बाग्मतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

सोमबार, कात्तिक २२, २०७८

हेटौँडा, २२ कात्तिक : बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । 

एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बनेका हुन् । 

एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले सोमबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । 

मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा बहुमत मत परेकोसभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । 

बाग्मती प्रदेशसभामा हाल १०९ सदस्य रहेकोमा विश्वासको मतका लागि बहुमत ५५ जना सदस्यको समर्थन चाहिन्छ । सभामुख श्रेष्ठकाअनुसार बैठकमा उपस्थित १०४ मध्ये प्रस्तावको पक्षमा ५९, विपक्षमा ४३ र तटस्थ दुई मत परेको हो ।

प्रस्तावको पक्षमा परेको ५९ मत बहुमत रहेकाले मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभामुख श्रेष्ठले घोषणा गरेका हुन् । 

प्रदेशसभामा एमालेका ४३, माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका तीन, नेमकिपा र राप्रपाका दुई/दुई, जनता समाजवादी पार्टी नेपालका एक जना सांसद छन् । 

गठबन्धनमा माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी आवद्ध छन् । मुख्यमन्त्री पाण्डे एकीकृत समाजवादीका नेता हुन् । 

निर्वाचित तानाशाहका कारण अहिलेको गठबन्धन जन्मियो : मुख्यमन्त्री पाण्डे

बाग्मती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेले निर्वाचित तानाशाहका कारण अहिलेको गठबन्धन जन्मिएको बताएका छन् । 

प्रदेशसभाको सोमबार बसेको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले दुई तिहाइ नजिक बहुमत रहेका बेला संसद विघटन गर्ने निर्वाचित तानाशाहका कारण अहिलेको गठबन्धन जन्मिएको बताएका हुन् । 

एमाले अध्यक्ष केपी ओलीलाई इंगित गर्दै उनले निर्वाचित तानाशाह बनेका हुन् । तत्कालीन प्रधानमन्त्री ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेका थिए भने दुवै पटक सर्वाेच्च अदालतले संसदलाई पुनर्स्थापना गरेको थियो । 

सोही विषयलाई इंगित गर्दै मुख्यमन्त्री पाण्डेले ओलीलाई निर्वाचित तानाशाह भनेका हुन् । 

मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको प्रस्तावमाथि अहिले प्रदेशसभामा मत विभाजन भइरहेको छ । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल आवद्ध छन् ।

श्वेतपत्र जारी गर्ने बाग्मती मुख्यमन्त्री पाण्डेको घोषणा 

मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारका तर्फबाट श्वेतपत्र जारी गर्ने बताएका छन् । 

प्रदेशसभाको सोमबारको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले पूर्ववर्ती सरकारले गरेका काम, गर्न बाँकी रहेका कार्य र गर्न नहुने गरेका कार्यलाई समेटेर श्वेतपत्र जारी गर्ने जानकारी दिएका हुन् । 

आफ्नो सरकारले क्यालेन्डर बनाएर काम गर्ने भन्दै उनले राम्रो काम गर्नेलाई प्रोत्साहन र राम्रो काम नगर्नेलाई दण्डित गर्ने बताए । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्तावमाथि मत विभाजन हुँदै छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  २०:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार