माओवादीले पहिचानको मुद्दा छाडेको छैन : अध्यक्ष दाहाल

बिहीबार, कात्तिक १८, २०७८

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले पहिचानको मुद्दा नछाडेको स्पष्ट पारेका छन् । नेपाल संवत् ११४२ का अवसरमा आज नेवाः मुक्ति मोर्चाले ललितपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधानसभामा पहिचानको सम्बन्धमा १२ बुँदे भिन्न मत राखिएको बताए । “पहिचानको मुद्दा हामीले छाडेको होइन, संविधानमा पहिचानको मुद्दा सम्बोधन नभएकामा हाम्रो विरोध स्थापित गरेका छौँ”, उनले भने ।  मुलुक र जनतालाई अधिकारसम्पन्न बनाएको देशीविदेशी प्रतिक्रियावादीलाई पटक्कै मन नपरेको उल्लेख गर्दै उनले उनीहरु अहिले माओवादीलाई कमजोर बनाउन लागि परेको बताए । “माओवादी कमजोर हुँदा प्रतिक्रियावादीले कसरी टाउको उठाउँदा रहेछन् भन्ने देखियो, परिवर्तन उल्ट्याउन र प्रतिक्रान्ति गर्न खोज्दा रहेछन् । त्यो देखेर हामी झस्क्यौँ र सडकमा पनि गयौँ, जनताको बलमा प्रतिगामी कदमलाई परास्त ग¥यौँ”, उनले भने । 
देशलाई समाजवादी मुलुकतर्फ लैजाने क्रान्तिकारी पार्टी निर्माणको अभियानमा आफू जुटेको उल्लेख गर्दै उहाँले आगामी राष्ट्रिय सम्मेलनमार्फत पार्टीलाई क्रान्तिकारी ढङ्गले अगाडि बढाउने बताए।
 “हामीले फेरि एकपटक उत्पीडित वर्ग समुदायका मुद्दा र समाजवादी क्रान्तिको रणनीतिलाई लागू गर्न नयाँ ढङ्गको क्रान्तिकारी पार्टी बनाइछाड्ने सङ्कल्प गरेका छौँ”, उनले भने, “त्यसका निम्ति जरुरी पर्छ भने जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने सङ्कल्पमा पार्टी छ ।”  पार्टीले जिम्मेवारी लिएको मन्त्रालयकातर्फबाट जनतालाई राहत दिइएको जानकारी दिँदै उनले जनताका समस्या समाधानका लागि पार्टी प्रतिबद्ध रहेको प्रष्ट पारे । 

स्रोत साधनको उचित व्यवस्थापनमा सरकार क्रियाशिल
अर्थमन्त्री जनार्दन शर्माले आफूसँग भएका स्रोत साधनहरूको उचित व्यवस्थापन तथा परिचालन गर्न नसक्दा मुलुकले गरिबी व्यहोर्नु परिरहेको बताएका छन् ।  नेकपा (माओवादी केन्द्र) कागेश्वरी मनोहरा नगर समितिद्वारा आयोजित नेपाल सम्वत्, तिहारलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले वर्तमान सरकार स्रोत तथा साधनको परिचालनमा लागि परेको बताए । मन्त्री शर्माले गरिबीको अवस्थाबाट मुक्त हुन सरकारमा बस्नेले जनताको शासक नभई सेवकका रूपमा रहेर काम गर्नुपर्ने बताए।
“पेट्रोलदेखि अरू सबै कुरा नेपालमै छ, तर त्यसको उचित प्रयोग, सञ्चालन, व्यवस्थापन गर्ने कमी कमजोरी र सत्तामा रहेकाले त्यसतर्फ ध्यान नदिँदा आज समाजले गरिबीको अवस्था व्यहोरिरहेको अवस्था छ”, उनले भने, “यो गरिबीको अवस्थाबाट मुक्त हुनका लागि अब सरकारमा बस्ने जनताको शासकका रूपमा होइन, सेवकको रूपमा रहनुपर्छ ।”  यसैगरी मन्त्री शर्माले मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले नीति बनाएर मात्र नहुने बताए । उनका अनुसार मुलुकलाई आत्मनिर्भर बनाउन सरकारको नीति कार्यान्वयनसँगै राष्ट्र निर्माणका लागि हरेक नागरिकले संकल्प गर्नुपर्छ । “उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले नीति बनाएर मात्र हुँदैन, सरकारको नीति कार्यान्वयनका लागि हरेक नागरिकले राष्ट्र निर्माणको संकल्प गर्न आवश्यक छ”, उनले भने, “म मेरो देश बनाउँछु, म मेरो देशलाई सम्पन्न गर्छु, गरिबीको अन्त्य गर्न मेरो ठाउँबाट भूमिका खेल्छु भनेर सबैले संकल्प ग¥यौँ र त्योअनुसार देश अगाडि बढ्यो भने हाम्रो गरिबी अन्त्य गर्न धेरै समय लाग्दैन, पाँच वर्ष काफी छ ।” उनले बाँझो रहेका बारीमा वातावरणअनुसार बाली तथा तरकारी लगाउने, फलफूल लगाए त्यस्ता वस्तु आयात गर्नु नपर्नेसमेत दाबी गरे । व्यक्तिको सम्पत्ति नै राष्ट्रको सम्पत्ति भएकाले सामूहिक र एकल श्रमलाई पनि जोड दिएर राष्ट्रिय अभियान चलाउन मन्त्री शर्माले आग्रह गरे । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  १८:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार