सोसल मिडिया
Contact Us
युनिकोड
सुर्खेत । नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले मंगलबार राति साढे ८ बजे मुख्यमन्त्रीको शपथ लिँदै छन् । आजै दिउँसो नै शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । तर, नाम भने टुंगो लाग्न बाँकी छ । मन्त्रालय भागबण्डामा दलहरूबीच मतभेद रहेकाले उनले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्न लागेका हुन् । कांग्रेसले मुख्यमन्त्रीसहित दुई, माओवादी केन्द्रले चार, नेकपा (एकीकृत समाजवादी)ले तीन मन्त्रालयको दाबी गरिरहेका छन् । तर, सांसद संख्याको आधारमा कांग्रेसले मुख्यमन्त्रीसहित एक, माओवादीले चार र एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने गरी छलफल भइरहेको एक सांसदले बताए ।
जीवनबहादुर शाहीलाई २१ सदस्यको समर्थन
कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेश गरेका छन् । गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा उनले मंगलवार दिउँसो प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई दाबी पेश गरेका हुन् ।
शाहीलाई प्रदेशसभाका २१ सदस्यको समर्थन छ । मुख्यमन्त्रीमा दाबी पेशका लागि प्रदेश प्रमुख कलौनीले मंगलवार साँझ साढे सात बजेसम्मको समय तोकेका थिए ।
प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार आजै राती मुख्यमन्त्री नियुक्त भई शपथ गराइनेछ । मुख्यमन्त्रीमा दाबी पेश गरेका कांग्रेस संसदीय दलका नेता शाहीलाई राति साढे आठ बजे शपथ ग्रहण गराउने गरी तयारी भइरहेको छ । आज मुख्यमन्त्रीलाई मात्रै शपथ ग्रहण गराइनेछ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पूर्वसहमतिअनुसार सोमवार पदबाट राजीनामा दिएका थिए ।