाधिवेशन प्रतिनिधि प्रदेश कमिटीबाट मनोनीत हुनेछन् । महाधिवेशन भन्दा पनि प्रदेश कमिटीको निर्वाचन लक्षित अहिले सदस्य थप गरिएको बताइएको छ । ‘केन्द्रीय महाधिवेशनमा यसले खासै अर्थ राख्दैन । तर, प्रदेश अधिवेशनका लागि यी सबै सदस्य आयोजक समितिमा रहने अवस्था हुन्छ । उनीहरू भूगोलबाट चुनिनुपर्दैन’, एक नेताले भने, ‘जो भूगोलमा कमजोर छ, उनीहरूलाई मन फुकाएर समेटिएको छ । भोलि उनीहरू स्वतः प्रदेश कमिटीमा रहन सक्छन् ।’
२७ कात्तिकमा महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । गण्डकीका सबैजसो जिल्लामा मतदान अधिकृत खटिएका छन् भने निर्वाचन प्रक्रिया पनि सुरु भइसकेको छ । एमाले विधानअनुसार एक हजार २०० संगठित सदस्य भएको निर्वाचन क्षेत्रबाट दुई महिलासहित पाँच जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् भने त्यसपछि प्रत्येक ८०० संगठित सदस्य थपिँदा एक जना महाधिवेशन प्रतिनिधि चुनिनेछन् ।
गण्डकी प्रदेशमा हाल ७८ हजार ९३५ जना संगठित सदस्य छन्, जसमा सबैभन्दा धेरै कास्कीमा १७ हजार ४८६ जना छन् भने सबैभन्दा कम मनाङमा १७९ जना छन् । मुस्ताङमा ५२५ जना, म्याग्दीमा तीन हजार ७३७ जना, बागलुङमा पाँच हजार २०५ जना छन् । यस्तै, तनहुँमा छ हजार १०४ जना, लमजुङमा छ हजार ४३२ जना, पर्वतमा छ हजार ७६०, गोरखामा सात हजार ६४४, नवलपुरमा ११ हजार २१५ र स्याङ्जामा १३ हजार ६४८ जना रहेका प्रदेश कमिटी संयोजक किरण गुरुङले जानकारी दिए ।
गण्डकी प्रदेशबाट समग्रमा १४६ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । जिल्लागत रूपमा १४१ र प्रदेश कमिटीबाट पाँच जनाले महाधिवेशनमा मतदान गर्न पाउनेछन् । मनाङ र मुस्ताङबाट पाँच/पाँच जना, म्याग्दीमा आठ जना, बागलुङमा १०, तनहुँबाट ११ जना र लमजुङबाट १२ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनेछन् । यस्तै, पर्वतबाट १२, गोरखाबाट १४, नवलपुरबाट १८, स्याङ्जाबाट २१ र कास्कीबाट २५ जना महाधिवेशन प्रतिनिधि बन्नेछन् । यद्यपि, क्षेत्रगत हिसाबले यो संख्या तलमाथि हुन सक्छ ।