टनेलको प्रवेशद्वार खोज्दै सेना

बाढी प्रभावित क्षेत्रमा उद्धार र उपचार जारी
शनिबार, भदौ १३, २०८३

काठमाडौं । रसुवामा आएको बाढीपछि खोज तथा उद्धारमा परिचालित नेपाली सेनाले भदौ १० गतेदेखि १३ गते साँझसम्म स्थल र हवाई माध्यमबाट २ हजार ६५० जनाको उद्धार गरेको छ । नेपाली सेनाका अनुसार भदौ १३ गते साँझ ६ बजेसम्म मात्रै हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायत क्षेत्रबाट ५५० जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ५४ जना विदेशी नागरिक छन्। जसमा ४६ चिनियाँ र ८ भारतीय नागरिक रहेका छन् ।
२१६ विदेशीसहित २६५० जनाको उद्धार
सेनाका अनुसार भदौ १० गतेदेखि हालसम्म स्थलमार्फत २०० र हवाई साधनमार्फत २ हजार ४५० जनाको उद्धार गरिएको छ । हवाई उद्धार गरिएकामध्ये २१६ जना विदेशी नागरिक छन् । सेनाले उपलब्ध गराएको विवरणअनुसार उनीहरूमा १२१ भारतीय, ७२ चिनियाँ, १५ कोरियन, ४ जर्मन, २ अमेरिकी, २ इटालियन र १ ओमानी नागरिक छन् । सेनाले उद्धारसँगै राहत सामग्री ढुवानीको काम पनि गरिरहेको छ। राहत सामग्री काठमाडौँबाट त्रिशूलीसम्म हवाई तथा स्थल मार्गबाट पुर्‍याइएको र त्रिशूलीबाट आवश्यकताअनुसार हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा ढुवानी गरिएको सेनाले जनाएको छ ।

टनेलको प्रवेशद्वार पत्ता लगाउने प्रयास
बाढीका कारण प्रभावित हाइड्रोपावरका टनेलहरूमा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि विभिन्न उपकरण प्रयोग गरी प्रवेशद्वार पत्ता लगाउने प्रयास भइरहेको छ । सेनाले स्थापना गरेको आपत्कालीन उपचार केन्द्र त्रिशूली र धुन्चेबाट हालसम्म २ हजार १४ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

८३०० भन्दा बढी सैनिक परिचालित
प्रभावित जिल्लाहरूमा नेपाली सेनाका ८ हजार ३०० भन्दा बढी जनशक्ति परिचालन गरिएको छ । उनीहरू घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग र आपत्कालीन उपचारलगायत कार्यमा खटिएका छन् । सेनाले अन्य निकायसँगको समन्वयमा उद्धार तथा राहतका काम भइरहेको जनाएको छ ।

भदौ १४ गते पनि खोज तथा उद्धार जारी रहने
सेनाले भदौ १४ गते पनि नदी किनारमा शव खोजतलास तथा व्यवस्थापनमा सहयोग गर्ने, आपत्कालीन उपचारलाई निरन्तरता दिने र मैलुङ, टिमुरे तथा स्याफ्रुबेँसी क्षेत्रमा खोज तथा उद्धार जारी राख्ने योजना बनाएको छ । त्यसैगरी आसपासका टनेलहरूमा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धार र अवरुद्ध सडक सञ्चालनमा ल्याउने कार्यमा समेत जनशक्ति परिचालन गरिने सेनाले जनाएको छ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १९:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार