न्यायाधीशको बहिष्कारबीच प्रधानन्यायाधीशले गठन गरे ९ इजलास, बारको आन्दोलन जारी 

बुधबार, कात्तिक १७, २०७८

काठमाडौं :  न्यायाधीशहरूको अघोषित बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधवार वन्दीप्रत्यक्षीकरणका मुद्दा सनुवाइ गर्न नौवटा इजलास गठन गरेका छन् । जबराको राजीनामा माग्दै आन्दोलनरत सर्वोच्च अदालतका १९ जना न्यायाधीशले मुद्दा सुनुवाइमा सहभागी नहुने बताए पनि जबराले इजलास तोकेका हुन् । 

सातवटा संयुक्त र तीनवटा एकल इजलासमा बन्दीका मात्र रिट निवेदन तोकिएका छन् । जबराले इजलास गठन गरेपछि न्यायायाधीशहरूले भने वुधबार पनि इजलास नजाने बताएका छन् । सोमवार बन्दीका मुद्दामा सुनुवाइ गरेका न्यायाधीश मंगलबारवाट पुन इजलासमा नजाने निर्णयमा छन् । 

प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्ने कार्यलाई लम्ब्याउन खोजेकोलगायतका कारण देखाउँदै न्यायाधीशहरू काममा नगएका हुन् ।  न्यायाधीशहरूले इजलास छोडेसँगै नेपाल बार एसोसिएसनले बुधबार चौथो दिन पनि प्रधानन्यायाधीश जबराविरुद्धको प्रर्दशनलाई कायम राखेको छ । कानुनव्यवसायीहरू कालो पट्टी बाँधेर धर्नामा बसेका छन् । 

बारले तिहारपछि प्रधानन्यायाधीशविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले तिहारपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने भएको छ । 

लगातार दोस्रो दिन सर्वोच्च अदालत परिसरमा धर्ना र विरोध कार्यक्रम गरेको बारले पहिलो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न गरेको र अब २३ कात्तिकबाट निरन्तर हुने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए । ‘आजको कार्यक्रम सकियो । नयाँ कार्यक्रम घोषणा तिहारपछि, आन्तरिक छलफल भने जारी रहनेछ,’ पौडेलले भने ।

यसअघि बारले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै बार उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीशको राजीनामा माग गरिन् ।

‘न्यायलयको सुधारका लागि बार लागेको छ। बारको प्रांगण त्यागेर सर्वोच्च पुगिसकेका छौं । न्याय शुद्वीकरणको अभियानमा अवरोध भएकाले प्रधानन्यायाधीशको राजीनामम मागेको हो । विकृति, विसंगति र भ्रष्टाचार हटाउन द्वार खोल्न पनि प्रधानन्यायाधीशको राजीनामा आउनुपर्छ,’ उनले भनिन्, ‘जुन धाराबाट आएको त्यही धाराबाट जान खोज्नुभयो भने त्यो धाराको पानीले बगाउनेछ । सम्मानजनक बहिर्गमनका निम्ति अनुरोध गर्दछौं ।’

बार उपाध्यक्ष मानबहादुर रूम्जाली राईले प्रधानन्यायाधीश जबराको राजीनामा नै बटमलाइन भएको बताए । ‘समग्र न्यायपालिको स्वतन्त्रता जवाफदेहिता स्वच्छता खोजेको हो । सेतोपट्टीवाला साथीहरू बारको विज्ञप्ति पढिदिनुस् । उहाँहरूले प्रधानन्यायाधीशको राजीनामाका लागि मात्र बारको आन्दोलन हो भन्ने भन्नु भएछ । शान्तिपूर्ण रूपमै आन्दोलन टुंग्याउन चाहन्छौ । यसका लागि राजीनामा बटमलाइन हो,’ उनले भने ।

वरिष्ठ अधिवक्ता गान्धी पण्डितले समग्र न्याय सुधारका लागि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताए । ‘अहिले विस्फोट भयो । संषर्घ पहिलेदेखि हो । चोलेन्द्र नहटाउने हो भने नयाँ आउने प्रधानन्यायाधीशलाई पनि समस्या हुन्छ । राजनीतिक नेतृत्वको राजनीतिले आज यो अवस्था आयो । प्लिज यसलाई अगाडि बढाउनुभयो भने हामी छोड्दैनौं । बहिर्गमन मात्र होइन, यो राजद्रोह पनि हो । आजको आन्दोलन चोलेन्द्र हटाउने मात्र होइन, समग्र न्याय सुधारको हो,’ उनले भने ।

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १२:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार